एमालेको बिधान महाधिवेशमा ‘ब’ समेत उच्चारण भएन


मेचीकाली

बनेपा–  नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केहीदिन अघि गोदावरीमा भएको नेकपा एमालेको विधान महाधिवेशनमा विधानको ‘ब’ समेत उच्चारण नगरेको आरोप लगाएका छन् । नेकपा एकिकृत समाजवादी पार्टी काभ्रे जिल्लाको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले एमालेको विधान महाधिवेशनमा खसीबोका, कुखुराको भतेर खाने ठाउँ मात्रै भएको आरोप लगाए । अध्यक्ष नेपालले आगामी स्थानीय तहलगायतको निर्वाचनमा पाँच दलिय गठबन्धनसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै गठबन्धनमा रहेका दलसँग सुमधुर सम्बन्ध कायम राख्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमा पराजित मानसिकता देखिएको बताउँदै पछिल्लो समय उनले अदालतको मानमर्दन गर्ने, कानुन व्यवसायीलाई गाली गर्ने, नागरिक समाज, पत्रकारको हुर्मत लिने र निर्वाचन आयोग, सभामुखप्रति विष वमन गर्नुको साथै संसदमा नाराजुलुश गरेर तमासा देखाएको आरोप लगाए । उनले अहिले पनि केपी शर्मा ओलीले विगतमा भएको गल्ती स्विकार गर्छु, कुर्सी जोगाउन प्रधिनिधि सभा विघटन गरेर गल्ती गरे, पार्टीभित्र गल्ती काम गरे, आफ्नो सरकार भ्रष्ट्रचारमा डुब्यो त्यसको जिम्मेवारी म लिन्छु भनेर गल्ती स्विकार गरेको खण्डमा नयाँ ढङ्गबाट सोच्न सकिने बताउँदै उनले सच्चिने पक्षमा ओली नरहेको बताए ।
अध्यक्ष नेपालले समाजवादी पार्टीले पुरानो पार्टीको गल्तीको पुनरावृति नगर्ने बताउँदै पार्टीमा व्यक्तिवादलाई कुनै ठाउँ नहुने भएकोले सामुहिकताको भावनालाई प्रोत्साहित गरिने बताए । अघिल्लो सरकारले यति होल्डिङ्स्, झापाको चिया वगानको जग्गा, हवाइजहाज खरिद कोरोनाको खोप खरिद प्रकरण, ओम्नि इन्टरनेशनलको भ्रष्ट्राचार काण्डको ढाकछोप गरेको बताउँदै वर्तमान सरकारले विगतका भ्रष्ट्राचारका केशको छानविन गर्नुपर्ने बताए । देशमा नेकपा एमालेको कुनै भविष्य नभएको बताउँदै समाजवादीको भविष्य राम्रो भएकोले देशभरबाट समाजवादीमा आउने क्रम बढेको बताए ।
उनले नेकपा एकिकृत समाजवादी पार्टीको नेतृत्वमा बागमती र एक नम्बर प्रदेशमा मुख्यमन्त्रीसहितको सरकार बन्ने बताए । उनले लुम्बिनी र गण्डकी प्रदेश सरकारमा पार्टीको सहभागिता हुने बताउँदै समाजवादी पार्टी सुदुरपश्चिम प्रदेशमा एक नम्बरको पार्टी र दुई नम्बर प्रदेशमा एमालेभन्दा अघि रहेको दावी गरे । कार्यक्रममा एकिकृत समाजवादीका नेता शिवबहदुर देउजा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिव हुमागाँई, काँग्रेस जिल्ला सभापति मधु आचार्य, संविधान सभा सदस्य तेजबहादुर मिजार, नेकपा क्रान्तिकारी माओवादीका नेता कान्छाराम तामाङलगायतले आफ्नो भनाई राखेका थिए ।



प्रतिक्रिया



थप समाचारहरु