सडक वत्तीको १८ करोड भन्दा बढी रकम असुल गर्न बाँकी


Mechikali

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लामा रहेका स्थानीय तहले आफ्नो स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विद्युत प्रयोग गरे वापतको करोडौँ रुपियाँ विद्युत महसुल तिर्न बाँकी रहेको छ । जिल्लामा रहेको बनेपा, धुलिखेल, पनौती, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले सडक वत्ती प्रयोग गरे वापतको महसुल बुझाउन बाँकी रहँदा सडक बत्ती शिर्षकमा करोडौँ रुपियाँको बक्यौता देखिएको छ ।
काभ्रेमा रहेका स्थानीय तहहरुले नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रमार्फत सडक वत्ती प्रयोग गर्दै आएका छन् । प्राधिकरण बनेपा वितरण केन्द्र मातहत रहेका स्थानीय तहले सडक बत्ती प्रयोग वापतको १८ करोड दश लाख २४ हजार १६८ रुपियाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । प्राधिकरण बनेपाका अनुसार बनेपा नगरपलकाले सडक वत्ती वापतको पाँच करोड ९९ लाख ६६ हजार ९९८ रुपियाँ, धुलिखेल नगरपालिकाले पाँच करोड ७७ लाख ७२ हजार ६६८ रुपियाँ र पनौती नगरपालिकाले चार करोड ९८ लाख ३३ हजार १२५ रुपियाँ विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेको छ ।
यसैगरी प्राधिकरण पाँचखाल वितरण केन्द्रका अनुसार केन्द्र मातहत रहेको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । केन्द्रका अनुसार पाँचखाल नगरपालिकाले असार मसान्तसम्म करिब २५ लाख रुपियाँ र भुम्लु गाउँपालिकाले करिब तीन लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । केन्द्रले पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाबाट सडक वत्ती वापतको २७ लाख २१ हजार ३३८ रुपियाँ महसुल असुल गर्न बाँकी रहेको जनाएको छ । प्राधिकरण बनेपाका अनुसार बनेपा केन्द्र अन्र्तगत रहेका विद्युत प्रयोगकर्ताहरुबाट असार मसान्तसम्म ३२ करोड ९९ लाख ३१ हजार १०१ रुपियाँ रकम बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ ।
केन्द्रका प्रमुख ई. माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार ७११ रुपियाँ, गैह्र व्यापारिकबाट छ लाख २३ हजार ३२०, व्यापारिकबाट ५८ लाख ५९ हजार १५५ रुपियाँ, औद्योगिकतर्फबाट दुई करोड ४१ लाख ६१ हजार ३९८, खानेपानीको
११ लाख ३४ हजार २९३ रुपियाँ, सिञ्चाईको चार लाख ८७ हजार ५०६ रुपियाँ असुल गर्न बाँकी रहेको छ । यस्तै सडक वत्तीको १८ करोड दश लाख २४ हजार १६८ रुपियाँ, मेला महोत्सवमा प्रयोग गरेको अस्थायी वत्ती दुई लाख ५९ हजार ७९८, मन्दिरको पाँच लाख २४ हजार ५८८ रुपियाँ, सामुदायिकको आठ लाख ७८ हजार ७८६ रुपियाँ, गैह्र ग्राहस्थ ३२ लाख २६ हजार १७२ रुपियाँ, मनोरञ्जन (सिनेमा हल) ३४ हजार ३३७ र आन्तरिक खपत २४ हजार १३५ रुपियाँ बक्यौता बाँकी रहेको छ ।
प्राधिकरण पाँचखाल केन्द्रका अनुसार अनुसार व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, सरकारी सहुलियत, औद्योगिक, सिञ्चाई, गैह्र व्यापारिक, सडक वत्ती वापतको तीन करोड ८४ लाख ८१ हजार ९४८ रुपियाँ रकम बक्यौता बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु