नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड सुरु


Mechikali

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
नमोबुद्ध नगरपालिकाको आयोजना र जनक माध्यामिक विद्यालयको संयोजनमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले अनुशासनका लागि खेलकुद अति महत्वपूर्ण रहेको बताए । ‘खेल हो खेलिन्छ, जितिदैन भने पनि व्यायाम हो’ प्रतियोगितामा सहभागी खेलाडी विद्यार्थीलाई हौसला प्रदान गर्दै उनले भने, ‘अहिलेदेखि नै खेलकद क्षेत्रमा सक्रिय हुने विद्यार्थीले हरेक क्षेत्रमा सफलता हासिल गर्ने क्षमताको विकास गर्छ ।’ गत बर्ष कोभिड–१९ का कारण खेलकुदका गतिविधि राम्रोसँग सञ्चालन गर्न नसकेको बताउँदै तिमल्सिनाले आगामी आर्थिक बर्षमा खेलकुद क्षेत्रमा पर्याप्तमात्रामा बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि जनाए । कला, साहित्य र खेलकुल क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिने उनले बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका उप्रमुख रामदेवी तामाङले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको भन्दै अनुशासित भएर शान्तिपूर्णरुपमा प्रतियोगितामा भाग लिन विद्यार्थीहरुलाई आग्रह गरिन् । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले थोरै बजेटलाई पनि पूर्ण सदुपयोग गर्दै खेलकुदका गतिविधि सञ्चालन गर्दै गइरहेको बताए । जीत हारमात्र नभई व्यक्तिगत एवं सामाजिक प्रतिष्ठाका लागि पनि खेलकुद आवश्यक रहेको पौडेलले बताए । मैत्रीपूर्ण भावनाका साथ खेल खेल्न पनि उनले विद्यार्थीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजालले व्यवसायिकरुपमा खेल क्षेत्रमा लाग्न विद्यार्थीहलाई आग्रह गरे । नगरपालिकाका धेरै विद्यालयमा खेल मैदान नहुँदा पनि खेल क्षेत्रलाई अगाडि बढाइरहेको उनले बताए । यसैगरी प्रतियोगिताका सदस्यसचिव प्रदिप पोखरेलले खेल क्षेत्रका लागि बजेट कम भएको गुनासो गरे । शिक्षासहित खेल क्षेत्रका लागि बजेटमा वृद्धि गर्न उनले सरोकारवालाहरुलाई आग्रह पनि गरे ।
प्रतियोगितामा नमोबुद्ध नगरपालिकाभित्र रहेका १५ वटा माध्यामिक विद्यालयमध्ये १३ वटा विद्यालयका कुल ४ सय ८० जना विद्यार्थीले सहभागिता जनाएका छन् । आइतबारसम्म प्रतियोगितामा एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कबड्डी, भलिबल, लङजम्प, हायजम्प लगायतका खेलका १५ वटा इभेन्टमा खेल खेलाइने जनक माविका शिक्षक हरिहर अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिताका विजयी हुने खेलाडीले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा नमोबुद्ध ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, नगरपालिकका विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु