हेर्नुस् महेश खरेलको त्यो घोषणापत्र : एउटै योजना भएनन् पुरा


मेचीकाली

पाँचखाल–स्थानिय निर्वाचन २०७४ मा पाँचखालमा नेपाली काग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार बनेका महेश खरेलले आफू पाँचखालको विकासका लागि अमेरिकाबाट फर्किएको र पाँचखाललाई अमेरिकी मोडलमा विकास गर्ने सपना बाँडे । उनको सपनामा विश्वास गरेर पाँचखालबासीले खरेललाई नगर प्रमुखमा निर्वाचित गराए, तर पाँच बर्षको कार्यकालमा चुनावमा गरेका प्रतिवद्धता पुरा गर्न भने खरेल असफल देखिएका छन् ।

आफुलाई धेरै काम गर्ने मेयरको रुपमा चिनाउन खरेलले देशका प्रतिष्ठित मानिने सञ्चारमाध्यमहरुको प्रयोग गरेर प्रपोगाण्डा गरेपनि २०७४ को चुनावमा सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्र बमोजिम पाँचखालमा काम गर्न पूर्णरुपमा असफल भएका हुन् । २०७४ सालमा उनले गरेका प्रतिवद्धता र अहिलेसम्म भएका कार्यान्वयनको विषयमा अहिलेसम्मको वास्तविकता यस्तो छ । 


खरेलको नारा थियो : एक घर एक धारा व्यवस्था गरी स्वच्छ खानेपानी उपलब्ध गराउने 

यसतर्फ नगरपालिकाले कुनैपनि पहल गरेको देखिदैंन । संघीय सरकारले बृहत पाँचखाल खानेपानि आयोजनाको लागि बजेट बिनियोजन गरेर काम अगाडी बढाएको छ । उक्त खानेपानी योजनाका अध्यक्ष तथा कांग्रेसनेता कुमार प्रसाद लामिछानेले मेयरले खानेपानी आयोजनालाई कुनैपनि सहयोग नगरेको र खानेपानी आयोजना निर्माणको वातावरण धमिल्याउन खोजेको भन्दै आपत्ती जनाएको भिडियोसमेत सार्वजनिक भएको छ । संसद विकास कोष र प्रदेश सरकारको योजनामा पाँचखालभित्र स–साना खानेपानि योजना सञ्चालन भएको भएपनि नगरपलिकाको तर्फबाट यसतर्फ कुनै चासो देखाएको देखिएन ।


खरेलको अर्को प्रतिवद्धता थियो : पाँचखाल चक्रपथ निर्माण गर्ने 

घोषणापत्रमा उल्लेख भएपनि चक्रपथ निर्माणमा पनि खरेल असफल देखिएका छन् ।  नयाँ सडकहरु निर्माण गर्नु त कता हो कता केपी ओली नेतृत्वको सरकारले बजेट विनियोजन गरेको झिगुखोला करिडोर लगायतको सडक आयोजनाहरुको बजेट देउवा सरकारले काट्दा समेत कुनै पहल गर्न सकेनन् ।


कृषिमा पनि गफमात्रै : कृषिमा सहुलियत कर्जा तथा अनुदान दिने, दुधको पाउडर वनाउने तथा दाना उद्योग खाल्ने र किसानको आय दोव्वर बनाउने 

विगत ५ वर्षमा कृषिमा सहुलियत कर्जाको वारेमा धेरै प्रचारबाजी गरिएपनि यसवाट कुनैपनि किसान लाभान्वित भएको पाइदैन, अझै अनुदानको हालत त के छ भने पाँचखाल नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको आफन्तलाई मात्रै अनुदान वितरण गरिएको भनेर पत्रपत्रिकामा प्रमाणसहितका समाचारहरु आएका थिए । नगरपालिकाले अनुदानमा दिने ट्याक्टर लगायतका कृषि औजारहरु समेत व्यपारीको पसलमा पुग्ने गरेको जनगुनासो छ । खरेलले चुनावमा प्रतिवद्धता जनाएको पाउडर दुध बनाउने तथा दाना उद्योग खोल्ने विषयमा नगरपालिकाले केही काम गरेको छैन भने किसानको आय दोव्वर बनाउँछु भन्ने कुरापनि हावादारीसावित भएको छ ।

 

अस्पताल खोई : कम्तिमा ५० शैयाको सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको अस्पताल निर्माण 

मेयर खरेलले नयाँ अस्पतालको निर्माणको प्रतिबद्धता समेत चुनावी फण्डा भएको प्रमाणित भएको छ । भएका स्वास्थ्य चौकीहरु समेत राम्रोसँग सञ्चालन गर्न नपरपालिका असक्षम देखिएको छ । बरु सँगै जोडिएको मण्डनदेउपुर नगरमा समेत सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आइसकेको छ । पाँचखालबासी भने सामान्य स्वास्थ्य उपचारका लागि कि त निजी क्लिनक धाउनुपर्ने बाध्यतामा छन् कि त धुलिखेल या बनेपासम्म पुग्नुपर्ने बाध्यता रहेको छ । 


महिलाका लागि पनि केही भएन : महिलालाई राजनीतिको मुल प्रवाहमा ल्याउने 

खरेलले चुनावमा महिलालाई राजनीतिको मुल प्रवाहमा ल्याउने घोषणा गरेका थिए । यसलाई खरेल र उनको पार्टी अनि सहयात्री दलहरुले समेत लत्याएका छन् । नेपालको संविधानले तोकेको व्यवस्थाअनुसार नगरको प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्थालाई लत्याएर गठबन्धनको नाममा दुई पुरुष हल बाधेंर भोट माग्न हिडिरहेका खरेलले महिलालाई कति राजनीतिको मुल प्रवाहमा ल्याए ? जनतासामू छर्लंग छ ।


अर्को हावादारी कुरा : झिगु खोलामा कृत्रिम पोखरी निर्माण गरी मत्यपालन गर्ने तथा डुंगा सयरको व्यवस्था गरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने ः

अहिले पनि नेपाली कांग्रेसबाट नगर प्रमुख पदको उम्मेदवार बनेका खरेलले ५ वर्षअघि गरेको प्रतिवद्धता चुनावि स्टन्ट मात्रै देखियो । झिगुखोलामा न कृत्रिम पोखरी बनेको छ न माछापालन नै भएको छ । पाँचखालमा बोटिङ गर्ने कुरा जनताले कसरी पत्याउन्, जुन खरेलले बाँडेको सपनामात्रै थियो । 


अनि हावामै हरायो फ्रि वाईफाई

यो योजना पनी हावादारी गफ वाहेक केही देखिएन । पाँचखालबासीले अहिले महंगो शुल्क तिरेर इन्टरनेट चलाउन बाध्य भएको कुरा कसैसामू लुकेको छैन । 

हामीले खरेलको चुनावी पर्चा पनि सँगै राखेका छौं । पर्चामा उल्लेख भएअनुसार खरेलले आफ्नो पुरै कार्यकालमा प्रतिवद्धता अनुसारको केही काम नगरेको पाईयो । खाली संघ र प्रदेश सरकारले हालेका योजना र वजेटहरुमा फित्ता समायर घुम्ने र मिडियामा प्रचारवाजी गर्ने गरेको मात्रै पाइएको छ । 


हेर्नुस् खरेलको त्योबेलाको चुनावी प्रतिवद्धता



प्रतिक्रिया



थप समाचारहरु