मदन जयन्ती विशेष : मदनले कोरेको गोरेटोलाई ‘हाइवे’ बनाउनुपर्‍यो


मेचीकाली

-होमप्रसाद चौंलागाँईं


दक्षिणपन्थी र उग्रबामपन्थी, दुवै चिन्तनको खण्डन नगरी माक्र्सवाद–लेनिनवाद कार्यनीतिको महत्वलाई बुझ्न, प्रयोग गर्न र रक्षा गर्न सकिंदैन भन्ने प्रेरणाका धनी उनका थुप्रै प्रेरणादयी अभिव्यक्तिहरु ऐलेपनि कालजायी छन् । सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनु पर्दछ । पूर्वाग्रह र प्रतिशोध प्रजातानित्रक गुण होइन । 

सिद्धान्तलाई व्यवहारमा लागू गरिंदैन, वचन अनुसार काम गरिंदैन र तिनीहरुलाई कार्यरुपमा प्रदान गरिंदैन भने तिनीहरुको दुई पैसो मेल हुँदैन । आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन, कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निमित्त आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसरपनि प्रदान गर्दछ । अनुशासन बिनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ र स्वतन्त्रता विनाको अनुशासन रिंकुश हुन्छ । क्रान्ती यथास्थितिको मात्रात्मक बिकल्प होइन, गुणत्मक बिकल्प समेत हो । राज्यसम्वन्धि माक्र्सवादको शिक्षा राज्य वर्गीय शासनको उपकरण हो, एउटा वर्गले अर्को वर्गलाई अधिनमा राख्ने शासन हो । बहुदलीय प्रणाली समाजको राजनितिक जीवनको एउटा लोकप्रीय पद्दती तथा सरकार संगठित गर्ने एउटा बहुप्रचलित तरिका हो, यो पूँजीवादपन्थीहरुको मात्र निजी सम्पत्ति होइन, गुणको मूल्य तिरेर संख्या विस्तार गर्ने शैलीको हतोत्साहित र अन्त्य गरिनु पर्दछ । बहुदलीय प्रणाली अन्तर्गत श्रमजिवी जनताको सेवा हुनै सक्दैन भन्ने कुनै मान्यता छैन, बरु एकदलीय एकाधिकारवादले सर्वहारा वर्गको दीर्घकालिन हीत गर्न नसकेको अनुभव प्राप्त भइरहेको छ । क्रान्तीले पूरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ । वर्तमान युगको विकसित माक्र्सवाद औद्योगिक सर्वहारहरुको मात्र होइन, किसानहरुको सामाजिक मुक्ति र राष्ट्रिय स्वाधिनताको मार्गदर्शक सिद्धान्तपनि हो । समाजको चासो र व्यवसायको विषय नबनाई समाजवाद आउन र कायम रहन सक्दै भन्ने विभिन्न प्रेरक भनाईहरु आजपनि कालजयी छन् । यी कुराहरुको शीराबाट आज नेपालको राजनितिमा जननेताको अभाव देखिन थालेको छ । 

नेपाली राजनितिमा यी र यावत प्रेरणाको स्रोतको रुपमा रहेका जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल आषाढ १४ गते इस्वी संवत् जून २७, १९५२ मा पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको कोखबाट माहिँला सन्तानको रूपमा उनको जन्म भएको थियो । मदन भण्डारीले प्रारम्भिक शिक्षा गाउँबाटै शुरु गरेका थिए । हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि उनी तृष्ण बुद्धिका थिए  । त्यसैले त अप्ठेरा पाठहरू पनि दुईपटक पढेपछि सधैँका लागि कण्ठ गर्न सक्ने क्षमता राख्थे । 

बाल्य अवस्थामै अक्षर चिन्न भर्खर शुरु गर्दा नै चण्डी कण्ठाग्र गर्दा त्यतिबेलै उनी सर्वत्र चर्चित थिए । भण्डारीले वि.सं. २०२३ मा गाउँको पढाइ पूरा गरेका हुन् । वि.सं. २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाईसरेको थियो । पछि उनी भारतको मथुरामा अध्ययन गर्न गएका हुन् । दुई वर्ष मथुरामा अध्ययन पूरा गरेपछि वि.सं. २०२८ मा बनारस पुगेका भण्डारीले वि.सं. २०३३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए । वि.सं. २०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका थिए । वि.सं. २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्दा भण्डारी केन्द्रीय सदस्य बनेका थिए । वि.सं. २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए । बनारसमा हुँदा संगठित रूपमा क्रियाशील राजनीतिज्ञसँग नजिक हुने मौका पाएका थिए । वि.सं. २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरिएको थियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी वि.सं. २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको अर्डीनेशन केन्द्रमा आवद्ध भई मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइएको थियो ।

वि.सं. २०३५ सालमा नेकपा (माले) स्थापना भयो र मदन भण्डारी केन्द्रिय सदस्य बने । उनी वि.सं.२०३९ सालमा विद्या पाण्डे भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । विद्यादेवी पाण्डे भण्डारी दुई कार्यकाल देशको राष्ट्रपति बनिसकेकिछ छिन् । उनीहरूको कोखबाट दुई छोरी (उषाकिरण र निशाकुसुम) जन्मिएका थिए । वि.सं. २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र वि.सं. २०४६ सालमा नेकपा (एमाले) को चौँथो महाधिवेशनमा महासचिव बनेका थिए । वि.सं. २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले (मार्क्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बनेका थिए । वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी भण्डारी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालमा कम्यूनिष्ट राजनितिको फराकिलो राजमार्ग कोर्ने अभियानमा जीवनका लागि सिद्धान्त होइन सिद्धान्तका लागि जीवन हुनपर्छ, पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन, सिद्धान्तलाई व्यवहारमा लागू गरिदैन । वचन अनुसार काम गरिदैन र नाराहरुलाई कार्यरुप प्रदान गरिदैन भने तिनीहरुको दुई पैसाको पनि मोल हुँदैन, आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्छ, अनुशासन विनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रता विनाको अनुशासन निंरकुशता हुन्छ, क्रान्ति यतास्थितिको मात्रात्मक विकल्प मात्र होइन त्यो गुणात्मक विकल्प हो र राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन भन्ने उनका भनाइ नेपाली समाजमा निकै चर्चित छन् ।

यसको अलावा काग कराउँदै गर्छ हात्ती हिड्दै गर्छ, पिना सुक्दै गर्छ, राजा मान सम्मानलाई उपभोग गर्दै किनारमा बसिबक्सियोस महाराज हात नलम्काइ बक्सियोस, प्रजा नचम्काइ बक्सियोस आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस, यदी सन्डमुसन्डलाई चलाउने हो भने यदी सन्डमुसन्डाई नै अगाडि ल्याउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता बनेर आउनु पर्यो र साहित्यमा प्रयोग हुने सिंहावलोकन । सिंहावलोकन भनेको सिंहले चार पाइला हिड्छ रे यस्सो पछाडी फर्किए र हेर्छ रे कहिँ बेठिक त भइरहेको छैन जस्ता भाषण निकै चर्चित थिए ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन अतुलनिय योगदान पुर्याएका छन् । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज) को नेपालमा आधारस्तम्भ निर्माण गरेका जसलाई नेपालमा माक्सवार्दको नेपाली संस्करण समेत भन्ने गरिन्छ । त्यति मात्र नभएर विश्व प्रसिद्ध पत्रिका न्यूज व्हीकले छापेको मदन भण्डारीको अन्तवार्तामा ‘इन नेपाल माक्स लिभ्स’ अर्थात नेपालमा कालमाक्स जीवित छन् भनेर उल्लेख गरेको थियो । वि.सं २०४९ सालमा तत्कालीन नेकपा एमालले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको रुपमा प्रस्तावित गरिएको थियो । मदन भण्डारीलाई विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलनमा लाग्नेहरुले आफ्नो आर्दश पुरुषका रुपमा लिँदै आएका छन् ।

मुलुकलाई ‘समृद्ध, नेपाल सुखी’ नेपालीको आकांक्षा पूरा गर्न अगाडि बढेको समयमा मदन भण्डारीको जनताको बहुदलीय जनवादले सहयोग पुग्ने उनको भनाइ छ । मदन भण्डारीको माक्सवार्द–लेलिनवादलाई आँखा चिम्लेर होइन आफ्नै देशमा सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्छ भन्ने विचारले नेकपा आज यस अवस्थामा आएको हो । तत्कालीन समयको जनताको बहुदलीय जनवाद समयानुकुल परिमार्जन गर्नुपर्ने अवस्था आएपनि जनताको बहुदलीय जनवादलाई छोडेर नेपालमा कम्यूनिष्ट आन्दोन अघि वढ्न सक्ने कुरामा कुनै विश्वास लिन सकिंदैन । 

पछिल्लो समय जबजको सिद्धान्त एकतिर त पार्टी र सत्ता सञ्चालन अर्कोतिरबाट हुँदा शीर्ष नेतृत्वबाट विरोधी आवाजलाई निस्तेज पार्ने नीतिले मदन भण्डारीलाई गिज्याइ रहेको देख्ने गरिन्छ ।  जबजको सिद्धान्त एकातिर कार्यशैली अर्कोतिर हुँदा पार्टीभित्र अन्तरविरोध चलिरहने मात्र नभएर एक्लौटी सत्ता र पार्टी चलाउने योजनाको आधारमा व्यक्तिगत स्वार्थमा लाग्दा पार्टीले जननेता भण्डारीलाई उचित सम्मान गर्न सकेको ठहर्दैन ।

माओवादीसंगको एकता, नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सन्दर्भ, जोगाउन नसकिएको कम्यूनिष्ट एकता, कांग्रेससंग गुहार मागेर ढालिएको के.पी.ओली सरकार लगायतका यावत सन्दर्भहरु मदनको बाटोका दूर्घटनाहरु हुन् । कम्यूनिष्ट एकता र पछि भएको फुले जनतामा निराशा छाएको छ । यसको व्यवस्थापन गर्नुको सट्टा तल जनता हुन की नहून् नेतानेताको चोचोमोचो मिलाएर नाममात्रको समाजवादी मोर्चाले नेपालको राजनितिमा कुनै प्रभाव पर्ने देखिंदैन । त्यो सजिलै घुलिने खालको खुलनशिल पदार्थजस्तो पनि देखिंदैंन । त्यो त केवल कांग्रेस घुर्काएर प्रचण्ड सरकार थमाउने खेलोमेलो जस्तो मात्र । 

कमरेड मदनले प्रतिपादन गरेको नीति, सिद्धान्त र विचार एकातिर छ र अहिलेको नेतृत्वकर्ताको कार्यशैली अर्कोतिर । सरसर्ती हेर्दा कुनै पनि हिसाबले जबजबको सिद्धान्त र नेतृत्वको कार्यशैली मेल खाँदैन । एकलौटी सत्ता, सल्लाहकारहरुको समय सुहाउँदो भन्दा ब्यक्ति केन्द्रित सल्लाह र पार्टी कब्जा गर्ने नीति जनताको बहुदलीय जनवाद र माक्सवाद विरोधी विचार हो । तलदेखि माथीसम्म अहिलेको नेतृत्वले अपनाउन खोजेको नीतिले पार्टीभित्र समस्या देखा परेको हो । पार्टी सत्तामा पुग्दा पार्टी र सत्ता सञ्चालनमा जबजब विरोधी मान्यताहरु देखा पर्ने गरेको जनगुनासो छ । जुन जबज विरोधी मात्र होइन लोकतन्त्र र नेपाली कम्युनिष्ट आन्दोलन विरोधी समेत मान्यता हो । जबसम्म त्यो मान्यता नेतृत्वकर्ताले छोड्न सक्दैन तबसम्म मदन भण्डारी र जीवराम आश्रितको सपना पूरा हुँदैन । साँच्चै उहाँहरुलाई नेकपा एमाले र बाम घटकहरुले सम्मान गर्ने हो भने नेपालको वर्तमान नेतृत्वहरु सच्चिनुपर्छ । अझै समय छ ।’

कम्यूनिष्ट पार्टीको स्थापना, पुनरस्थापना, एकता, संरक्षण र जनविश्वका जित्ने शिलसिलामा बहुदलीय जनवादको व्याख्या गर्ने एवं नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा रहस्यमय निधन भएको थियो । दुर्घटना पछि जीवराज आश्रितको गाडीमै मृत अवस्थामा शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल पश्चिम चितवनको गाजिपुर भन्ने ठाउँमा शव फेला परेको थियो ।

त्यति बेला नेकपा एमाले कास्की जिल्ला कमिटीले रोखेको जिल्ला अधिवेशन सकेर चितवनको चैनपुरमा जेठ २ देखि शुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्न आउने क्रममा दासढुङ्गामा कार दुर्घटनामा परेको थियो । सो घटनाको छानबिन गर्न धेरै आयोग बनाइए पनि वास्तविकता अहिलेसम्म पनि बाहिर आउन सकेको छैन । नेपाली समाजको वास्तविकतालाई जनबोलीमा मिसाएर बोल्न सक्ने मदन भण्डारी नेपालीका सामू मिठो बोलि बोलेर घण्टैसम्म भीडलाई आफूतिर तान्न सक्ने नेताको रुपमा परिचित थिए । बोल्ने कलामा हिजो आज राजनेताको रुपमा के.पी. ओली थोरबहूत देखिन थालेपनि उनको जस्तो कला र खुवी नेपाली कुनैपनि नेताको नभएको भन्ने गरिन्छ ।

चाण्क्यले भनेझैं जीवनमा ३ मन्त्र सधैं याद राख, आन्दोलनको बेला वचन नदेउ, क्रोधको बेला जवाफ नदेऊ । दुःखको बेला निर्णय नलेऊ । जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? के कुराले जीवनलाई श्रेष्ठ बनाउँछ र के कुराले जीवन नष्ट गराउँछ ? जीवन र जगतको सन्दर्भमा थुप्रै ज्ञान बटुलेका र व्यवहामा उतार्नु पर्छ भन्ने मदन भण्डारीको आज अभाव खड्किरहेको छ ।

 खास गरी कम्यूनिष्ट आन्दोलन र नेपाली राजनीतिका शिखर पुरुष मदन भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति हो । देशको राजनीतिमा त धेरै मान्छे आउँछन र जान्छन् । इतिहासले ती मध्येका केही केही मानिसलाई मात्र स्मरणयोग्य बनाउँछ । राजनितिमा लागेका सबै मान्छेहरु राजनेता बन्न सकदैनन् । थोरैले मात्र त्यस्तो अवर प्राप्त गर्दछन् । इतिहासले स्मरणयोग्य बनाउने नेतामध्येकै एक नेता हुन मदन भण्डारी । भण्डारीको सिर्जनात्मक माक्सर्वाद सम्बन्धी धारणाले विश्व जगत नै प्रभावित छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (जबज) अहिलेको नेपालको विशेष परिस्थितिमा व्यवहारिक बनाउन सक्नुपर्छ । अनि मात्र उनीप्रतिको सच्चा सम्मान हुनेछ । स्वर्गिय मदन भण्डारीप्रति मेरो केहि अक्षरको सम्झना सहित भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । 

(लेखक त्रि.वि. स्थित एमफिल–पीएचडी, राजनिति शास्त्रका स्कलर हुन्)





प्रतिक्रिया



थप समाचारहरु