माओवादीद्वारा मारिएका अर्जुन लामाकी श्रीमति पूर्णिमायालाई मानवअधिकार पुरस्कार


मेचीकाली

काठमाडौं- यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि संघर्षरत काभ्रे नमोवुद्ध नगरपालिका ९, दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरिने भएको छ । पूर्णिमाया लामा आफ्ना पति अर्जुन लामाको हत्यारालाई कार्बाही गराउन निरन्तर न्यायिक लडाईमा लागेकी छन् । 

अर्जुन लामाको हत्यासम्वन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । यो मुद्दामा माओवादी प्रवक्तासमेत रहेका पूर्वसभामुख अग्नि सापकोटासहितका नेताहरु मुछिएका छन् । अदालतले बहस सकेर मुद्दाको फैसलाको चरणमा पु¥याएको छ । इन्सेकका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसमा पूर्णिमायालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।  इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा मृत्यु भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु¥याएको योगदानको स्मरण गर्दै इन्सेकले हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ । 

नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ’प्रकाश स्मृति दिवस’को अवसर पारेर पुरस्कृत गरिंदै आएको छ । यो पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्वर्गीय विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्वर्गीय दयावीरसिंह कंसाकार, डाक्टर गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी बसन्तीदेवी झा, रुकैया खातुनलगायत २९ जना सम्मानित भइसकेका छन् ।  ललितपुरमा बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई उक्त पुरस्कार प्रदान गर्ने इन्सेकले जनाएको छ । पुरस्कारको राशी ५० हजार नगद छ ।


प्रतिक्रिया



थप समाचारहरु