काभ्रेमा एकसाथ तीनवटा ‘तौल पुल’ सञ्चालन


मेचीकाली

भकुण्डेबेशी– काभ्रे जिल्लाका तीन स्थानमा एकै दिन तीनवटा तौलपुल सञ्चालनमा ल्याइएको छ । 

नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी, पनौती नगरपालिकाको नैसकिन्टार र पाँचखाल नगरपालिकाको केराघारीमा स्थापना गरिएको तौलपुलको आज उद्घाटन गरिएको हो । भकुण्डेमा स्थापना गरिएको तौलपुलको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, पनौतीको नैकिन्टारमा स्थापना गरिएको तौलपुलको पनौती नगरपालिका प्रमुख भीम न्यौपाने र पाँचखालको केराघारीमा स्थापना गरिएको तौलपुलको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले उद्घाटन गरेका थिए । 

पुलको मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी तौल बोक्दा सवारी दुर्घटना र सडकमा समेत क्षति भएपछि तौलपुल राखिएको हो । अरनिको, विपी राजमार्ग र पनौती सडकमा गुड्ने मालबाहक सवारीसाधनलाई लक्षित गर्दै तौलपुल स्थापना गरिएको हो । नमोबुद्ध नगरपालिकामा कोटकालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालि र पनौती तथा पाँचखालमा ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेजले तौलपूल सञ्चालनमा ल्याएका हुन् । 

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधित) को व्यवस्थाअनुसार अनिवार्य रूपमा मालवाहक सवारीसाधनको भार मापन गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार विभागको अनुमतिमा तौलपुल सञ्चालनमा ल्याइएको छ । भकुण्डेबेशीको तौलपुलको उद्घाटन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले विपी राजमार्गमा हुने दुर्घटना न्यूनिकरण तथा राजमार्गमा बढी भारका कारण हुने क्षति रोकथामका लागि तौलपुलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस्तै पनौतीमा भएको कार्यक्रममा पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले मालवाहक साधनले क्षमताभन्दा बढी भार बोक्दा सडक जीर्ण भएको र दुर्घटनासमेत भएको भन्दै तौलपुल सञ्चालनमा ल्याएपछि सहज हुने विश्वास व्यक्त गरे । 


प्रतिक्रिया



थप समाचारहरु