आफुसँग चुनाव लड्न माधव नेपाललाई बाँस्कोटाको चुनौती


मेचीकाली

बनेपा– नेकपा एमालेका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले काभ्रे आएर आफुसँग चुनाव लड्न नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् । बनेपामा शनिवार आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् । उनले सूर्य चिन्हबाट प्रदेश सभामा निर्वाचिन भएका दुई प्रदेश सांसदलाई एमालेका वडा सदस्यले हराउने दावी गर्दै चार महिनापछि आउने चुनावमा आफ्नो वडामा चुनाव जितेर देखाउन चुनौती दिए ।
पूर्वमन्त्री समेत रहेका नेता बाँस्कोटाले प्रदेश सांसदलाई हराउन वडा सदस्य नै काफी रहेको बताउँदै उनीहरुको ठुलो नेता माधव नेपाललाई काभ्रे आएर आफुसँग चुनाव लड्न चुनौती दिए । उनले माधव नेपालसँग चुनाव लड्ने चुनौतीको सामना गर्न एमाले काभ्रे, युवा, विद्यार्थी, महिला, उत्पिडित नागरिक त्यसको सामाना गर्न तयार रहेको बताए । उनले आफुमाथि भ्रष्ट्रचारको आरोप लागेको बताउँदै राज्यका नियमनकारी निकायलाई आफुमाथि लागेका आरोपको पुष्टि गर्न चुनौती दिँदै आरोप पुष्टि भएको खण्डमा कठघरमा उभिन तयार रहेको बताए । नेता बाँस्कोटाले पार्टीको झ्याल, ईट्टा बेचेर खाने, पद छोडेको तीन वर्षसम्म घर भाडा राज्यबाट तिराउनेहरुले अर्कोलाई भ्रष्ट्रचारको आरोप लगाउने कुनै नैतिक आधार नरहेको बताए ।
कार्यक्रममा नेता बाँस्कोटाले एमालेलाई दिएको मत शेरबहादुर देउवालाई बेच्नेहरुले आफुमाथि प्रश्न उठाउने हैसियत नभएको बताए । उनले एमालेको भोट काँग्रेसलाई भोट बेच्नेहरु महाभ्रष्ट्रचारी देश बेचुवाहरु भएको आरोप लगाए । नेकपा एमाले निर्माण, विकास र सामाजिक न्यायको पार्टी भएको दावी गर्दै पार्टी फुटले काभ्रे एमालेको रौँ पनि नहल्लिने दावी गरे । उनले काभ्रेका १३५ वटै वडामा एमालेको संगठन बनेको बताए । उनले काभ्रे एमाले एक ढिक्का रहेको बताउँदै आगामी निर्वाचनमा पार्टी छाडेर जानेहरुको जमानत समेत जफत हुने दावी गरे ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी अध्यक्ष प्रचण्डले कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्ने काम गरेको आरोप लगाउँदै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र राष्ट्र हितको पक्षमा काम गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफु लागेको बताए । उनले विभिन्न पार्टी छोडेर जाने नेताहरु विलय हुने दावी गर्दै नेपालमा अन्ततः एमाले र नेपाली काँग्रेस दुई पार्टी मात्रै रहने बताए । उनले एमालेका विरुद्धमा एउटा पार्टीले मात्रै केही गर्न नसक्ने भएकोले प्रतिपक्षमा रहेको एमालेका विरुद्ध महागठबन्धन बनाइएको आरोप लगाए ।
कार्यक्रममा संविधान सभाका सांसद रामहरि सुवेदी, प्रतिनिधि सभा सदस्य नविना लामा, रेशम लामा, प्रदेश सभा सांसद गोमा भूर्तेल, चन्द्र लामाm एमाले बागमती प्रदेश सदस्य नारायण बानिँया, एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुलगायतले एमालेले अघि बढाएको गतिविधिका बारेमा आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु