पनौती-४ मा एमालेले देखायो आफ्नो शक्ति


मेचीकाली

पनौती– नेकपा एमाले पनौती नगरपालिका ४ नम्बर वडा कमिटीले वृहत चुनावी ¥याली गरेको छ । ¥यालीमा सयौंको संख्यामा वडावासीको उपस्थिती रहेको थियो । पनौती नगरपालिका–४ स्थित पुरानो वडा कार्यालयबाट सुरु भएको ¥याली ठाडोबाटो, एैरिगाउँ, पुलबजार, ज्यालापाटी, खरिबोट, पनौती बसपार्क हुँदै पुनः वडा कार्यालयमा नै आएर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई नेकपा एमाले वागमी प्रदेश कमिटी उपाध्यक्ष एवं संविधानसभा सदस्य रामहरी सुवेदी, नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई, उप–प्रमुख उम्मेदवार गीता बञ्जारा, वडा अध्यक्षका उम्मेदवार दीपक दाहाल, एमाले नेता नकुल श्रेष्ठ, पुर्णकुमार श्रेष्ठ, भिमसेन आचार्य लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य एवं एमाले वागमती प्रदेशकमिटी उपाध्यक्ष रामहरी सुवेदीले पनौती न्यायप्रती, विकास र परिवर्तन चाहने जनताको बसोवास रहेको पवित्र भुमि भएको बताए । नेकपा एमाले राष्ट्रियताको पक्षमा, सवल अर्थतन्त्रको पक्षमा, जनताको सशक्तिकरणको पक्षमा र सामाजिक विभेदको विरुद्धमा लड्दै आएको उनको भनाई थियो । यो निर्वाचन परिवर्तन चाहने र प्रतिगामीबीचको लडाई भएको उनले बताए । स्थानीय चुनावमा गठबन्धनले जितेमा राष्ट्रियताको आवाज कमजोर हुने सुवेदीले बताए । वडा अध्यक्षका उम्मेदवार दीपक दाहाल विकास प्रेमी नेता भन्दै उनले एकपटक काम गर्ने मौका दिन आग्रह समेत गरेका छन् । यस्तै उप–प्रमुख पदका उम्मेदवार गिता बञ्जाराले एमाले नगरवासीको हक अधिकार र समृद्धिको एजेण्डा सहित चुनावी मैदानमा रहेको बताइन् । 

कृषक पेन्सन, उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था, सहज स्वास्थ्य पहुँच, स्वास्थ्य बिमाका कार्यक्रम लिएर आफुहरु जनताको घरदैलोमा आएको उनको भनाई थियो । शुसासन आयआर्जनका कार्यक्रममा आफ्नो प्राथमिकता रहने बञ्जाराले बताइन् । गठबन्धनले महिला हक, अधिकारमाथी कुठाराघात गरेको उनको आरोप छ । निवर्तमान उप–प्रमुख समेत रहनुभएकी बञ्जाराले एमालेलाई जिताएमा मात्रै सबैको अधिकार सुनिश्चित हुने बताइन्  । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार दिपक दाहालले आफुहरुको एउटै एजेण्टा विकास र समृद्धि भएको बताए । वडावासीको अपार साथ, सहयोग र मायाले एमालेको जित सुनिश्चित भएको उनको भनाई छ । 



प्रतिक्रिया



थप समाचारहरु