Monday, 20 August 2018 12:22 pm, Nepal

प्रहरी प्रमुख मिडिया 'फ्रेण्डली' हुनुपर्छ

विनोद न्यौपाने : 2010-01-01 13:55:29


–विनोद न्यौपाने एक वर्ष र केही महिना लामो काभ्रे बर्साई पछि काभ्रेका प्रहरी प्रमुख सन्दीप भण्डारीको सरुवा भएको छ । इलामबाट काभ्रे आएका भण्डारी फेरि पूर्वतिरै पुगेका छन् । अर्थात पूर्वको केन्द्र विराटनगरमा उनको सरुवा भएको छ । भण्डारीको सरुवाले कतिपय प्रहरीलाई 'हाइसन्चो' भएको अनुभव मैले गरेको छु । केही प्रहरी जो उनका नजिक थिए उनीहरु भने चिन्तित मुद्रामा देखिएका छन् । हामी सञ्चारकर्मीलाई त जो प्रहरी प्रमुख आएपनि खासै अर्थ राख्दैन । हाम्रो चासोको विषय भनेको उ कति मिडियासँग नजिक छ र उसको मिडियाप्रतिको दृष्टिकोण नै हो । काभ्रेका प्रहरी प्रमुख सन्दीप भण्डारी भन्दा अघि विभुतिराज पाण्डे आएका थिए । केही महिना बस्न नपाई उनको सरुवा भयो र 'पावर' लगाउँदै भण्डारी काभ्रे आए । आएको केही समयभित्रै उनले पत्रकार भेटघाट कार्यक्रम राखे । 'म मिडियासँग नजिक हुन चाहन्छु' उनले सुरुमै भनेका थिए 'मिडियाका साथीहरुसँग सहयोगका लागि आग्रहसमेत गर्छु ।' तर, उनको बोली केही दिनमै गफमात्रै सावित भएको अनुभव हामी सञ्चारकर्मीले गरेकै हो । हुन त मान्छे अन्त गइसकेपछि कुरा काट्ने चलन हाम्रो समाजमा रहेको छ । तर, भण्डारीको सवालमा उनी गएपछि कुरा काटिएको होइन, देखिएको र भोगिएको कुरा मात्रै लेखिएको हो । काभ्रेली डटकमले भण्डारी आएको केही महिनापछि नै उनी मिडिया 'फ्रेण्डली' नभएको कुरा प्रकाशित गरेको थियो । भण्डारीले आफ्नो काभ्रे बसाइमा कहिल्यै पनि मिडियालाई नजिकको ठानेनन् । सूचना लुकाउन र सूचना नदिन माहिर थिए उनी । धेरै घटनाका सूचना यही कारण सञ्चारकर्मीले धेरै दिनपछि मात्रै थाहा पाउँथे । यतिसम्म कि उनी सञ्चारकर्मीको फोनसमेत उठाउन गाह्रो मान्थे । अनि पछि भेटमा सोध्दा उनको भनाई थियो- नचिनेको नम्बरबाट गर्नुभयो होला -' के प्रहरी जस्तो जनताको सुरक्षा गर्न बसेको व्यक्तिले गरेको फोन उनले उठाउन हुँदैन । प्रहरीले नचिनेको नम्बर भन्दै फोन नउठाउनु गलत हो भन्ने मलाई लाग्छ । प्रहरीले जुनसुकै समयमा जुनसुकै अवस्थामा पनि आफ्नो फोन उठाउनैपर्छ । भण्डारीले कतिपय अवस्थामा केही घटनाको फोनै गरेर जानकारी दिएका छन् । त्यसका लागि उनलाई धन्यवाद दिनैपर्छ । तर मननीय कुरा के हो भने उनले जति जानकारी दिए त्यसले उनलाई फाइदा हुने भएकैले दिएका हुन् । भण्डारीको एक वर्ष र केही महिना उनका लागि हितकरनै भयो होला काभ्रेमा । उनले कति कमाए र कति गुमाए त्यसको लेखाजोखा गर्नु आवश्यक छैन । तर, उनकै समयमा पुन चन्दन तस्करी सुरु भएको र फस्टाएको यहाँ उल्लेख गर्नैपर्छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न भण्डारीको योगदान उल्लेख्य नभएको पक्कै हो । उनकै समयमा बनेपामा माओवादी र स्थानीयबासीबीच झडप भयो । उनले रोक्न सकेनन् । कर्फ्यु लगाउनुपरेको थियो झडप रोक्न । त्यसकै भोलीपल्ट एमालेको पार्टी कार्यालयमा आक्रमण हुँदासमेत भण्डारीले रोक्न नसकेको पक्कै हो । अझ एमाले र माओवादीले एकअर्काविरुद्ध मुद्दा दायर गर्दा त्यसलाई अगाडि बढाउन सकेनन् उनले । उनकै समयमा हतियारधारी शिक्षक विवादास्पद तरिकाले छुटेकै हुन् । यी यावत कमजोरीका बाबजुद भण्डारी एक वर्ष र केही महिना काभ्रेमा बस्न सफल भएका छन् । देशका सबैजसो जिल्ला मध्ये काभ्रे प्रहरीका लागि आकर्षक मानिन्छ । कमाउने स्थान र पावरफुल हुने कारण काभ्रे आउन धेरैको प्रयास हुने गरेको देखिएको छ । काठमाडौंपछि प्रहरीका लागि एक नंवरको जिल्ला मानिने काभ्रेमा दुइवटा ठूला राजमार्ग पनि प्रहरीका लागि कमाउने स्थान हो । तर, भण्डारीले यसको कति सदुपयोग गरे त्यसको लेखाजोखा गर्नु आवश्यक छैन । अब काभ्रेमा प्रहरी प्रमुखको रुपमा धानुक आउँदैछन् । रुकुमबाट सरुवा भएर आएका धानुकको कार्यशैली कस्तो हुने हो त्यो हेर्न बाँकी नै छ । तर, हामी सञ्चारकर्मीको चाहना यत्ति हो उनले मिडियालाई नजिक ठान्नैपर्छ । सूचना लुकाउन पाइँदैन । अझ नचिनेको नंवर भन्दै फोन नउठाउने काम उनले गर्ने छैनन् भन्नेमा हामी आशावादी छौं ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु