नारायणकाजीलाई रोक्न गोरखाका माओवादी प्रचण्ड निवासमा


Mechikali

गोरखा– नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डपछिको दोस्रो नेता हुन् । त्यति मात्र होइनन् उनी पार्टी प्रवक्तासमेत हुन् । पछिल्लो समय देउवा सरकारमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने मेसोमा लागेका छन् । तर उनलाई रोक्न गोरखाका माओवादीहरु कस्सिएर लागिपरेका छन् । नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्नको लागि गोरखाका माओवादीहरु प्रचण्ड निवासमा डेलिगेसन गएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीका उम्मेदवार डा बाबुराम भट्टराइसँग पराजित भएका श्रेष्ठ पछिल्लो समय विवादमा तानिए । कारण उनी राष्ट्रिय सभामा ६ बर्षका लागि निर्वाचित भएका थिए । कतिपयले उनलाई जस्केलाबाट छिरेको समेत आरोप लगाए । श्रेष्ठले शिक्षा मन्त्रालय लिएर सरकारमा जाने कसरत गरेपछि उनलाई रोक्न गोरखाका माओवादी नेताहरु अध्यक्ष प्रचण्डको निवासमा डेलिगेसन गएका हुन् ।
गोरखा क्षेत्र न १ का प्रतिनिधि सभा सांसद हरिराज अधिकारीलाई मन्त्री बनाउन गोरखाका माओवादीहरु दबाब दिन प्रचण्ड निवास गएका हुन् । श्रेष्ठले शिक्षा मन्त्री बन्न खोजेको चर्चा चलेपछि गोरखाका माओवादीहरु आत्तिएर काठमाडौं आएका हुन् । श्रेष्ठ सकेसम्म आफैं हुने र आफू हुन नसक्दा आफ्नो कोटाबाट अन्जना विशंखेलाई शिक्षा मन्त्री बनाउने पक्षमा छन् ।
नारायणकाजी श्रेष्ठले आगामी चुनावमा राष्ट्रियसभाबाट राजिनामा दिएर भएपनि गोरखामै चुनाव लड्ने तयारी समेत गरेका छन् । यहि कारण गोरखाका माओवादीले नारायणकाजीलाई रोक्न चाहेका कुरा श्रेष्ठ निकट एक नेताले बताए ।
श्रेष्ठ पहिलो चरणमै उपप्रधानमन्त्री तथा भौतिक मन्त्री बनेर सरकारमा जान खोजेका थिए । तर अध्यक्ष प्रचण्डले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाएको कुरा सपथग्रहण भन्दा केही बेरअघिमात्रै पार्टीका नेताहरुले थाहा पाएका थिए । श्रेष्ठ प्रधानमन्त्री र मन्त्रीहरुको सपथग्रहणस्थलबाटै बाहिरिएका थिए । मन्त्री चयन गर्दा आफू र पार्टीमा सल्लाह नगरेपछि श्रेष्ठले दुई दिनसम्म प्रचण्डसँग असन्तुष्टी व्यक्त गरेका थिए ।
श्रेष्ठ सरकारमा माओवादीको तर्फबाट आफ्नो नेतृत्वमा जानुपर्ने लबिङमा छन् । तर माओवादीकै कतिपय नेताले प्रतिनिधिसभा सदस्य पराजित भएको व्यक्ति संविधान बमोजिम यो प्रतिनिधिसभाको कार्यकाल रहेसम्म मन्त्री बन्न नपाउने तर्क गरिरहेका छन् ।
पाए मन्त्री नपाए राज्यमन्त्री
उसो त गोरखाका अर्का समानुपातिक सांसद चुणामणी खड्का पनि यतिबेला मन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । आफूलाई प्रचण्डको नजिकको मान्छे ठान्ने उनी यतिबेला नारायणकाजी र हरिराजलाई जुधाएर मन्त्री बन्न चाहन्छन् । डेलिकेसनका लागि प्रचण्ड निवास पुगेका एक नेताले आफ्नो नाम नबताउने शर्तमा भने, गोरखाको माओवादी वास्तवमा नारायणकाजी र हरिराजलाई जुधाएर खड्कालाई मन्त्री बनाउन चाहन्छन्, तर जिल्ला पार्टीले चाहदैमा के मन्त्री बन्ला र !
सांसद खड्का बेला–बेलामा आफ्ना नेता तथा कार्यकर्तासँगको भेटका क्रममा बहकिने गर्थे– ‘अर्को चोटी सांसद बन्न सक्ने हो कि होईन ! ठेगान छैन, यो समयमा जसरी भएपनि मन्त्री बन्नु प¥यो । त्यसमा तपाईहरुले मलाई सहयोग गर्नुप¥यो । त्यसपछि माओवादी पार्टी गोरखाका नेता तथा कार्यकर्ता प्रचण्ड निवासमा बुढिगण्डकी निमार्णको बाँकि काम सञ्चालन गर्न भन्दै सांसदसहितको टोली प्रचण्ड निवास पुग्यो ।
प्रचण्ड निवास पुगेका एक नेताले भने – ‘प्रचण्ड कमरेडलाई यसपाली आयोजनाको बाँकि रहेको काम थाल्न आग्रह गर्दै कुरा मोडियो, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोरखाले मन्त्री समेत पाउन नसकेको र आयोजनाको काम अघि नबढेको कारण, यस पटक देउवा सरकारमा जसरी भएपनि गोरखाका माननीयहरु मध्ये हरीराजलाई मन्त्री बनाईदिनु प¥यो भनि अनुरोध गर्यौ । साथै आयोजनाको बाँकी रहेको काम देउवा सरकारकै पालमा अघि बढाउन र कुन मोडालिटिमा बन्ने हो, त्यसको टुङ्गो लगाउन अनुरोध गरियो ।
मन्त्रीको माग पछि राज्य मन्त्रीको पनि माग भयो, लामो समय जिल्ला पार्टीको सेक्रेटरी भएर काम गरेका सांसद खड्का नारायणकाजी र हरीराजलाई जुधाएर आफू मन्त्री बन्न चाहान्छन् । उनले पहिलै देखि पार्टीका प्रवत्तासमेत रहेका नेता श्रेष्ठ र सांसद अधिकारीलाई लडाँई रहेका छन् । यतिबेला उनको मन्त्री बन्ने योग्यता नपुगेपछि राज्य मन्त्रीमा ध्यान गएको छ ।
उनलाई भेट्न गएका जिल्ला तहका एक नेताले सांसद खड्काको भनाई उद्वत गर्दै भने, ‘मलाई जिल्ला पार्टीका साथीहरूले मात्रै होईन, नेपाली काङ्ंग्रेसका नेताहरुको पनि राम्रो साथ र सहयोग छ । उनीहरुले समेत मलाई भन्ने गरेका छन् अब मन्त्री त तपाईनै बनिदिनुपर्यो । त्यसले हामीलाई पनि सहज हुन्छ ।’ यहि कारणपनि खड्का भए मन्त्री नभए राज्यमन्त्रीमा चित्त बुझाउने तयारी गर्दै नारायणकाजी र हरिराजलाई लडाँई रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु