के हामी साँच्चै व्यस्त छौ त ?


देवी प्रसाद अधिकारी

कतिपय विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू अहिले चाड पर्वको लामो बिदामा छन् । अरु व्यापार व्यवसाय र अफिसहरु त चलेकै छन् । चाडबाड, जागिर, नोकरी, व्यापारले समय लिने नै भयो । हामी कृषिमा पनि आश्रित भएकोले यो बाली भित्र्याउने चटारोमा पनि छौ । केहि व्यस्तता थपिएकै छ ती काम पनि गर्नेहरूलाई । 

एक महिना भन्दा बढि छुट्टी भएकोले मन लागेको केहि थान पुस्तक पढ्ने रहर मेट्दै छु । एउटा अन्तराष्टिय सम्मेलनमा आफुले गरेको अनुसन्धानको प्रस्तुतीकरण गर्नु थियो । निकै मेहनेतसाथ त्यो पनि पुरा गरें । निकै थोरै दिनमात्र दशैलाई खर्चे । अहिले आफ्नै सोधकार्यको लागि तत्थ्याङ्क संकलन, प्रसोधनमा केहि समय ब्यतित गरिरहेको छु । घर परिवार त सबैका हुन्छन् नै । म एघार जनाको सगोल परिवारमा एउटा मियोको भूमिकामा सधैजसो छदैछु । सामाजिक सञ्जाल साथिभाईमा पनि सकृय नै रहन्छु । समय र मन मिले कविता, कथा, केही गन्थनमन्थन कोर्छु । साथीभाइसँग साँझमा एकपटक चिया पिउँछु । एक दुई दिन बिराएर केही घण्टा आमा बासँग भलाकुसारी गर्न जान्छु । छिटपुट शारिरीक ब्यायामको लागि खेल्न निस्कन्छु । श्रीमती जीको ब्यापारमा भर थेक सघाउँछु । रहरले करेसाबारीमा थोरै समय लगाउँछु । 


लगभग बिदाको दिनमा दशघण्टा भन्दा बेसी र क्याम्पस खुल्दा दश घण्टा जति नियमित अध्यायन गर्छु । दैनिक बढिमा छ घण्टा सुत्छु । थाहा छैन यत्ती गर्दा म बिजि छु कि छैन । अरुले तँ त बिजि छस् चै भन्छन् । मेरो मनले चाहिँ त्यस्तो ब्यस्त छु भन्दैन । मसँग प्रशस्त समय छ तर म त्यसलाई ब्यबस्थापन गर्न चुकीरहेको छु । कहिले त बिल्कुल बिजि भएको ढ्वाङ फुकेको छु जस्तो लाग्छ । मलाई बिजि देख्नेहरू पनि भ्रममा छन् भन्ने लाग्छ । 

म साच्चै बेफुर्सदमा थिएँ भने त मसँग काँ दुनियाभरका पोष्टमा लाइक, कमेन्ट, रियाक्ट, सियर गर्ने समय मिल्थ्यो होला र ? अनि चाहिने न चाहिने फेसबुक रिल, थुट्युब र टिकटक भिडियो, राजनैतिक गन्थन–मन्थन, देश बिदेशमा बस्नेहरूको स्लील–अस्लील लाइभ, क्रिकेट खेल हेर्न भ्याउँथ्ये होला र ? तेतिमात्र होर म साच्चै बिजि छु भने नेता, राजनिति, साथी, सहकर्मी, छिमेकी, नातेदारका कुरा काट्ने समय निकाल्न सक्छु होला र ? 

 भन्छन् – अलि बिजि थिएँ रिप्लाइ दिन भ्याइन ढीला भयो । म अचम्म मान्छु । मुसुक्क हाँस्छु । राम्ररी थाहा हुन्छ मलाई कि त्यो अबधिभर उस्ले दर्जनौ कमेन्ट गर्छ । सय पचास लाइक, रियाक्ट गर्छ । अरुसँग च्याट गर्न, कल गर्न भ्याउँछ । अरुको पोष्ट सियर पनि गर्छ । तर दिनुपर्ने रिप्लाइलाई समयमा दिइदैन । राम्रो कुरो राख्यो इग्नोर गर्छ । अलिकति उस्को कमजोरी देखाइ दिनुपर्छ सच्चिनुको सट्टा बबन्डर गर्न खोज्छ । यद्यपी आफूलाई चाहिन्छ भने चै कुरै नगरुँ । 

व्यस्तता के हो भन्ने कुरो पक्कै पनि निरपेक्ष हुदैन । सामान्यत कम्निस्ट राष्ट्रहरुले आफ्ना हरेक नागरिकलाई आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र बाँकि आठ घण्टा आराम गर्ने परिपाटी बसाले । बसाल्न चाहे । त्यो सधै सफल देखिएन । कैयन गैह्र कम्निस्ट मुलुकहरुले ब्यत्तिलाई नै काम गर्ने समय छनोट गर्न र जति व्यस्त रह्यो त्यति प्रगति हुन्छ भन्ने दर्शन बाँडे । जसको फल स्वरूप व्यत्तिमात्र हैन देश नै प्रगति उन्मुख बनाए तर हाम्रो समाजले त्यो अनुसरण गर्न सकेन । हामी सधै एउटै ढाेंङमा रुमलियौ । उपलब्धि मूलक काम गरे पनि बेकारमा समय बिताउँदा नि सधै बिजि छु भन्ने स्वाँङ पारी रहन्छौ । ब्यस्त छु भन्न पाएमा गर्व गछौ तर म को हुँ ? मेरो प्राथमिकता के के हुन् ? मेरो उपलब्धि के मा छ ? खास मेरो समय केमा लगाउन पर्ने हो ? स्वःमूल्याङ्कन गर्न चुकेका छौ । हामी कामको नाममा कर्मकाण्डी छौ । हर पेशामा पण्डित्याँई गर्छाै । त्यसैले होला आज हामी बीचमा एकताबद्घ भएर आफू र समाजको लागि केहि गर्न मन मिलेको छैन । 


अनेक बाहना बनाउँछौं । आफू निकै बिजि भएको देखाउँछौ सुनाउँछौ । काम र परिस्थितिबाट भाग्न खोज्छौ । सामाजिक दाइत्व र जिम्मेबारी बहन गर्न मन गर्दैनौ । गर्नै परे तत्कालको फाइदाको अपेक्षा राख्दछौ । अन्ततोगत्वा हामी जीवनभर एउटै परिस्थितिबाट गुज्रीन्छौ । असन्तोश र ल्गानीले भरिएर पनि आत्मश्लाघामा आफैलाई घुमाउँछौ । आफूमा पाखण्ड र घमन्ड भरिएको भेउ पाउँदैनौं । जीवनलाई निरस पशुवत् बनाउँछौ । मानब भएर जिउनु भनेको काल पर्खिनु र जीवन चलाउनु, तलब खानु, सकेकम्म जसरी पनि कमाउनु मात्रै हो भन्ने भानमा बढी रूमल्लिएका छौ । 


जीउनकै लागि त हर जनावार पनि त सक्षम छन् नि । जसोतसो पेट भरेकै छन् । आ–आफ्नो सृष्टी धानेकै छन् । आफ्ना समुहमा सम्बन्ध राखेकै छन् । मिलिजुली खाएका छन् । कसैलाई ढाँट्दैनन् । यद्यपी हामी मानब मानबमा अनौठो सम्बन्ध राख्दछौ । हर सम्बन्धलाई नाफा र घाटामा जोखेका छौ । एउटै बिषय र व्यक्तिलाई आफ्नो अनुकूल ब्याख्या गर्छौ । आफ्नो भन्दा अरूकै कमजोरी बढी देख्छौ । केहि गर्छु भन्ने निष्ठावान व्यक्तिहरूलाई खिसीटिउरी गर्छौ । खुट्टा तान्छौ । उसको कमजोरीलाई खोतल्न तल्लिन रहन्छौ । उसलाई सहयोग गर्नुको सट्टा निरीह तुल्याउछौ । अनि समाज परिवर्तनको ठूलो अपेक्षा गर्छौ । 


हाम्रो पुस्तान्तरण पनि अनौठो हुदै गएको छ । हामीले आफू पछिका पिढीलाई सामाजिक क्रियाकलापबाट अलग राखेका छौ । उनीहरुलाई सामुहिक काम गाह्यो अफ्ठ्यारो कामबाट बिमुख गरेका छौ । मोबाइल, कम्प्युटरमा झुम्याएका छौ । सामाजिक संजालको, बिभिन्न खेलको चङ्गुलमा फस्न दिएका छौ । उनीहरुकै उमेर समुहका साथीहरुसँग खेल्ने समय बिताउने अवशर कम दिएका छौ । छर छिमेक नातागोतासँग भलाकुसारी गर्ने रमाउने, खेल्ने अवशर घटाउँदै लगेका छौ । समग्रमा हामी आफू पनि सामाजिक संजाल र मोबाइलको अनियन्त्रित प्रयोगमै बढी समय ब्यतित गर्छौ । त्यसको देखासिकि हाम्रा बालबालिकाहरुले अत्याधिक गरिरहेका छन् । यसो हेर्दा लाग्छ हामी दुबै पुस्ता अतिनै बिजि छौ । तर के यसले सही कुरोको संकेत गरिरहेको छ त ?

 

बिकसित देशका नागरीकलाई हेर्ने हो भने उनीहरु दैनिक बाह्र पन्ध्र घण्टा काम मै ब्यस्त रहन्छन् । हप्ता भरी मरीमेटी काम गरेर वीकेन्डमा चै राम्ररी रमाउँछन् । हामीले जस्तो बिजि रहेको स्वाङ पनि पार्दैनन् । सामाजिक संजालमा कम नै इन्गेज्ड रहन्छन् । 


हाम्रो तरीका देखेर कहिले काँहि अचम्म लाग्छ । मैले भोगेका मान्छेहरू सम्झेर एक्लै हाँस्छु पनि । कसैलाई कुनै कामबस मेसेज गर्छु । तुरुन्तै डेलिभर हुन्छ । केहि घण्टा वा दिन पछि सिन पनि गर्छन् तर रिप्लाई निकै ढीला आउछ । भन्छन् – अलि बिजि थिएँ रिप्लाइ दिन भ्याइन ढीला भयो । म अचम्म मान्छु । मुसुक्क हाँस्छु । राम्ररी थाहा हुन्छ मलाई कि त्यो अबधिभर उस्ले दर्जनौ कमेन्ट गर्छ । सय पचास लाइक, रियाक्ट गर्छ । अरुसँग च्याट गर्न, कल गर्न भ्याउँछ । अरुको पोष्ट सियर पनि गर्छ । तर दिनुपर्ने रिप्लाइलाई समयमा दिइदैन । राम्रो कुरो राख्यो इग्नोर गर्छ । अलिकति उस्को कमजोरी देखाइ दिनुपर्छ सच्चिनुको सट्टा बबन्डर गर्न खोज्छ । यद्यपी आफूलाई चाहिन्छ भने चै कुरै नगरुँ । 

सरसर्ती हेर्दा आजकल हरेक मान्छे मोबाइलमा नै घोप्टीएको देखिन्छ । काम के के न होला जस्तो गर्छौ तर आफ्नो खास काममा समय कम दिएका छौं । यसो फुर्सद मिल्यो कि स्क्रीनमा नै हाम्रो ध्यान जान्छ । हामीले त्यसलाई रोक्न सक्यौ र अन्य कुराहरूमा ध्यान लगायौ भने केहि सृजनात्मक काम गर्न सक्छौ । केहि लेख्न पढ्न तिर ध्यान केन्द्रित गर्न सक्छौ । नत्र यो अमूल्य जीवन अरूका अनेक नौटकीं हेरेर नै बितिरहन्छ । सकारात्मक भन्दा बढि नकारात्मकताले भरिएको सञ्जालले बिस्तारै हाम्रो सृजनशीलतालाई निमोठी रहेको छ । हामी त्यसको प्रत्यक्ष सिकार भएका छौ । त्यसैले बिजि छु भन्ने बहानामा स्क्रीनको लतमा नफसौ । भएको समयलाई सामाजिक र सृजनात्मक काममा पनि लगाऔ । बिजि भएको बहाना नगरौ । 


प्रतिक्रिया



थप समाचारहरु