Tuesday, 20 February 2018 03:36 am, Nepal

तारा गन्दै सुतेको रात

महेश्वर नेपाल : 2011-05-03 10:09:50


–महेश्वर नेपाल

सप्ताहन्तको अन्तिम दिन अर्थात बिहीबार, यो दिन अफिस पनि अरुदिन भन्दा छिट्टै विदा हुने र शुक्रबार पुरा दिन छुट्टि भएकाले कता जानेहोला भन्ने कुनै योजना नै बनाउन सकिरहेको थिईन । दोहाको कोलाहाल र ब्यस्त  वातावरणबाट केही टाढा गएर बस्न मन लागीरहेको थियो ।  जाने ठाउँहरु त धेरै थिए तै पनि बिना योजना बसिरहेको बेलामा गोरखाली साथी राजेश्वरले फोन गरेर बेलुकाको योजना बारे प्रस्टयाए पछि ढुक्क लाग्यो ।

उनीलाइ बिहानै रामेछापका रेबत दाईले फोन गरेर बेलुकाको योजना भनिसकेका रहेछन् । रेवत दाजु साउदी कतार, कुबेत र इराक गरी झण्डै डेढ दशक बिताइ सकेका अनुभवी हुन । उनले खाडीमा देखेका र भोगेका केहि कुराहरुको अंश देबेन्द्र भट्टराईद्धारा लिखीत चर्चित पुस्तक रेगिस्तान डायरीमा समेत पढ्न पाइन्छ । दिउँसोको चारबजे तिर सहयात्री राजेश्वरलाई भेट्न कान्तिपुरको कार्यालय दोहा जदिद तर्फलागे । त्यहाँ एकैछिन बसेर हामी दुवै नेपालीहरुको शुक्रबारे कार्यालय (जैद्धा पार्क) तर्फ लाग्यौ । दोहा स्थित नेशनललाई यस अर्थमा शुक्रबारे कार्यालय भनिएको होकि यहाँ हरेक शुक्रबार विभिन्न नेपाली संघ संस्थाहरुको बैठक बस्ने गर्दछ ।

बढ्दो गर्मीसंगै साँझको समय भएर होला वातावरणले समेत साथ दिईरहेको थियो । पार्कमा बसेर केहि फोटोहरु खिच्दै गर्दा कान्तिपुर कतार संवाददाता दिनेश रेग्मीसरको फोन आयो र रेवतदाइ हामीलाई लिन दोहा तर्फ आउँदै गरेको जानकारी गराउनु भयो । त्यहि समयमा राजेश्वरको मोवाइलमा कविजीको फोन आयो । उहाँले बेलुकी मलाई र राजेश्वरलाई  उहाँको रुममा आउन आग्रह गर्नुभयो । कविजीकोमा गए मजेरा (तरकारीबारी, बगैचा गोठ ) तिर जान नपाइने कविजीकोमा नगए बुढाको कतार बसाई सकिन लागेको छ । दोधारमा पर्नु परियो तर जाने मान्छे रिसाए पनि केहि हुँदैन भन्ने सोचेर घुम्न जाने अवसर नगुमाउने निर्णय गरियो । राजेश्वर मजेरा नजाने भए पछि म पनि नजाने भनेर अडान लिएर बसे  । रेवतदाइहरु पनि आई पुग्नुभयो र लाग्यौ दिनेश सरलाई लिन । दिनेश सरले शुक्रबार बिहानै इन्जिनीयर एसोसिएसनले समुद्रिकिनार सफाई (वीच क्लिन)को कार्यक्रम राखेकाले बिहान साँढे सातबजे दोहा आइपुग्नु पर्ने जानकारी गराउनु भयो ।

दोहाबाट हिड्दै सांझको साढे ७ बजिसकेको थियो बेलुकीको ।  दिनेश सरलाइ बिहानै दोहा आइपुग्नु पर्ने भए पछि राजेश्वर पनि जान सहमत भयो । अनि हामी लाग्यौ दोहाबाट एनखालिद  तर्फ त्यहाँ एकजना सबैका ज्बाईं रहेछन । उनलाई भेटेजति सबैले ज्वाईं सम्बोधनले बोलाउँदा रहेछन । नाम सोधिएन र, हामीले पनि ज्बाईं सम्बोधनले नै बोलाउन थाल्यौ, रामचन्द्र थापा दाई थापाकाजि, रेबत दाई यिनीहरु सहितको टोली अगाडि बढ्यो ।

सनैयाबाट अरु दुईचार जना साथी उठाउनु पर्ने भएकाले सनैयातर्फ लाग्यौ हामीहरु । जहाँ झापाका जयराज भट्टराई मोरङका सुवास कोइराला हामीलाई कुरेर बसिरहेका रहेछन् । हामीहरुको यो टोली पाँचमहिना पछि फेरि एकै पटक भेला भएको हो । पाँच महिना अघि यसैगरी घुम्न गएका थियौं त्यस बेलाका केहि साथीहरु नेपाल कुदिसक्नु भएको छ अहिले । बाटाभरि कहिले रेवत दाईका ठट्यौली गफ त कहिले थापासरका कामकाजी कुरा अनि कहिले दोहा सनैयाको अन्ताक्षरी भन्दै राजेश्वर र म एकातिर जयदाई र सुवास अर्काेतिर भएर अन्ताक्षरीमा रमाउँदै दोहाबाट करिब ९० किमी टाढा अलरकिया तर्फ हुइिकीन शुरु ग¥यौ ।

६ लेनको शान्त सडक मस्त निन्द्रामा सुते जसरी लमतन्न परेर सुतेको छ । आहा कति मज्जा न त काठमाण्डौंको जस्तो घन्टौं सम्मको जामको टेन्सन छ न त तेल नपाइने होकी भन्ने टेन्सन । बिन्दास पारामा छौ सबैजना । खसी लीएर एक टोली दिउसै सहानिया उँट रेसबाट केहि किलोमीटर भित्र रहेको मजेरामा पुगिसकेको जानकारी रेवतदाईबाट थाह पाएका थियौं ।

अलरकिया  स्थित विशाल घाँसे मैदानमा रातको साँढे ९ बजे पुगेका छौ हामीहरु । त्यहाँको घाँसले २ हजार वटा अष्ट्रेलियन जातका गाईहरु पालीएको जानकारी साथीहरुले गराउँदै थिए । घाँसे मैदानमा अधिकांश नेपाली दाजुभाईहरु कार्यरत रहेका छन् । यस भन्दा अगाडि कान्तिपुर दैनिकका पत्रकार देवेन्द्र भट्टराई सरको नेतृत्वमा यस ठाउँमा आएको थिए म करिब पाँच महिना पहिले । त्यतिबेलाको रमाइलो क्षण आँखाभरि नाचिरहेछ । सुवास र पोखरा तिरका एकजना दाई को नाचको तारिफ गाडिमा हँुदै छ अहिले पनि ।

इलाम पशुपतिनगरका दाबा दाईलाई लिएर हामीहरु अलरकिया घाँसे मैदान बाट साहनिया तर्फ हुइकियौं । रमाइलो गफ गाफमा रम्दै अनि रमाउँदै । मेन सडकलाई छाडेर मरुभूमि नै मरुभूमि हाम्रो यात्रा बढि रहेको छ । रातको समयमा मरुभुमिको बिच भागमा बिजुलि छैन  विजुली वत्तीको समस्याले गर्दा गाडिबाटै हामीले  केहि पर वत्तीको उज्यालो देख्यौ   र लाग्यो त्यतै तिर ।

दुईवटा कुकुरहरु भुक्दै दौडदै आए । हामीहरु गाडी भित्र थियांै त्यहि भएर डर भने लागेन । मजेरामा पुग्दा भने यस्तो लाग्दथ्यो आफनै गाउँघर तिर रहेको जस्तो भान पैदा हुन्थ्यो । मकिना (जेनेरेटर) बिग्रीएको रहेछ दिउँसो आएका एकटोली साथीहरु खाना बनाउने चटारोमा रहेछन लाल्टिन बालेर । लौ लोडसेडिङ् रहेछ आज त यता भन्दै म त्यहि लाल्टिनको फोटो खिच्न लागे । कतार आएको २२ महिनासम्म लाल्टिन देख्नु परेको हैन (कान्तिपुर टेलिभीजनमा लाल्टिन बुलेटिन र गिफ्ट पसलहरुमा बाहेक) बाल्नु परेको हैन । साथीहरु दिउँसै गएका भनिए पनि बाटो भुलेर हैरानी पाएछन र साँझमा मात्रै पुगेका रहेछन ।

क्याम्प फायर गर्ने भन्दै साथीहरु दाउरा बटुल्न थाले फुर्बादाइले ढालेको रुख देखाइदिएपछि बन्चरो लिएर टुक्राउन लागे अन्त्यमा केहि नलागे पछि ढलेको सिंगो रुखलाई नै मोविल हालेर बाल्न लागीयो । रेगिस्तानी घामले सुकेर जरखरिएको रुख हुरहुरि बल्न थाल्यो । उता क्याम्पका फुर्वादाइ भने चाडवाडमा छोरी चेली आए पछि बा आमा खुशी भए भन्दा पनि ज्यादा खुसि देखीन्थे । हामीहरुको उपस्थितिले । दूरदेशमा आएर हप्ता दिनभरको कामको बोझलाई एकातिर थन्क्याएर यसरी रमाइलो गर्नुको मज्जा नै बेग्लै थियो ।

खाना तयार भएको संकेत आएपछि भोकले अतालीएका हामीहरु खानाखान भान्सातिर लाग्यौ । रेवतदाइको चर्तिकला देख्दा  हाँसो थाम्नै सकिएन त्यसमाथि पनि राजेश्वरको हाँसोले जमिन नै थर्कन्छ । त्यहिकुरा मनभित्रै दवाएर साथीहरुको हाँसोमा हाँसियो मजेरा थर्कने गरी ।

भयो के भने नाङला जत्रो थाल लिएर रेबत दाईले ५ जना लाई खाना एकै ठाउँमा खाना हाले । हुन त यतातिर अर्थात मुस्लीम दाजुभाइहरुले यसैगरी एउटै बडेमानको थालमा राखेर वरिपरि बसेर खाने चलन पनि रहेको छ । लाल्टिन बालेर रातको एकबजे खाना खाइयो दोहा आएछि सम्भवतः यो नै पहिलो रेर्कड हो राती यति ढिलो खाना खाएको । केहि साथीहरु क्याम्प फायर गर्न ब्यस्त भए भने आफुलाई त सबेरै उठेर दोहा चलान हान्नु पर्ने भएकाले बाहिर राखिएको खाटमा आकाशको तारा हेर्दै  सुत्न तर्फ लागे । नयाँ ठाउँ नौलो अनुभव बाहिर सुत्नुको मजा बेग्लै थियो मलाई  ।

दिनभरी चर्को घाममा तरकारी बारीमा गोडमेल र बाख्राहरुको भरण पोशण गर्नु पर्ने र गर्मीको कारणले रातमा समेत प्राय बाहिरै सुत्ने त्यहाँ कार्यरत दाजुहरुको अवस्था कस्तो होला अनुमान मात्र गर्न सकिन्छ अनुभव गर्न सकिन्न । त्यस्तो अवस्था देख्दा भने मनै अमिलो भएर आउँथ्यो । बालुवामा अण्डा पाक्ने सिजन नजिकिंदै छ । एयर कण्डिसन बिना एकछिन बस्न नसक्ने दिन आईरहेका छन तर ती नेपाली दाजुहरुको पिडा बेचैनी र हैरानीहरु एकातिर छन भने घर परिवार प्रतिको आफ्नो जिम्बेवारी अर्को तर्फ छन् ।

यो विषयका प्रतिक्रियाहरु

बिनोद सापकोटा :May 3, 2011 03:08:08 PM

सबैलाई बिदेसिनुको पिडा त आफ्नै ठाउँमा छ तै पनी पिडालाई केहि पर राखेर रमाइलो पनी गर्नु पर्छभन्ने महेश्वोर जी को लेख राम्रो छ |

Gautam Pd. Gautam:May 3, 2011 11:20:21 AM

आफनो देसमा पसिना बगाय राम्रो हुन्थो नि

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु