काभ्रे–तेमाल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मनलाग्दी हिसाबले खरिद कार्य गरेको पाइएको छ । गाउँपालिकाले अस्पतालको पूर्वाधार नै तयार नभई अस्पतालका लागि उपकरणहरु खरिद गरेको पाइएको हो ।
महालेखा परीक्षकको कार्यालयले नै गाउँपालिकाले गरेको उपकरण खरिदमा प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७९÷०८० को अन्तिम लेखापरीक्षणमा अस्पताल सञ्चालनको पूर्वाधार तय नहुँदै नौ लाख ९९ हजार ५५ रुपियाँ बराबरको उपकरण खरिद गरी भण्डारण गर्नुको कारण स्पष्ट नभएको उल्लेख गरिएको छ ।
गत मङ्सिर २८ गते दिउँसो गाउँपालिकाको स्वास्थ्य शाखाको सामाग्रीहरु भण्डारण रहेको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा इसिजि मेसिन एक थान, डेण्टल सेट एक थान, इम्प्लान्ट सेट दुई थान, नाक, कान, घाँटीको मेसिन दुई थान २, तौल मेसिन पाँच थान, विपि सेट चार थान, भिडियो एक्सरे मेसिन एक थान क्षति भएको थियो । यस्तै आगलागीबाट नेबुलाईजर मेसिन चार थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, ल्यापटप दुई थान, डेक्सटप कम्प्युटर एक थान, मोवाइल फोन चार थान, प्रिन्टर दुई थानलगायतका स्वास्थ्य सामाग्री तथा उपकरणका साथै कार्यालय प्रयोजनका लागि प्रयोग भएका फर्निचर र मसलन्दका सामाग्री र आव २०७९।०८० मा खरिद गरिएका जनतालाई निःशुल्क रुपमा वितरण गर्नका लागि आवश्यक पर्ने ९८ प्रकारका औषधि वितरण गरि बाँकी रहेका र अन्य सामाग्री गरी ३८ लाख बरावरको क्षति भएको प्रहरीको मुचुल्काबाट देखिएको महालेखाले उल्लेख गरेको छ ।
लेखापरीक्षण प्रतिवेदनमा क्षतिको एकिन गर्न नसकिएको, क्षति भएका उपकरण औषधि ल्यापटपहरु कुन मितिमा खरिद गरी भण्डारण भएको भन्ने एकिन नभएको, मेशीनरी उपकरणहरु जडान गरी प्रयोग नगर्नुको कारण स्पष्ट नभएको उल्लेख गरेको छ । त्यस्तै मालसामानको मूल्य अनुसारको क्षति नखुलाएका, आर्थिक वर्ष अन्त भएको ५ महिनासम्म पनि औषधिहरु वितरण नगरी भण्डारण गर्नुपर्नाको कारण पनि नखुलेको जनाएको छ ।
लेखापरीक्षणमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) मा २० लाख रुपियाँँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था भएपनि पालिकाले उक्त प्रक्रियावेगर विभिन्न गोश्वार भौचर र मितिबाट सोझै तथा सिलबन्दी दरभाउपत्रको माध्यमबाट ३५ लाख ३५ हजार १०२ को औषधि खरिद गरेको थियो । पालिकाले पालिकालाई विभिन्न निकायबाट हस्तान्तरण गरेको औषधिको अभिलेख अद्यावधिक नराखेकोले आव २०७९÷०८० मा के कति औषधि प्राप्ती तथा खरिद भयो, के कति वितरण गरियो साथै मौज्दातको रेकर्ड सोही अनुसार नभएकोले एकिन गर्न नसकिएको उल्लेख गरेको छ ।
त्यसैगरी पालिकाले खरिद गरेका औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन भएको नदेखिएको, आपूर्ति हुने औषधि डब्लुएचओ प्रमाणित हुनुपर्ने, औषधिको उत्पादन मिति, व्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि विक्रीको लागि होइन खुलाएको प्रमाण समावेश नभएको पाइएको छ । त्यस्तै आपूर्ति भएका औषधी एवम् सर्जिकल समान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए÷नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न नसकिएको, औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिल्लाबाट हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रुपमा आम्दानी बाँध्ने नगरेको, औषधिको भण्डारण र सो लाई व्यवस्थित गर्नको लागि आवश्यक पर्ने न्यूनतम परिणाम अधिकतम परिमाण र औषत परिमाण लाई व्यवस्थित गरी माग सम्बोधन नगरी सुरुमा भन्दा वर्षको अन्त्यमा बढी रकमको औषधी खरिद गर्नुपर्नाको कारण समेत स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले औषधिको खर्च घटाउदा माग फारामको आधारमा घटाउनुपर्नेमा एकमुष्ट घटाउने गरेको पाइएको छ । महालेखाको प्रतिवेदनले गाउँपालिकाले औषधिको खरिद, आपूर्ती, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको एकीन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राखे तथा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको औषधिहरु जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएको छ ।