सम्झनामा पुष्पलाल : अलमल, आलटाल र बिचलनको काम छैन


मेचीकाली

-होमप्रसाद चौंलागाँईं


साउन महिना अर्थात नेपाली धर्तीमा गणतान्त्रिक विचार र मान्यताका संवाहक कमरेड पुष्पलालको जन्म महिना । सामन्ती अधिनायकवादी राजतन्त्रात्मक निरंकुशताको कालो जञ्जिरलाई तोड्दै गैरमानवीय क्रुरत्तम कालखण्डबाट नेपाली धार्मिक स्वतन्त्रता, न्याय, समता, लोकतन्त्र, राष्ट्रिय स्वाधिनता एवम् समाजवादको सपना विजारोपन गर्ने कमरेड पुष्पलाल निडर र स्वाभीमानी नेता हुुुनुहुन्थ्यो । श्रमजीवि वर्गको हित रक्षार्थ जातिभन्दा माथि उठेर लोभलालचालाई वेवास्ता गरी नेपाली जनताको मुक्तिका लागि सामन्तवादको अन्त्य र साम्राज्यवादको विरोध एवं भण्डाफोर गर्दै जीवनभर परिवर्तनको पक्षमा संघर्षशिल रहने महान नेताको नाम हो कमरेड पुष्पलाल । उहाँले हामी नेपालीलाई समाजको प्रगतिशिल रुपान्तरण र जनतालाई जागरण गर्ने कार्यमा अतुलनीय योगदान पु¥याउनु भएको छ । आज क. पुष्पलाल र उनको विचारमा केन्द्रित भएर चर्चा गर्ने सामान्य कोशिस गरेको छु । 

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए, पुष्पलाल । गंगालालले उनलाई भनेका थिए, ‘माइला ! मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।’

त्यतिबेला उनी १६ वर्षको कलिलो उमेरका थिए । दाजुको त्यही भनाइ राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो । वि.सं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे ।

सम्पूर्ण सदस्यले आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर मात्र पार्टीको सदस्य हुने नियम बनाइयो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले नै गरेका थिए । जनताले गरेको नेपालको पहिलो जनआन्दोलनका रूपमा २००४ सालमा गरिएको आन्दोलनलाई विश्लेषण गरिन्छ । नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो ।

२००६ साउन ७ अर्थात् सन् १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले दुई वर्ष अर्थात २००८ सालसम्म महासचिवको जिम्मेवारी सम्हाले । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिज क्लिक हुन पुग्छ । पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलोचोटि नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र हो ।

पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा जनवादको नारा उनैले लगाए । उनलाई मौलिकवादी चिन्तक पनि भन्ने गरिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेयपनि उनैमा जान्छ । २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्ता श्याम बजारमा भएको हो । त्यहीबेला संस्थापक महासचिव क. पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिए ।

२००६ सालपछि नेपाली समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण पनि पुष्पलालले अगाडि सारे । राजनितिक  र सामाजिक इतिहा हेर्दा सत्यसभन्दा पहिला धार्मिक कुराले समाजलाई गाँजेको थियो । त्यतिबेला नेपालमा ईश्वरले यो पृथ्वी सिर्जना गरेको, जे कुरा हुन्छ ईश्वरको देन हो र उनकै  कृपाका कारणले हुन्छ भन्ने जुन धार्मिक अतिवादी सोच थियो, त्यो सोचभन्दा फरक भौतिकवादी दृष्टिकोणले हेर्न बाध्य पार्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ ।

खासमा पुष्पलाल जुनसुकै विषयमा पनि अतिवादी हुनुहुँदैन भन्ने विचारधारा राख्थे । कम्युनिष्ट पार्टी संगठन, नेता, सिद्धान्त र संघर्षबाट बन्ने प्रगतिशील पार्टी हो र यसको मेरुदण्ड पनि यिनै विषय हुन् भन्ने मान्यता उनको थियो । २००८ सालको पहिलो सम्मेलनबाट उनी आफैंले स्थापना गरेको पार्टीको महासचिव पदबाट हटाइए र उक्त पदमा मनमोहन अधिकारी पुगे । पुष्पलालले शायदै कल्पना गरेका थिए कि; आफूले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आफैं अल्पमतमा पर्छु भनेर !

उनी अल्पमतमा परेपछि कम्युनिष्ट पार्टी विचार, संगठन, सिद्धान्त र संघर्षबाट चल्ने हुनाले सम्पूर्ण दस्तावेज, घोषणापत्र, लेखरचना पुष्पलालको विचार भएकाले आफू नेतृत्वमा नभए पनि कम्युनिष्ट सिद्धान्त अगाडि बढेको भएर चित्त बुझाउने गरेको मानिन्छ ।

२०१० सालको पहिलो महाधिवेशनबाट सबै मिलेर पुष्पलाललाई फेरि अल्पमतमा पारियो र तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीच कांग्रेसले नेतृत्व गरेको सरकारले ने.क.पा.लाई प्रतिबन्ध समेत लगायो । २०१५ सालको नेपालको इतिहासकै पहिलो आम निर्वाचनमा ने.क.पा.ले ४ सिट जितेको थियो । २०१५ देखि २०१७ सम्म बीपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ सालपछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायती व्यवस्था लागू गरेपछि फेरि ने.क.पा.लाई पञ्च र राजाले प्रतिबन्ध लगाए ।

त्यसक्रममा केशरजंग रायमाझी समूहले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि ने.क.पा.फुट्यो र विभाजन भयो । विभाजनपछि झापामा वर्ग शत्रु सफाया अभियान चलाउँदै झापा क्रान्तिमार्फत ने.क.पा.माले र हालको एमालेको रूप लिएको हो । मनमोहन र पुष्पलालको धार २०४७ सालमा एकीकृत भएर एमाले भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरूको नेतृत्वमा विभिन्न समूह ने.क.पा.चौम, मोटो मशाल, ने.क.पा. पातलो मसाल, ने.क.पा. एकताकेन्द्र हुँदै हालको माओवादी धार बन्यो । मोहनविक्रम सिंह भने पातलो मसाल बोकेर बसिरहेका छन् । २०१५ सालमा ४ सिट जितेको ने.क.पा.पञ्चायतकालमा विभिन्न आरोह÷अवरोह, विभाजन भएर पनि तत्कालीन माले र माक्र्सवादी मिलेर बनेको एमालेले २०४६ सालपछिको जनआन्दोलनपछि ६९ सिट र माओवादीले ९ सिटसहित तेस्रो दल भएको थियो । २०५१ सालको आम निर्वाचन बहिष्कार गरी माओवादीले संसदीय व्यवस्थाको विरोध गरी २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको शंखघोष ग¥यो ।

त्यस्तै एमाले २०५१ सालको आम निर्वाचनमा ८८ सिटसहित पहिलो पार्टी बन्यो र दक्षिणएशियामा नै पहिलो पटक कम्युनिष्ट पार्टीको एकल सरकार गठन भयो । यस सरकारलाई निकै लोकप्रिय सरकारको रूपमा पनि हेर्न सकिन्छ । तर यो सरकार जम्मा ९ महीना मात्र टिक्यो । फेरि २०५४ सालमा पार्टी विभाजित भयो । २०५६ को आम निर्वाचनमा ७० सिटसहित एमाले दोस्रो पार्टी बन्यो ।

२०६२÷६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो बन्यो । यसबीचमा कम्युनिष्ट पार्टीबाट क. मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई कम्युनिष्ट पार्टीले करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भएका थिए ।

यो कम्युनिष्ट पार्टीको एकता नै नेपालमा कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो सफलता थियो । पाँच वर्षको लागि बनाइएको दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार आजसम्म आइपुग्दा तीन वर्ष जसोतसो सरकारको नेतृत्व गरेका केपी ओलीको सरकार ढालियो । र उनलाई शत्ताच्यूत मात्र गरिएन । प्रचण्ड माओवादी र माधव, झलनाथ र बामदेव सहितका १२ भाई कम्यूनिष्ट कलंकको सहयोग, समर्थन र मिलेमतोमा कांग्रेसको सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयो । कम्युनिष्ट पार्टी विभिन्न गुट, समूह मिलेर छियाछिया भएसँगै आजसम्म २००६ देखि २०८० साउन ६ गतेसम्म आइपुग्दा विभिन्न आरोह र अवरोहको अवरोध पार गर्दै यहाँसम्म आइपुगेको छ ।

माथिको सबै सन्दर्भ र नेपालमा रहेका कम्यूनिष्टहरुको टुटफुट र बेमेललाई नियाल्दा पुष्पलाल व्यक्ति हैनन् । उनि शक्ति र विचारका प्रतिबिम्ब । उनकै विचारका कारणले टुटफुटको बिचमै भएपनि नेपालमा कम्युनिष्ट पार्टी अहिलेसम्म जीवित छ । जिवितमात्र छै देशमा दुई तीहशाईको हाराहारीमा कम्यूनिष्टहरु रहेका छन् । सामान्य ढंगले भन्नु पर्दा नेता प्रायः आन्दोलनले जन्माउँछ ! त्यसले आन्दोलन र विद्रोह पनि जन्माउँछ भन्ने प्रमाण पुष्पलाल हुन् । यो सबै नेपाल कम्युनिष्ट पार्टीको नाम र योगदान विना सम्भव थिएन । नेपालमा ने.क.पा. र कम्युनिष्ट आन्दोलनका प्रणेता र इतिहासपुरुष पुष्पलाल हुन् । उनलाई नसम्झी कम्युनिष्ट पार्टी सम्झनु अपुरो र साँघुरो रहन्छ ।

२००५ सालमै पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेका थिए । त्यसको एक वर्षपछि २००६ सालमा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गर्नुभयो । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।

दूरदर्शीताका धनी, लोकतान्त्रिक मूल्य र देशभक्तिका पक्षपाती पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका विभिन्न कारणको विश्लेषण गर्दै राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुने ठोकुवा २०३३ सालमै बताएका थिए । नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै आफूलाई लोकतन्त्रको योद्धाको रूपमा प्रस्तुत ग¥यो । यसका संस्थापक नेता पुष्पलाल श्रेष्ठमा लोकतन्त्रप्रति गहिरो आस्था थियो । दाजु गंगालालले नेपाल प्रजापरिषदमा आबद्ध भई कलिलो उमेरमै राणाशाही विरुद्ध उत्रिएर मृत्युवरण गरेको देखेका उनमा त्यसको प्रेरणाले प्रजातन्त्र र समानताप्रति समर्पित बनाएको थियो ।

कम्युनिष्ट पार्टी खोल्नु अघि त्यतिबेला पुष्पलाल नेपाल राष्ट्रिय कांग्रेस पार्टीमा क्रियाशील थिए । त्यसमा केन्द्रीय समितिको मन्त्री अथवा सचिव र केन्द्रीय कार्यालय सचिवसम्म भएका उनी नेतृत्व पंक्तिमा रहेर आन्दोलनको अगुवाइ समेत गरेका थिए । तर, पार्टी नीति र नेतृत्वमा भएको हानथापबाट उनी क्रमशः असन्तुष्ट हुँदै थिए ।

आन्दोलनको कुरा गर्नुपर्दा त्यति बेलाको समय त्यति सहज थिएन । पर्चा मार्फत राणाशाही विरुद्ध सम्पूर्ण जनतालाई संघर्षमा उत्रन जोशिलो शैलीमा आह्वान गर्ने गरिन्थ्यो । मजदूरलाई आफ्नो रोटी र तलब बढाउन र महँगी भत्ता बढाउनको लागि लड्नुपर्छ । यस कारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । किसानलाई आफ्नो भोक हटाउन, आफ्ना बालीनाली को भाउ बढाउन, ज्याला बढाउन, अँधियामा उचित भाग पाउन र जमीनको हकको निम्ति लड्नुपर्छ भन्ने उनको महान विचार अघि वढिरहेका थियो ।

यस कारण किसान नागरिक स्वतन्त्रता चाहन्छ । विद्यार्थीलाई विना शुल्क अथवा कम शुल्कमा र उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नुपर्छ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । महिलालाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यसकारण नारी नागरिक स्वतन्त्रता चाहन्छन् । यसकारण सबै जनता एक भई नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नुपर्छ ।”

हक्की र स्वाभिमानी पुष्पलालको देशभक्तिको भावना अत्यन्त बलियो थियो । भारतको बनारसमा राजनीतिक शरणार्थी भएर बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेको हस्तक्षेपको उनी आजीवन चर्काे आलोचक रहे । नेपालको मामलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उनले नकारे ।

राजनीतिक जीवनको आरम्भदेखि नै उनी स्वाभिमानी र बाह्य हस्तक्षेप विरोधी भएको प्रमाण भेटिन्छ । नेपाली राष्ट्रिय कांग्रेसको बनारसमा भएको तेस्रो अधिवेशनमा भएको गतिविधिको चर्चा गर्दै उनले ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ नामक पुस्तकमा लेखेका छन्, “...सम्मेलनको दौरानमा प्रत्येक कुरामा डा. लोहिया नै मुख्य प्रवक्ता हुन्थे ।

भारतीय समाजवादी दलसँग सम्पर्क हुने व्यक्तिहरूलाई छोडी यो कुरा अरू कसैलाई पनि मन परेको थिएन । त्यसपछि मैले ‘नेपालको नेता नेपाली नै हुनुपर्दछ र हाम्रो आन्दोलनमा भारतको केवल एक पार्टी समाजवादीको मात्र सहयोग नलिई भारतीय कंग्रेस, कम्युनिष्ट आदि सबैको सहयोग लिनुपर्दछ’ भन्ने कुराहरू उठाएँ ।

यसैबीच डा.लोहियाले मलाई बोलाएर राजनीतिक कुराकानी गर्दै निचोडमा भने, “देखो भारतमें बहुत पार्टीयाँ और नेताएँ होते हुए भी महात्मा गान्धी एक सर्वमान्य राष्ट्रिय नेता हैं । उसी तरह नेपालमें भी एक ऐसे ही राष्ट्रिय नेता की आवश्यकता है, वह विश्वेश्वरप्रसाद कोइराला हो सकते हैं ।” मैले कुरा काटिनँ तर मलाई चित्त बुझेन । नेता प्रधान नभई नीति प्रधान हुनुपर्दछ भन्ने मेरो मनमा लागेको थियो ।”

त्यही भएर नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा उनले ‘नेपालमा सामन्तवादी र साम्राज्यवादी प्रभुत्वलाई सदाका लागि अन्त्य गर्ने’ उल्लेख गर्दै लेखे– “सामन्तवादी निरंकुश राजसत्ता र विदेशी शोषणको जुकालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने । ... अंग्रेज–अमेरिकन साम्राज्यवादीहरू र तिनका भारतीय कठपुतलीहरूसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोड्ने ।”

आफ्नो यही मान्यतामा अविचल रहँदै उनले दिल्ली सम्झौताको विरोध गरे र मध्यस्थताको नाममा भारतले खेलेको हस्तक्षेपकारी भूमिकाको लागि नेहरू सरकारको कडा आलोचना गरे । सन् १९५० को असमान सन्धि; कोशी, गण्डक सम्झौता लगायत भारतका प्रत्येक हस्तक्षेपकारी घटनाको विरोध गर्दै नेपालको स्वतन्त्रता, स्वाधीनता र आफ्नो निर्णय नेपालले आफैं गर्छ भन्दै देशभक्तिको आफ्नो अडानमा कायम रहे ।

भारतको कलकत्ताबाट निस्कने फ्रन्टियर पत्रिकाको ७ फेब्रुअरी १९७० को अंकमा पुष्पलालको ‘इन्डिया एन्ड नेपाल’ शीर्षकमा लेख छापिएको थियो। लेखमा नेपालबारे जवाहरलाल नेहरूले लेखेका विचार, लिएको नीति र तत्कालीन भारतीय सरकारको नेपालप्रतिको नीतिको समेत उनले आलोचना गरेका छन् । उक्त लेखमा उनले प्रष्ट शब्दमा लेखेका छन्– ‘भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत–नेपाल सम्बन्धले सही गोरेटो लिन सकेको छैन ।

दुई छिमेकी देशहरूका बीच समझदारी तथा मित्रता बढ्नुको साटो जटिलताहरू थपिंदै गएका छन् । ... यो दुःखलाग्दो कुरा हो कि भारतमा ब्रिटिश शासनको अन्त्य हुँदा पनि नेपालप्रतिको भारतीय आधिकारिक विचारधारामा कुनै असर परेन ।’

यसबाट नयाँदिल्लीले ब्रिटिश साम्राज्यवादद्वारा स्थापित तथा हुर्काइएको ठूलो दाजु अथवा ठूलो राष्ट्रको अहंकारको परम्परावादी नीतिलाई छोड्न नसकेको देखिने उनले उल्लेख गरेका छन् । भारतीय शासक वर्गको नीतिले गर्दा भारतीय जनताको नाममा नेपालमा मात्र नभई भारतका सबै छिमेकी देशहरूमा नराम्रो धब्बा लागेको उनको विश्लेषण थियो ।

जीवनकालभरि पुष्पलाल नेपालमा हुने कुनै पनि बाह्य हस्तक्षेपको विरुद्धमा दृढतापूर्वक उभिए । उनले नेपालको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा आवाज उठाइरहे र नेपाली कम्युनिष्ट आन्दोलनलाई देशभक्तिको बाटोबाट विचलित हुन नदिन निरन्तर मार्गनिर्देशन गरिरहे । देशभक्ति र लोकतन्त्रको मार्गमा लागिरहेकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सुदृढ हुनसकेको हो ।

त्यतिबेलै पुष्पलालले गणतन्त्रको पक्षमा आजीवन आफ्नो आवाज मुखर पारे । कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उनले गणतन्त्रात्मक शासन प्रणालीप्रति पार्टीको प्रतिबद्धतालाई स्पष्ट रूपमा जनतासमक्ष राखे । सैद्धान्तिक र राजनीतिक रूपमा गणतन्त्र किन आवश्यक छ भन्ने कुरो उनले जति प्रष्ट रूपमा नेपालका कुनै पनि नेताले व्याख्या गरेका छैनन् ।

जुनवेला विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर राजा र मेरो घाँटी एकआपसमा जोडिएको छ भनिरहेका थिए, त्यसैताका पुष्पलालले ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य शीर्षकमा आफ्नो बिचार राखेका थिए । उनले त्तिबेलै नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका ऐतिहासिक, आर्थिक, सामाजिक तथा राजनीतिक कारणको विश्लेषण गर्दै अन्ततः राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुने कुराको ठोकुवा गरेका थिए ।

यसरी सारा राजनीतिक दल र शक्तिहरू कोही निरंकुश राजतन्त्र र कोही संवैधानिक राजतन्त्रको पक्षमा लागेको वेला पनि पुष्पलालले सैद्धान्तिक, वैचारिक र नीतिगत रूपमा आफूलाई गणतन्त्रको पक्षमा दृढतापूर्वक उभ्याएको देखिन्छ । त्यसैले पुष्पलाल नेपाली धर्तीमा गणतन्त्रात्मक विचार र मान्यताका संवाहकका रूपमा भूमिका खेल्ने प्रथम राजनेता हुन् भनेर निर्विवाद रूपमा भन्न सकिन्छ ।


प्रतिक्रिया



थप समाचारहरु