सात सय एकहत्तर रोपनी जग्गामा औद्योगिक ग्रामको काम सुरु


Mechikali

काभ्रे– सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्य अनुरुप काभ्रेको काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा साविक गैह्रीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर ६) मा रहेको कित्ता नम्बर ४४७, ५२३ र ५२४ को करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामको लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले आर्थिक वर्ष २०७७÷०७८ को बैशाख महिनादेखि प्रदेश सरकारको सहयोगमा ग्राम निर्माणको काम सुरु भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ५० लाख रुपियाँमध्ये ७७ लाख रुपियाँको काम भएको बताउनुभयो । ‘प्रदेशबाट प्राप्त रकमबाट ग्रामको लागि छुट्याइएको जग्गामध्ये ७० रोपनी जमिनमा तारबार लगाउने, दुई कोठे पाले घर निर्माण र जग्गाको बनोट अनुसार जग्गा सम्याउने काम सम्पन्न गरेका छौँ उद्योग अधिकृत पुडासैनीले थप्नुभयो । उहाँले औद्योगिक ग्राम निर्मणको लागि नगरपालिकाले गैरीचौरमा रहेको ७७१ रोपनी जग्गा उपलब्ध गराएको बताउनुभयो । उहाँले प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ग्राम निर्माण गर्न पचास लाख रुपियाँ रकम विनियोजन गरेको बताउँदै उक्त रकमले ग्रामको लागि उपलब्ध भएको जग्गा सम्याउने काम गरिने बताउनुभयो । उहाँँले प्रदेश सरकारले गत वर्षको तुलनामा यस वर्ष बजेट कम राखेका कारण नगरपालिकाले ग्राम निर्माणको कामलाई तिव्रता दिनको लागि बहुवर्षिय योजनामा समावेश गर्न माग गरेको बताउनुभयो ।
‘नगरपालिकाले हाल बनिरहेको क्षेत्रलाई तीन सय रोपनीमा बिस्तार गरी बहुवर्षिय योजनामा समावेश गरी ग्रामको लागि आवश्यक पूर्वाधारको काम सम्पन्न गर्न आग्रह भएकोले प्रदेश सरकारलाई जानकारी गराएका छौँ’ उहाँले थप्नुभयो । उहाँले मण्डनदेउपुरमा निर्माण भईरहेको औद्योगिक ग्राममा एक सयदेखि दुई सय वटासम्म उद्योग स्थापना गर्न सकिने बताउनुभयो । उहाँले उक्त औद्योगिक ग्राम नेपालमा नै धेरै क्षेत्रफल रहेको ठुलो औद्योगिक ग्राम हुने दावी गनुर््भयो । उहाँले ग्रामको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) मा सम्पूर्ण काम पुरा गर्नको लागि करिब १८ करोड रुपियाँ खर्च हुने उल्लेख रहेको बताउनुभयो । उहाँले ग्रामको ७० रोपनी जमिनमा तारबार लगाउने, पाले घर निर्माण र जग्गा सम्याउने काम राज कन्स्ट्रक्सन प्रालिले गरेको बताउनुभयो ।
काभ्रे उद्योग बाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेले मण्डनदेउपुर नगरपालिकामा निर्माण भईरहेको औद्योगिक ग्रामको काम सम्पन्न भएपछि थुप्रै नागरिकले रोजगारी पाउने बताउनुभयो । उहाँले ग्राममा स्थापना हुने व्यवसाय हेरेर सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले ग्राम निर्माण सुरु भएको स्थानमा सयौँ रोपनी जमिन भएकोले ठुलाठुला उद्योगहरु स्थापना गरेर औद्योगिक क्षेत्रको रुपमा विकास गरी सोही अनुसारको सडक समेत निर्माण गर्नुपर्ने बताउनुभयो । सङ्घीय सरकारको सहयोगमा जिल्लाको पााँचखाल नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरपालिका औद्योगिक ग्राम निर्माणको काम भईरहेको छ ।

प्रतिक्रिया



थप समाचारहरु