प्लाष्टिकबाट फाइबर बनाउने युवाको तयारी


मेचीकाली

बनेपा– देशका विभिन्न स्थानीय सरकार तथा संघीय सरकारलाई फोहोर व्यवस्थापनको टाउको दुखेको समयमा काभ्रे तथा देशका अन्य स्थानका दश युवाले टाउको दुखाइको विषय बनेको प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन गरी प्लाष्टिकजन्य फोहोरबाट फाइबर बनाउने योजना अघि सारेका छन् । प्लाष्टिकजन्य फोहोरलाई फाइबर बनाई देशमा रोजगारीको श्रृजना गर्ने, फोहोरमैला व्यवस्थापन गरी प्रदुषण रहित वातावरण निर्माण गर्ने, फोहोरलाई मोहोरमा रुपान्तरण गरी पुनः प्रशोधन गरी दैनिक उपाभोग्य सामान बनाउने लक्ष्यका साथ योजना अघि बढाइएको डाँफे फाइबर उत्पादन प्रालिका सञ्चालक पुरुषोत्तम कोईरालाले जानकारी दिनुभयो । प्रालिले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफुहरु देशका ठुला शहरमा रहेका प्लाष्टिकजन्य फोहोरलाई प्रशोधन गरी फाइबर बनाउने योजना लिएर बैक तथा विभिन्न सरकारी निकायमा गएपनि कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् । 

प्रालिका अर्का सञ्चालक गोकुल कोईरालाले आफुहरुले बैदेशिक रोजगारीको सिलसिलमा विभिन्न देशमा देशमा भोगेका र देखेको सीपलाई नेपालमा नै प्रयोग गरी प्लाष्टिकजन्य फोहोरलाई फाइबर बनाउने विषयमा अध्ययन अघि बढाईको बताउनुभयो । उहाँले आफुहरुको टिम विगत एक वर्षदेखि देशका विभिन्न शहरमा गई त्यहाँ उत्पादन हुने प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गरी त्यसबाट फाइबर उत्पादन गर्न अघि बढेको बताउनुभयो । उहाँले आफुहरुले प्लाष्टिकबाट फाइबर बनाई बाहिरबाट आयात गर्ने फाइबरमा न्यूकिरण गर्ने प्रयास गरेपनि बैँकहरुले उद्योग सञ्चालन गर्नका लागि ऋण माग्दा ऋण समेत नदिएको गुनासो गर्नुभयो । उक्त प्रालिले काठमाडौँ उपत्यका, काभ्रे तथा अन्य ठुला शहरबाट प्लाष्टिकजन्य फोहोर खरिद गरिने जनाएको छ । 

डाँफे फाइबर उत्पादन कम्पनीका अर्का सञ्चालक रमेश शिवभक्तिले फाइबर उद्योग सञ्चालनका लागि पाँचखाल नगरपालिका–२ मा छ रोपनी जग्गामा मेसिन तथा उद्योग खोल्ने तयारी गरेको बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि मेसिन खरिदक लागि रकम समेत खर्च गरिसकिएको बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि करिब दुई करोड रुपियाँ खर्च लाग्ने बताउँदै उद्योगले मासिक ३० हजार केजी फाइबर उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले कच्चा पदार्थ खरिद, कर्मचारी व्यवस्थापन र बजार व्यवस्थापनका लागि मासिक करिब २८ लाख ४८ हजार ५ सय खर्च हुने बताउँदै मासिक ३० हजार किलोग्राम फाइबर प्रति किलो २०० का दरले बिक्री गर्दा मासिक ६० लाख रुपियाँ आम्दानी गर्न सकिने बताउनुभयो । 



प्रतिक्रिया



थप समाचारहरु