वर्तमान सरकार पाँच वर्षसम्म चल्छ– उपप्रधानमन्त्री पोखरेल


Mechikali

बनेपा– उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दावी गर्नुभएको छ । बनेपा नगरपालिकाको ४० औँ स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले देशमा राजनीतिक स्थायित्व कायम गर्नको लागि वर्तमान सरकार पाँच वर्षसम्म चल्ने बताउनुभयो । उहाँले यो सरकारले राम्रो काम ग¥यो गरेन भन्ने कुरा जनताले छिनोफानो गर्ने बताउँदै जनताहरु न्यायाधिश भएकोले जनताले गर्ने फैसलालाई सबैले मान्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पाखरेलले राजनीतिक अस्थिरताले थङथिलो भएको अवस्थामा जनतामा यो सरकार पाँच वर्षसम्म चल्ने विश्वास भएपनि केवल प्रधानमन्त्री फेर्ने, आफु प्रधानमन्त्री हुने उद्देश्य र कोही प्रधानमन्त्री भएको छ भने उसलाई बीचैमा ढाल्ने घिनलाग्दो खेल सुरु भएको बताउनुभयो । उहाँले सरकारलाई बीचैमा ढाल्ने हर्कतहरु सफल नहुने बताउँदै कोही कसैले बीचैमा सरकारलाई धक्का बाँधेर हटाउन खोजिए त्यो देशका लागि दुर्भाग्य हुने र आफुहरु त्यो दुर्भाग्य हुन नदिने बताउनुभयो । उहाँले देशका राजनीतिक अस्थितरताको सिलसिला चलेको खण्डमा देश उभोँ लाग्न नसक्ने र त्यसले जारी रहेको विकासलाई अवरुद्ध र राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामाथि आँच पु¥याउने बताउनुभयो ।
‘मिचिएको भूमी अब हाम्रो हो भनेर संविधान शंसोधन गराउनको लागि सबै राजनीतिक दलहरुलाई एक गराउने प्रधानमन्त्रीलाई अपदस्थ गर्ने षड्यन्त्र हुन्छ भने त्यो निन्दनिय कुरा हो’ उपप्रधानमन्त्री पोखरेलले थप्नुभयो । उहाँले सरकार राजनीतिक स्थायित्वको झण्डा बोकेर अघि बढ्ने बताउँदै राष्ट्रियतामा आँच पु¥याउने, विकास निर्माणको काममा अवरोध श्रृजना गर्ने, जनताको स्वाभिमान र स्वाधिनता कमजोर गराउने कुनै पनि क्रियाकलापहरु सरकारलाई मान्य नहुने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपाली नारा निर्वाचनको दलहरुलmे नेताहरुले नारा लगाउने विषय मात्रै नभई राजनीतिक सङ्कल्प भएको बताउँदै कुनै एउटा पार्टीको मात्रै नभई सबैको साझा सङ्कल्प रहेको बताउनुभयो ।
उहाँले स्थानीय सरकारले जनतामा रोजगारी श्रृजना गर्नको लागि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले रोजगारी र उत्पादनमा जोड नदिएको खण्डमा देशमा रहेको जनशक्ति पलायन हुने भएकोले यसलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले काभ्रेको धुलिखेल, बनेपा र पनौतीको एकिकृत विकासको योजना बनाउनुपर्नेमा जोड दिँदै एकिकृत विकास योजना आएको खण्डमा सरकारको तर्फबाट आगामी वर्षको बजेटमा समावेश गराउन आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं वादेले निर्वाचनको समयमा आफुले गरेका प्रतिवद्धताहरु पुरा गर्ने कामहरु भैरहेको बताउनुभयो । उहाँले नगरको चण्डेश्वरी मन्दिरबाट गोसाईस्थानसम्म जानको लागि करिब १४ सय सिँढी निर्माण गर्ने, विभिन्न सडकहरु कालोपत्रे गर्ने, स्तारोन्नती गर्ने, खानेपानीको ब्यवस्था गर्ने लगायतका कामहरु निरन्तर रुपमा अघि बढेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका पूर्व प्रमुख डा. सुरेन्द्र वादे, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाल सापकोटाले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा बनेपा ताराबाट जनआन्दोलनका घाईते मुकेश कायस्थलाई नगद दश हजार रुपियाँसहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाको नगर गान, नगरको लोगो समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु