चौंरीदेउरालीको माझीफेदामा उपाध्यक्ष चौंलागाईंद्वारा ‘वर्थिङ सेन्टर’ उद्घाटन


मेचीकाली

चौंरीदेउराली -मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको छ । बिहीबार गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले एक कार्यक्रमका बिच उद्घाटन गरेपछि सो वडामा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौंलागाईंले मातृशिसु स्वास्थ्य प्रति गाउँपालिका गम्भीर रहेको बताइन् । ‘गाउँपालिका मातृ शिशु स्वास्थ्य प्रति गम्भीर छ । कम जोखिम र पूर्ण स्वस्थताका साथ सुत्केरी कसरी गराउने भन्नेमा गाउँपालिका लागेको छ ।’ चौंलागाईंले भने, ‘जहाँ जहाँ आवश्यकता हुन्छ त्यहाँ ‘वर्थिङ सेन्टर’ स्थापना गर्ने हाम्रो प्राथमिकतामै परेको छ ।’

गाउँपालिका स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरूलाई समाधान गर्ने र व्यवस्थापन गर्ने सवालमा कुनै पनि हालतमा नचुकेको बताउँदै सो वडामा निर्माण भएको भवन अनुसारको थप सेवा दिन गाउँपालिका तयार रहेको उनले बताइन् ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङले गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा नयाँ तरिकाले विकास भएको बताउँदै वडा नं. ३ मा भने अरू वडामा भन्दा फरक हिसाबले भएको पाएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौंलागाईंले स्थानीय निर्वाचन पछि यस वडामा शिक्षा क्षेत्रमा निक्कै ठुलो प्रगति भएको बताउँदै माझीफेदामा स्वास्थ्य क्षेत्रमा पनि ठुलो फड्को मारेको धारणा राखे ।

सो ‘वर्थिङ सेन्टर’ मा वडा नं. ३, रामेछाप जिल्लाका विभिन्न बस्ती र छिमेकी वडाहरूलाई समेत सेवा दिने वडा अध्यक्ष विनोद घिसिङले बताए । उनका अनुसार सो ‘वर्थिङ सेन्टर’ मा ७ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

वडा अध्यक्ष घिसिङका अनुसार ‘वर्थिङ सेन्टर’ को लागि आवश्यक सामाग्री र पूर्वाधार वडाले तयार पारेको थियो । यस अघि सेन्टरको लागि स्वीकृत पाएको थिएन । हाल मन्त्रालयबाट स्वीकृत लिई सञ्चालनमा ल्याएको र गाउँपालिकाले हाल आवश्यक ५ जना कर्मचारीको समेत व्यवस्था गरेको घिसिङले जानकारी दिए ।

वडा अध्यक्ष घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि धनबहादुर लामा, अतिथिहरू वडा सदस्यहरू चित्रप्रसाद चौंलागाईं, भोजबहादुर गौतम, कुसुम लामा, बुद्ध हिमालय माविका प्रधानाध्यापक राजु चौंलागाईं लगायतका सहभागी थिए ।


प्रतिक्रिया



थप समाचारहरु