भकुण्डेबाट अलपत्र वृद्धको उद्धार


Mechikali

भकुण्डेबेशी–लामो समयदेखि नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा अलपत्र अवस्थामा रहदै आएका एक वृद्धको उद्धार गरिएको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनासहितका जनप्रतिनिधिको पहलमा आन्दाजी ७० बर्षका वस्तलाल श्रेष्ठलाई आज आइतबार उद्धार गरी मानव कल्याण समाज काभ्रेको धुलिखेलस्थित सेवा घरमा पठाइएको हो । नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थायी घर भएका ती वृद्ध झण्डै ३० बर्षदेखि बजार क्षेत्रमा मागेर गुजारा गर्दै आएका थिए । पछिल्लो समय उनको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेपछि मेथिनकोट अस्पतालमा उपचार गराई संरक्षणका लागि सेवा घरमा पठाइएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।
नमोबुद्ध नगरपालिका वडा नं. ८ का वडा सदस्य मनोजप्रसाद अधिकारीका अनुसार वृद्धको परिवारका कोही सदस्य पनि जीवित छैनन् भने उनको सम्पतिसमेत केही छैन । श्रेष्ठको उद्धारका लागि नगर प्रमुख तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ४ का वडा अध्यक्ष उवद्धप्रसाद काफ्ले, वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं लामा, वडा नं. ८ का वडा सदस्य मनोजप्रसाद अधिकारी लगायतको टोली पुगेको थियो ।
नमोबुद्ध नगरपालिकाले नगरपालिका क्षेत्रमा अलपत्र अवस्थामा रहँदै आएका सडक मानवको उद्धार गर्दै आइरहेको छ । यसअघि नगरपालिकाले चारजनालाई उद्धार गरी मानव कल्याण समाजको सेवा घरमा पठाइसकेको छ । नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउने अभियानअनुसार सेवा घरसँगको सहकार्यमा सडकमा अलपत्र व्यक्तिहरुको उद्धार गर्दै आइरहेको नगर प्रमुख तिमल्सिनाले बताए ।

प्रतिक्रिया



थप समाचारहरु