काभ्रेमा आठ हजार सात जनाको मतदाता नामावली सङ्कलन


मेचीकाली

बनेपा– आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान अन्र्तगत जिल्लामा आठ हजार सात जनाको नामावली सङ्कलन गरिएको छ । जिल्ला निर्वाचन अधिकृत उमेश राईले कार्यालयले मङ्सिर २६ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन गरेको दुई चरणको अभियानमा आठ हजार सात सय १३ जनाको नामावली सङ्कलन गरिएको जानकारी दिनुभयो । 

उहाँले पहिलो चरणमा अभियान सञ्चालन गरिएको अभियानमा रोशी गाउँपालिकामा २२१ जना, बेथानचोक गाउँपालिकामा ३५२ जना, खानीखोला गाउँपालिकामा ४७८ जना, बनेपा नगरपालिकामा ९४७ जना, पनौती नगरपालिकामा ८२३ जना र पाँचखाल नगरपालिकामा ५७८ जना गरी कुल तीन हजार चार सय जनाको नामावली सङ्कलन गरिएको बताउनुभयो । यसैगरी मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालन गरिएको दोस्रो चरणको अभियान अन्र्तगत जिल्लाको तेमाल गाउँपालिकामा २५९ जना, भुम्लु गाउँपालिकामा ४१८ जना, चौरीदेउराली गाउँपालिकामा ३२७ जना, महाभारत गाउँपालिकामा ८११ जना, मण्डनदेउपुर नगरपालिकामा ९१७ जना र नमोबुद्ध नगरपालिकामा ५७३ जना गरी दोस्रो चरणमा कुल तीन हजार ३०५ जनाको नामावली सङ्कलन गरिएको कार्यालयले जनाएको छ । 

यसैगरी अभियान सञ्चालन गरिएको अवधि भरमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा ६६३ जना, निर्वाचन कार्यालयमा एक हजार २१६ जना र जिल्ला बाहिरका नागरिक १२४ जनाको नामावली सङ्कलन गरिएको छ । निर्वाचन अधिकृत राईले आगामी निर्वाचनलाई लक्षित गर्दै आयोगको निर्देशनमा छुटेका मतदाताको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले निर्वाचन कार्यालयमा भने फोटोसहितको मतदाता नामावली सङ्कलनको काम भने जारी रहने बताउनुभयो । जिल्लामा अभियान सञ्चालन गर्नुअघि मतदाता नामावली दर्ता सङ्ख्या दुई लाख ९५ हजार ५७२ रहेका छन् जसमा महिला एक लाख ४५ हजार २६२ र पुरुष एक लाख ५० हजार ३०९ रहेका छन् ।


प्रतिक्रिया



थप समाचारहरु