कोरोना कहर : काभ्रेमा सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुग्यो


मेचीकाली

बनेपा– कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाने क्रममा काभ्रेका सक्रिय संक्रमितको संख्या ३ सय नाघेको छ । आज ६४ जनामा संक्रमण पुष्टि भएसँगै काभ्रेमा सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको हो ।

काभ्रेमा पछिल्लो २४ घण्टामा १९९ जनाको पिसिआर र १८ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ६४ जनामा कोभिड १९ पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज काभ्रेमा निको हुने दर शुन्य रहेको छ । आजको तथ्यांकसँगै काभ्रेमा १५ हजार २ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने त्यसमध्ये १४ हजार ६ सय ८४ जना निको भएका छन् । यस्तै हालसम्म १ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरपालिकामा १ सय २१ र धुलिखेल नगरपालिकामा १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । हाल खानीखोला र तेमाल गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । कुल सक्रिय संक्रमितमध्ये १ जना जिल्लाबाहिर रहेका छन् भने ३ सय ४७ जना घरमै आराम गरिरहेका छन् । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । 

काभ्रेमा हालसम्म २ लाख १० हजार २ सय ७४ जनाले पूर्णमात्रामा खोप लगाएका छन् भने पहिलो मात्राको खोप लगाउनेको संख्या २ लाख १ हजार १ सय ९० रहेको छ । अहिले पनि जिल्लाका विभिन्न पालिका र स्वास्थ्य संस्थामा खोप लगाउने क्रम चलिरहेको छ । सरकारले सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरेपछि पछिल्ला केही दिनयता खोप लगाउनेको संख्यासमेत बढिरहेको छ । 




प्रतिक्रिया



थप समाचारहरु