पतञ्जली आयुर्वेद मेडिकल कलेज बन्द हुँदा विद्यार्थीहरु मर्कामा


Mechikali

धुलिखेल– काभ्रेको धुलिखेलमा रहेको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले कलेज बन्द गरेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । कलेज प्रशासनले कलेज बन्द गरेपछि विगत एक महिनादेखि कलेजमा पढाई नहुँदा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीमा अध्ययनरत चार व्याचका विद्यार्थीहरु मर्कामा परेका हुन् । पतञ्जली आयुर्वेद मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा जस्तो सम्वेदनशिल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई बिना जानकारी एक महिनादेखि कलेज बन्द गरेका कारण आफुहरुको भविष्य अन्यौलमा रहेको भन्दै चाँडोभन्दा चाँडो कलेज खोल्न आग्रह गरेका छन् ।

विद्यार्थीहरुले आफुहरुले कलेजको विषयमा कुरा गर्न खोज्दा पतञ्जली योग पिठका जिम्मेवार व्यक्तिहरुबाट सरकारले विद्यार्थीहरुबाट लिने शुल्क घटाएको र चिकित्सा शिक्षा आयोगले चालु वर्षका लागि कलेजलाई अध्ययनका लागि कुनै सिट नदिएका कारण घाटामा कलेज चलाउन नसकिने अभिव्यक्ति दिएको विद्यार्थीको गुनासो छ । उनीहरुले छात्रवृति पाएका विद्यार्थीले कलेजमा बुझाएको रकम समेत कलेज प्रशासनले फिर्ता नदिएको आरोप लगाएका छन् ।
विद्यार्थीहरुले आफुहरुको एक÷एक दिनको पढाई महत्वपपूर्ण रहेको बताउँदै एक महिनादेखि पढाई नहुँदा आफुहरु तनावमा रहेको बताए । उनीहरुले सुरुमा पन्ध्र दिनपछि कलेज खुल्ने आश्वसन प्राप्त भएपनि महिना दिन बित्दा समेत कलेज नखुलेको बताए । ‘कलेजमा पढाई बन्द भएको ३३ दिनपछि पतञ्जली योग पिठ नेपालको काठमाडौँ मण्डिखाटारमा रहेको केन्द्रिय कार्यालयमा शान्तिपूर्ण प्रर्दशन गर्ने क्रममा हामीमाथि धरपकड गरियो’ पिडित एक विद्यार्थीले बताउनुभयो । ‘हाम्रा केही साथीहरुलाई तिमीहरुको भविष्य सकिदिन्छौँ भन्ने समेतको धम्की आएको छ’ उहाँले थप्नुभयो । ‘हामी स्वामी रामदेव र आचार्य बालकृष्णको नाम सुनेर अन्यत्र नाम निस्कँदा समेत यो पतञ्जली जस्तो पवित्र संस्थाले चलाएको कलेजमा अध्ययन गरौँन भनेर आयौँ तर यहाँ हामी आएदेखि नै आफ्ना अधिकारका लागि सङ्घर्ष गर्नुपरेको अवस्था छ’ नाम नलेख्ने शर्तमा अर्का एक विद्यार्थीले थप्न्ुभयो ।
कलेज बन्दपछि आन्दोलित विद्यार्थीले कलेज प्रशासनले भौतिक उपस्थितीमा अध्ययन गराउन नसकेको खण्डमा भर्चुअल विधिबाट नियमित रुपमा अध्ययन हुनुपर्ने, सबै ब्याचका विद्यार्थीहरुलाई प्रयोगाात्मक कक्षाको व्यवस्था गर्नुपर्ने, कलेजका विद्यार्थीहरुको लागि आवश्यक पर्ने प्रयोगशालालगायतको व्यवस्था हुनुपर्ने माग गरेका छन् । पिडित विद्यार्थीहरुले आफुहरुले कलेजको समस्याको विषयमा पतञ्जलीका मुख्य व्यक्तिहरुलाई गुनासो गर्दा समेत समस्याको समाधान नभएको आरोप लगाएका छन् । उनीहरुले आफुहरुको सुन्दर भविष्यमाथि कलेज प्रशासनले खेलवाड गरेको आरोप समेत लगाएका छन् । उनीहरुले आफुहरुले कलेजमा शुल्क नतिरेका कारण कलेज बन्द गरिएको भनिए पनि कलेज प्रशासनले शुल्क बुझाउन कुनै सूचना प्रकाशित नगरिएको बताएका छन् ।
कलेजका प्राचार्य डा. चन्द्रकिशोर यादवले बिहिबार सूचना जारी गर्दै २०७७ चैत २५ मा सूचना प्रकाशति गर्दै एक वर्षअघि बुझाउनुपर्ने शिक्षण शुल्क समयमा नै बुझाउन भनेपनि त्यसको वेवास्ता गर्दै सूचना प्रकाशित भएको चार महिनासम्म अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुँदा समेत विद्यार्थी तथा अभिभावकहरुले शिक्षक शुल्क नबुझाएको कलेज प्रशासनको आरोप छ । अभिभावक तथा विद्यार्थीले शिक्षण शुल्क नबुझाएका कारण २०७८असार १४ गते सूचना प्रकाशन गरी साउन १ गतेदेखि कलेजका सम्पूर्ण पठनपाठनका कामहरु बन्द हुने भनि चिकित्सा शिक्षा आयोगलाई पनि असार १३ गते नै जानकारी गराइएको सूचनामा उल्लेख गरेको छ ।
सूचनामा स्थिती र अवस्था सहज नहुँदा र सम्पूर्ण विद्यार्थीहरुले शुल्क नबुझाएसम्म कलेज बन्द रहने उल्लेख छ । उक्त कलेजले आर्थिक वर्ष २०७३÷०७४ देखि ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरीमा कक्षाहरु सञ्चालन गर्दै आएको छ । उक्त कलेजमा हाल एक सय एघार विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु