पहिलो दिन साना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराए


मेचीकाली

काभ्रे– बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन दर्ताको पहिलो दिन काभ्रेका १३ वटै स्थानीय तहमा साना दल तथा स्वतन्त्र उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १३ स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयले आईतबार साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जनाएका छन् । मनोनयन दर्ताको पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), मंगोल नेशनल अर्गनाइजेशन, नेपालको लागि नेपाली पार्टी, उन्नत लोकतान्त्रिक पार्टी र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । 

पहिलो दिन जिल्लाका स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी दिने उम्मेदवारको खासै चाप नभएको जनाएका छन् । आईतबार निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा प्रमुख, प्रमुख, वडा अध्यक्ष र सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बनेपा नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य पदका लागि ६७ जना, नमोबुद्ध नगरपालिकामा दुई साना राजनीतिक दलका सात जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी पनौती नगरपालिकामा पनि आईतबार ठुला दलका तर्फबाट उम्मेदवारी दर्ता गर्नका लागि कुनै उम्मेदवार नआएको निर्वाचन अधिकृतको कार्यालय पनौतीले जनाएको छ । 

पहिलो दिन आईतबार उम्मेदवारी दर्ता गराउने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम भएपनि सोमबार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतका दलले पनि उम्मेदवारी दर्ता गराउने भएकोले सोमबार उम्मेदवारी दर्ता गराउनेको भिड लाग्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु