आयुर्वेद उपचार सेवा लिनेको सङ्ख्या चार गुणा बढ्यो


Mechikali

काभ्रे- जिल्लामा कोरोना सङ्क्रमण सुरु भएपछि आयुर्वेद औषधि प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । कोरोना सङ्क्रमण हुनु भन्दा पहिला आयुर्वेद उपचार सेवा लिने नागरिकको सङ्ख्या न्यून रहेको थियो भने कोरोना सङ्क्रमण पछि जिल्लामा आयुर्वेद सेवा लिनेको सङ्ख्यामा बृद्धि भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा. मनोज कुमार चौधरीले कोरोना सङ्क्रमणपछि जिल्लामा आयुर्वेद औषधि तथा उपचार सेवा लिनेको सङ्ख्यामा बृद्धि भएको बताउनुभयो । उहाँले पछिल्लो वर्ष जिल्लामा आयुर्वेद उपचार सेवा लिनेको सङ्ख्या चार गुणा बढी रहेको बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा पाँच हजार ५८७ जनाले केन्द्रबाट आयुर्वेद उपचार सेवा लिएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा केन्द्रबाट मात्रै २३ हजार १७७ जना नागरिकले आयुर्वेद उपचार सेवा लिएको बताउनुभयो । उहाँले केन्द्रबाट एक वर्षको अवधिमा १५ हजार चार सयले बहिरङ्ग सेवा, तीन हजार ८४१ जना जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रबाट लाभान्वित बनेको बताउनुभयो । यस्तै एक हजार ७८३ जना आयुर्वेद थेरापी (पूर्वकर्म) सेवा, २१३ जना स्तनपायी आमा, २१७ जनाले योग सेवा, ५३७ जनाले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, र एक हजार १८६ जना कोभिड तथा पोष्ट कोभिड बिरामीलाई आयुर्वेद औषधि तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाले जनाएको छ ।केन्द्रका प्रमुख डा. चौधरीले आर्थिक वर्ष २०७७/०७८ मा पनौतीमा रहेको खरिबोट नागरिक आरोग्य केन्द्रबाट दुई हजार १८१ जना, नागरिक आरोग्य केन्द्र मण्डनदेउपुरबाट ५५१ जना, भुम्लु आरोग्य केन्द्रबाट ८१७ जना बिरामीले आयुर्वेद उपचार सेवा लिएका छन् ।यसैगरी दाप्चा आयुर्वेद औषधालयबाट पछिल्लो एक वर्षमा तीन हजार ९०७ जना, वालुवा आयुर्वेद औषधालयबाट दुई हजार १२१ जना, धुलिखेल आयुर्वेद औषधालयबाट दुई हजार ७७७ जना र मङ्गलटार आयुर्वेद औषधालयबाट छ हजार १३ जनाले आयुर्वेद उपचार सेवा लिएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख डा. चौधरीले कोरोना नियन्त्रण तथा रोकथामको लागि विभिन्न आयुर्वेद तथा जडिबुटीहरुको प्रयोग गरिएका कारण पनि जिल्लामा आयुर्वेद उपचार सेवा लिनेको सङ्ख्या बढेको बताउनुभयो । उहाँले कोभिडको समयमा स्थानीय तहसँग समन्वय गरेर गाउँ तहसम्म कार्यक्रमहरु गरिएको तथा पछिल्लो समय विभिन्न आयुर्वेद थेरापीहरु समेत सुरु गरिएकाले नागरिकको आकर्षण बढेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु