आगामी निर्वाचनमा बलियो काँग्रेससँग प्रतिस्पर्धा गर्न चाहन्छौँ– बाँस्कोटा


Mechikali

काभ्रे– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको किचलोले गर्दा सोचे अनुरुपको काम अघि बढाउन नसकेको बताउनुभयो । काभ्रेको मण्डनदेउपुर नगरपालिका– १० मा आयोजित आर्थिक अनुदान तथा कृषि यन्त्र उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले जनताले पाँच वर्षको लागि निर्वाचनमा जिताएर पठाएपनि पाँच वर्षसम्म निरन्तर रुपमा सदन, संसद र सरकार चलाउन नदिइएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले संसदमा नयाँ नीति, कार्यक्रम ल्याउन नसकेको बताउँदै संसद हाइ काटेर बस्ने थलोको रुपमा रहेको बताउनुभयो । उहाँले काँग्रेस नफुटोस् भन्दै कमजोर काँग्रेससँग नेकपा एमाले प्रतिस्पर्धा नगर्ने बताउनुभयो । उहाँले एमाले बलियो काँग्रेससँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने बताउनुभयो । एमाले सरकार ढलाउन लागेका पाँच दलबीचको एकता आगामी निर्वाचनसम्म रहेको हेर्न चाहेको बताउनुभयो ।
उहाँले अदालतबाट टिका लगाएर बनाएको परमादेश सरकारले एमालेको सरकारले अघि बढाएका असल र सही कामहरुलाई अवरोध पु¥याइए त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । उहाँले एमाले नेतृत्वको सरकारले गरेका असल, सही कार्यहरुलाई खतम गरियो खण्डमा त्यसको प्रतिरोधर बिरोध गर्ने बताउनुभयो ।
‘अदालतबाट टिका लगाएर आएको परमादेश सरकारले बजेट ल्याउँदा अघिल्लो सरकारले ल्याएको बजेट काटेमा हामी जिम्मेवार हुने छैनौँ, हिजोको सरकारले ल्याएको राम्रो बजेट नकाट्नको लागि जनताले खबरदारी गर्न जरुरी छ’ बाँस्कोटाले थप्नुभयो । उहाँले अहिले पनि देशभर करिब १२ लाख जनताको एक टुक्रा जमिन नभएको बताउँदै भूमिहिन, अव्यबस्थित बसोबासी, दलित, जनजातिलाई जमिन दिन भुमि आयोग गठन भएपनि वर्तमान सरकारले त्यसलाई खारेज गरेकोमा आक्रोश व्यक्त गर्नुभयो । ‘एमालेले भूमि आयोगमा कार्यकर्ता भर्ती ग¥यो, आयोगका नाममा २२ करोड रुपियाँ खर्च गरेकोमा भुमि आयोग खारेज गरियो भन्ने काँग्रेसका सांसदहरुले कुरा गरेका छन्, बाह्र लाख नागरिकलाई छानोमुनी ल्याउने, जमिन दिने कुरा ठुलो की ? २२ करोड खर्च भयो भन्ने ठुलो कुरा हो ?’ नेता बाँस्कोटाले प्रश्न गर्नुभयो–‘बाह्र लाख जनतालाई रुवाएर काँग्रेसले समृद्धिको यात्रा तय गरोस् काँग्रेसलाई मेरो शुभकामना छ’ ।
उहाँले काभ्रे जिल्लाम तीन वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सडक, कृषि, सिंचाई, खानेपानी लगायतको क्षेत्रमा ४० अर्ब रुपियाँ भन्दा बढी बजेटको काम भएको बताउनुभयो । उहाँले जिल्लामा ३२ करोड बढीको सिंचाई आयोजनाका काम भईरहेको, खानेपानी, नगरकोट–हिंगुवापाटी सडक, हिंगुवापाटी–ज्याम्दी–दोलालघाट सडक खण्ड यसै वर्षदेखि कालोपत्रे सुरु हुने बताउनुभयो । उहाँले नेकपा एमाले तासको घर नभएको बताउँदै कसैले फु गरेर ढलाउन खोज्दैमा एमाले नढल्ने दावी गर्नुभयो । उहाँले काभ्रेको पाँचखालमा ३२ वटा विषयको अध्ययन गरिने मदन भण्डारी विश्वविद्यालय, दोलालघाटबाट इन्द्रावती नदीमा जलयात्राको काम गर्नको लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु