स्वतन्त्र छु र सवैलाई स्वतन्त्रता दिन्छु : राजानन्द माण्डव्य


मेचीकाली

राष्ट्रिय पोशाक नै लोप हुने अवस्थामा पुग्न लागेपछि एउटा युवाको लहडमा सुरु भएको थियो राष्ट्रिय पोशाक संरक्षण अभियान । यो अभियान अहिले देशव्यापी बनिसकेको छ र प्रत्येक बर्ष जनवरी १ तारिखको दिन देशभर राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको छ । अभियानका संस्थापक थिए राजकुमार बजगाईं अर्थात राजानन्द माण्डव्य । उनी माण्डव्य अहिले बनेपा नगरपालिकामा नगर प्रमुख पदको उम्मेदवारको रुपमा आएका छन् धारा चिन्हसहित । अटेरी उम्मेदवार राजानन्द माण्डव्य आफ्नो उम्मेदवारी स्थानिय तहलाई दलिय सिन्डिकेट, दलको हावी तथा दलको दलदलबाट जनतालाई मुक्त गर्न भएको बताउँछन् । के कस्ता छन् त उनका एजेण्डा ? प्रस्तुत छ स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यसँग गरिएको कुराकानी

तपाईको उम्मेदवारी किन ?

मेरो नगर प्रमुख पदका लागि उम्मेदवारी स्थानिय तहलाई दलिय सिन्डिकेट, दलको हावी तथा दलको दलदलबाट जनतालाई मुक्त गर्न हो। कुनै एक दलले जितेपछि अन्य दल तथा जनतालाई विभेदको दृष्टिकोणले हेर्ने प्रथाको अन्य गर्दै समान, समावेशी तथा नगरका पछि परेका गाउँ तथा सम्भावना बोकेका नगरभित्रका प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्दै नेपालकै नमुना तथा विकशित नगर बनाउने विविध बहुआयामीक योजना सहित मेरो उम्मेदवारी हो। 

प्रमुख ५ योजनाहरु के के छन ? 

नगरको समग्र विकासका लागि ५ योजना मात्र पूर्ण योजना होइनन्। तथापी मुख्य ५ योजना अन्तर्गत कृषी, शिक्षा,खानेपानी, रोजगारी, स्वास्थ्य,प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग हो।

कृषीका लागि किसान बचाउने, कृषी उपज उत्पादन तथा बजारीकरणमा नगरले योजना ल्याउने, किसानका समस्या जस्तै विउविजन,सिंचाई,बन्यजन्तुको प्रकोप न्युनिकरण,उत्पादन पश्चातको उचित मुल्य सहितको बजारीकरण मुख्य योजना हो।

शिक्षा अन्तरगत सर्वप्रथम सामुदायीक विद्यालयमा मन्टेश्वरी कक्षा संचालन गर्ने, सामुदायिक तथा निजी विद्यालयका पाठ्यक्रम एकै राख्ने, सवैलाई समान गुणस्तरीय शिक्षा प्रदान गर्ने लगायतका रोवोटिक र रैथाने ज्ञान सिपका शिक्षा विद्यालय स्तरबाट सुरु गर्ने।

खानेपानी नगरको मुख्य समस्या हो। पानी प्राणी जिवनको मुल आधार हो। पानीका स्रोत व्यवस्थापन गरि गाउँ तथा नगरका एक घर एक घारा र सिंचाई योजनालाई पूर्णता दिने योजना छ। नगरका सवै जनतालाई स्वच्छ पानी व्यवस्थापन गर्ने नगरको बृहत योजना अन्तरगत पर्दछ। 

रोजगारी सिर्जना विना नगर सम्वृद्ध बन्न सक्दैन। बेरोजगारीले हिंसा र अपराधलाई बढावा दिने गर्दछ। जनताका दैनिक खर्च, शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यक्ता पुर्ती गर्न सक्ने क्षमता अभिबृद्धि गर्न पनि रोजगारी र त्यसका लागि उद्योग, कलकारखाना खोल्न नगरले उचित बजेट तथा योजना तयार गर्न आवश्यक छ।

निर्वाचित भएमा पालिकामा के के सुधार गर्नुहुन्छ ?

म निर्वाचित भएमा सर्वप्रथम नगर विकास निगमको अवधारणालाई पूर्णता ल्याउनेछु। प्रविधिमा नगरका दैनिक सेवा सुचारु गर्नेछु। नगरलाई पेपरलेस, क्यासलेस र करप्सनलेस बनाउन प्रयास गर्नेछु। बजारमा खानेपानी समस्या, गाउँमा खानेपानीको उचित व्यवस्थापन, बजारमा डुवान समस्या, गाउँमा यातायात समस्या हल गर्न अनवरत प्रयास गर्नेछु। बजारमा व्यापार र गाउँमा कृषी क्रान्तीका धेरै योजना बनाएको छु त्यसमा गृहकार्य गर्नेछु। गाउँका किसानको जिवनस्तर उकास्ने खालका दिगो योजना बनाएको छु त्यसलाई पूर्णता दिनेछु

योजना प्राप्तीको आधार ? 

नगर भित्रका प्राकृतिक स्रोत साधन, खनिज, जंगल, युवा, कृषी क्रान्ती, पर्यटन, जडिवुटी सहितका नगरलाई आत्मनिर्भर बनाउने कयौँ योजना बनाएको छु। ८०प्रतिशत किसान र कृषीमा आत्मनिर्भर नगरपालिकाको बलियो आधार यो भन्दा अन्य हुनसक्दैन भन्ने मेरो विश्वास छ।

जितको आधार ? 

म गैर राजनैतिक व्यक्ती, युवा संगै क्षमतावान पनि छु। कसैलाई काँखा र पाँखा गर्दिन। स्वतन्त्र छु र सवैलाई स्वतन्त्रता दिन्छु। किसानको मर्म बुझेको छु। व्यवसायीका समस्याको हल गर्न सक्छु। दुई तिहाई जनता रहेको गाउँ क्षेत्रको प्रतिनिधित्व गर्छु। विकास र निकासका लागि तत्पर रहनेछु। भ्रष्टाचार गर्दिन र गर्न दिन्न। जनताको सेवक बन्न प्रयास गरेको छु त्यो भन्दा बलियो आधार के होला र ?

निर्वाचन अघि र पछिको तपाईमा केहि फरक हुन्छ कि? बोलि र व्यवहारमा फरक हुन्छ भन्छन नि? 

त्यो फरक सायद राजनिति गर्न अव्वल नेतामा होला म त्यो खालको मान्छे हैन। म गरिव तथा किसान हक हितका लागि नेतृत्वमा आएकाले पनि म त्यस्तो फरक हुनेछैन। नगर विकासका लागि मेरो समय सदैव जनताका हितमा लाग्ने प्रण गरेको छु। म छेपारोले झै रंग बदल्न सक्दिन र कदापि गर्दिन पनि भन्ने विश्वास व्यक्त गर्दछु।

पालिकावासीलाई केही भन्नु छ? 

समस्त नगरवासी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुमा म यस नगर विकासका लागि आफ्नो तन मन बचन र कर्मले सेव ागर्ने हेतुले चुनावमा होमिएको छु। स्वतन्त्र नगर प्रमुख बनेर सवै जनतालाई समान व्यवहार गर्दै अघिल्लो सरकारले झै कसैलाई काखा र पाँखा गर्ने छैन। शहरलाई व्यवस्थित गाउँलाई विकशित गर्दै आउने पुस्तालाई सवल र सक्षम नगरपालिका बनाएर हस्तान्तरण गर्ने मेरा योजनाहरु रहेका छन। निर्वाचन जितेमा कुर्सिमा अथवा हारेमा ढोकामा बसेर जनताका समस्यालाई हल गर्ने विस्वास व्यक्त गर्दछु। मेरा योजना र म भित्रको काम गर्न सक्ने क्षमतालाई पूर्ण रुपमा परिचालन गरि नगरको चौतर्फी विकासमा आगामी ५ बर्ष अर्पण गरेको छु। मेरो चुनाव चिन्ह पानीको धारामा नगर प्रमुख पदमा स्वस्तिक छाप लगाई आफ्नो मतलाई न्याय दिनुहुनेछ भन्ने पूर्ण विस्वास लिएको छु।


को हुन् राजानन्द माण्डव्य ? 


यो माटोको सुगन्धमा म राष्ट्रियता पाउँछु,

मैले लगाउने दौरा सुरुवालमा म पहिचान पाउँछु,

मैले बोक्ने राष्ट्रिय झण्डामा म स्वाभिमान पाउँछु

त्यसैले त म आफुलाई नेपाली भन्दा गर्व गर्ने गर्छु

मलाई लाग्छ देश भनेको भुगोल मात्र हैन देश भनेको त भुगोल भित्रको राष्ट्रियता हो। विविध जातजाती, भाषाभाषी, संस्कृति, धर्म, रहनसहन र भुगोलको समग्र एकता नै राष्ट्रियता हो।

देश हुनको लागि जनता र जनताका सार्र्वभौमसत्ता आवश्यक पर्दछ। देशको कला सभ्यता, धरोहर र सम्पदाको जर्गेना गर्ने उदेश्यले विगत १ दशक देखी अथक रुपमा म पोशाक, राष्ट्रिय झण्डा लगाएत धरोहरको संरक्षणमा म प्रतिवद्ध छु। 

नेपालको कला संस्कृति अर्थात पूूर्विय संस्कृति विश्वमा नै पृथक र ऐतिहासीक छ। नेपालको प्रकृति नै मनोरम छ। नेपाललाई देवालय भनिन्छ कारण यहाँका मौलिक सम्पदा र कलाहरु हुन। तसर्थ धरोहरको संरक्षण नै मेरो जिवनको मुल लक्ष्य हो।


अभियानमा आवद्धता ः

१) राष्ट्रिय पोशाक दिवस–संस्थापक 

२०७० साल पौष १७ गतेका दिनबाट सुरु गरिएको नेपाली पोशाक दिवसको स्थापना गरियो। हरेक बर्ष पौष १७ गते अर्थात जनवरी १ का दिन विश्वभरि रहेका नेपाली तथा नेपाली संस्कृती प्रेमी नागरिकहरुले भव्यताका साथ पोशाक दिवसको रुपमा मनाउन थालिएको छ। टोपी दिवसको नामले परिचित अभियानको संस्थापक भएर काम गर्न पाउँनु मेरा लागि गौरवको विषय हो। अभियानले आगामी बर्षबाट अन्तरराष्ट्रि पोशाक दिवसको अभियान संचालन गरि विश्वभरि पोशाक दिवसको स्थापना गर्र्ने लक्ष्य राखेको छ।

२) राष्ट्रिय झण्डा दिवस –संस्थापक

२०७५ साल पौष १ गतेका दिनबाट मनाउन सुरु गरिएको राष्ट्रिय झण्डा दिवसको संस्थापन गरि नेपालको झण्डाको एक ऐतिहासीक पर्वको स्थापना भएको छ। राष्ट्रिय झण्डाको गरिमा र महिमाको कमी आईरहको वर्तमान समयमा नेपाली नागरिकलाई झण्डाको महत्व दर्शाउन दिवस स्थापना गरियो। विशेषत सन् १९६२ डिसेम्वर १६ का दिन संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई आधिकारिकता दिइएको दिनलाई स्मरण गर्दै विगत ४ बर्षदेखी राष्ट्रिय झण्डा दिवसको रुपमा नेपाल तथा विश्वभरी रहेका नेपालीहरुले मनाईरहेका छन। झण्डा दिवसको परिकल्पना गरि दिवस मनाउन पाउनु मेरा लागि गौरवकोे विषय बनेको छ।

३) विश्व हिन्दू युवा संघ – केन्द्रिय प्रवक्ता ः

विश्वभरि रहेका हिन्दू धर्मालम्वीहरुको आस्था र विश्वासको केन्द्र नेपाल हो। हिन्दू धर्मको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो। धर्म पहिचान हो तसर्थ आफ्नो धर्मको रक्षा गर्नु आजको प्रमुख आवश्यक्ता हो। गाई, गाँजा,गोरक्षनाथको ज्ञान विश्व सामु व्याप्त गराउने उदेश्य स्वरुप स्थापना भएको विश्व हिन्दू युवा संघको मुख्य प्रवक्ताको रुपमा कार्य गर्न पाउनु मेरा लागि भाग्यको कुरा हो। यतिबेला लिपुलेकमा बेदव्यासधाम सहित देशव्यापी गौशाला निर्माणमा संगठनले कार्यहरु गर्दै आईरहेको छ।

४) गौ संरक्षण अभियान – महासचिव ः

गाईहरुको संरक्षण तथा स्थानिय गाईबाट उत्पादन हुने पञ्चगव्य उत्पादन गर्ने उदेश्य स्वरुप स्थापना भएको यस संस्थाले बर्दियामा ८ वटा गौशाला निर्माण गरिहेको छ। सडकमा विचल्ली पारिएका गाई तथा गोरुको संरक्षण गरि गौशाला निर्माण कार्यका हामी सक्रिय रहि आएका छौँ।

५) राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल – संस्थापक 

राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवसको स्थापना पश्चात नेपालका संस्कृति, सम्पदा र धरोहरको संरक्षण गर्ने मुल उदेश्य राखी यस संस्थाको स्थापना गरिएको हो। प्रतिष्ठानले यसै सालको पोशाक दिवसको दिनमा इतिहासविद तथा वांमयपुरुष सत्यमोहन जोशीज्यूलाई संस्कृति मन्त्री माननिय प्रेम बहादुर आलेज्यूूको हातबाट नगद ११,१११ – एघार हजार एक सय एघार रुपैयाँ) सहित राष्ट्रिय धरोहर सम्मानले सम्मानित गरेको छ। साथै संस्थाले पोशाक तथा भेषभुषा संग्राहालयको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।

६) काभ्रे सेवा समाज –कार्यसमिति सदस्य 

काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर देशका विभिन्न जिल्लाहरुमा कार्यक्षेत्र बनाएका निजामति तथा सरकारी सेवामा आवद्ध व्यक्तित्व तथा सामाजिक सेवामा सक्रिय काभे्रलीहरुको साझा संगठनको रुपमा काभ्रे सेवा समाज सामाजिक कार्यहरु गर्दै आईरहेको छ। नेपाल सरकारका विभिन्न सरकारी कार्यालयमा कार्यरत तथा सेवा निवृत्त कर्माचारीहरु रहेको यस समाजमा कार्यसमिति सदस्यको रुपमा कार्य गर्दै आईरहेको छु। मलाई काभ्रेली हुनुमा गर्व महसुस हुन्छ।

७) स्मार्टपलिका – सहसंस्थापक 

स्थानिय तह अर्थात नगर तथा गाउँपालिकाहरुमा डिजिटल रुपान्तरको उदेश्य लिएर स्मार्टपालिकाले विगत ४ बर्षदेखी काम गर्दै आईरहेको छ। डिजिटल शुसासन तथा प्रविधिमैत्री स्थानिय तहको निर्माण गर्दै पेपरलेस, क्यासलेस सरकार संगै अनलाईन सेवा सुचारु गर्ने काम य कम्पनीले गर्दै आएको छ, देशका सयाँै स्थानिय निकायमा सहकार्य गर्दै यतिबेला नेपालको उत्कृष्ट सुचना प्रविधि क्षेत्रमा अग्रिणी  कम्पनीको रुपमा स्मार्टपालीका परिचित छ।

८) सामाजिक आवद्धता 

क) गत बर्ष बनेपा नगरपालिका वडा नं ७ निवासी एकल महिला चन्द्रमाया श्रेष्ठको घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको छ । 

ख) यस बर्ष बनेपा नगरपालिका वडा नं ३ सुमारा निवासी विपन्न परिवार धुर्व प्रसाद दाहालको घर निर्माण भईरहको छ।

ग) बाग्मती सरसफाई, चक्रपथ सरसफाई लगाएतका सरसफाई अभियानमा सक्रिय रहेको छु।

घ) धार्मिक स्थल सरसफाई तथा संरक्षणमा निरन्तरता ।

ङ) म बनाउछु मेरो धरहरा अभियान गरि हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न ।

९) गायन तथा साँस्कृतिक जागरण 

क) सिमानामा पर्खाल लगाआँै (शव्द तथा लय)

ख) मेरो झण्डा फरफराउँछ (शव्द,लय,स्वर)

ग) बनेपा नगर जिन्दावाद (चुनावी गित)

अन्त्यमा,

मैले आजसम्म कुनैपनि दलको झण्डा बोकेर जिन्दाबाद र मुर्दाबादको नारा लगाएको छैन। देश निर्र्माणमा मेरो तन,मन,बचन,कर्मले सदैव योगदान दिदै आईरहेको छु। लोकतन्त्रमा निर्वाचन प्रक्रिया सुन्दर पक्ष हो। मेरो हार या जिन भन्दा पनि पदमा पुग्ने जनप्रतिनिधि दलिय स्वार्थ भन्दा माथि उठेर गाउँ, नगर,जिल्ला र देश निर्माणमा समर्पित हुनुपर्दछ। जनप्रतिनिधि पार्टि प्रतिनिधि हुनु हुदैन।

म मेरो जिवनकालमा सदैव देश र जनताको हक,हितमा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्दछु।

जय मातृभूमी ।



प्रतिक्रिया



थप समाचारहरु