Wednesday, 22 November 2017 06:41 pm, Nepal

राष्ट्रपतिलाई उपचार गर्न जापान पठाउनेलाई कारबाही हुनुपर्छ

मेचीकाली : 2013-09-20 13:26:42


कुमार थापा

अध्यक्ष, अल्का अस्पताल, उपाध्यक्ष, एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)

एक दशकअघिसम्म सामान्य औषधी व्यवसायी रहेका काभ्रेका कुमार थापा अहिले अल्का अस्पताल, जावलाखेलका सञ्चालक छन् । स्वदेशमा गरिएको मेहनत, लगनशीलता र निरन्तरताले गर्दा अस्पताल सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ । उनी एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन)का उपाध्यक्ष पनि हुन् । सरकारले वि.सं. २०४८ सालमा आर्थिक उदारीकरणको नीति अवलम्बनसँगै स्वास्थ्य क्षेत्र (अस्पताल सञ्चालन) मा निजी क्षेत्रले लगानी गर्न सुरु गरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर करिब ४ सय निजी अस्पताल सञ्चालनमा छन् । अफिनका अनुसार निजी अस्पतालमा २५ अर्ब रुपैयाँभन्दा धेरै लगानी निजी क्षेत्रले गरिसकेको छ । नियमन गर्ने सरकारी निकायको वेबास्ता र आर्थिक लोलुपताले गर्दा अन्य व्यवसायमा जस्तै निजी अस्पताल सञ्चालनमा केही विकृति भित्रिएको उनको स्वीकारोक्ति छ । स्वास्थ्य उपचार गर्ने संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा छ, तर पनि सरकारले सर्वसुलभ रूपमा आवश्यक सेवा पु¥याउन नसकेका बेला निजी क्षेत्रले यस क्षेत्रमा गरेको लगानीका कारण बिदेसिने करोडौं रुपैयाँ पलायन हुनबाट रोकिएको उनको दाबी छ । व्यवसायिक आचारसंहिता र सरकारी अनुगमन सही तरिकाबाट हुन सके स्वास्थ्य क्षेत्रमा देखिएको विकृति रोकिने उनको बुझाइ छ । उपाध्यक्ष कुमार थापासँग गरेको कुराकानी :

एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) स्थापनाको अवस्था के छ ?

अफिन निजी अस्पताल तथा नर्सिङ अस्पतालको छाता संगठन हो । यो संस्थाको संस्थापक सदस्य सिमित रहे पनि अहिले देशभरका स्वास्थ्य संस्था सदस्य छन् ।

तपाईंले कहिलेदेख अस्पताल सञ्चालन व्यवसाय सुरु गर्नुभएको हो ?

करिब २ दशकदेखि औषधी व्यवसायमा काम गरेको अनुभवले वि.सं. २०६२ बाट सामूहिक लगानी गदै अल्का अस्पताल सञ्चालन गरेका हौं । अहिलेसम्म अस्पतालले पु¥याएको सेवा–सुविधाका कारण उपत्यकामा अल्का अस्पताल एउटा परिचय बनाउन सफल छ । त्यही विश्वसनीयता र पु¥याएको सेवाका कारण डेढ दशकअघि स्थापित एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको (अफिन) उपाध्यक्ष पदमा मलाई चयन गरिएको हो ।

अधिकांश निजी अस्पताल सरकारले तय गरेको मापदण्डअनुसार सञ्चालित छैनन भनिन्छ नि !

मन्त्रालयको तथ्यांकअनुसर राजधानीमा मात्र करिब १ सय अस्पताल सञ्चालनमा छन् । सञ्चालित अस्पतालमध्ये ५० प्रतिशत मापदण्ड पूरा गर्ने अस्पताल छन् भने ८० प्रतिशत मापदण्ड पूरा गर्ने अस्पतालको संख्या करिब ५० प्रतिशत होला । ९० प्रतिशत मापदण्ड पूरा गर्ने १५ प्रतिशत मात्र होलान् । शतप्रतिशत मापदण्ड पूरा गर्ने कुनै पनि अस्पताल छैनन् । सरकारले तय गरेको मापदण्डअनुसार यातायातको सुविधा, भौतिक संरचना, जनशक्ति र आवश्यक उपकरण पर्याप्त उपलब्धता हुनुपर्छ । मापदण्डअनुसार सञ्चालन नहुँदा पनि सरकारले अनुगमन गरेर कारबाही गर्न सकेको छैन । त्यहींबाट बुझ्न सक्नुप¥यो, सरकार कहाँनिर चुकेको छ । हामीले उपलब्ध स्रोत–साधनको उपयोग गरेर सक्दो सेवा पु¥याइरहेका छौं । करिब २० प्रतिशत जनसंख्या अहिले निजी स्वास्थ्य संस्थाको सेवामा निर्भर रहेको हाम्रो अनुमान छ ।

तर, व्यावसायिक अचारसंहिता पनि बिर्सिएर महँगो शुल्क असुल गरेर सञ्चालन भइरहेको गुनासो पनि सुनिन्छ नि !

हामीले सेवा नपु¥याएको भए दिन–प्रतिदिन निजी अस्पतालमा बिरामीको किन भीड बढ्थ्यो होला र ? निजी अस्पतालमा सेवा लिने अधिकांश बिरामी भारत, थाइल्यान्ड र अन्य मुलुकमा पुगेर सेवा लिनेहरू हुन् । ती बिरामीले विदेश पुगेर लिने सेवा स्वदेशमै उपलब्ध छ । साथै पलायन हुने पुँजी रोकिएको यथार्थ बुझ्नु आवश्यक छ । महँगो कुरा गर्नुभयो, महँगो कतिलाई मान्ने ? नेपालमा वरिष्ठ चिकित्सकको जाँच शुल्क ३ सय देखि ४ सय पुगेको छ । भारतमा जानुहुन्छ भने न्यूनतम ६ सय छ । त्यहाँको ६ सय रुपैयाँलाई नेपालीमा रूपान्तरण गर्नुभयो भने करिब १ हजार रुपैयाँ हुन्छ ।  त्यसैले दाबी गरेर भन्छु नेपालको स्वास्थ्य सेवा विश्वकै सस्तो छ ।

सामान्य सिकायत भएको बिरामीलाई विभिन्न रोगको शंका÷उपशंका गर्दै, परीक्षणका नाममा व्यापार गर्नु कत्तिको उचित हो ?

नेपालमा विशेषज्ञ उपचार सेवा सस्तो छ भन्ने कुरा पुनः दोहो¥याउन चाहन्छु । तपार्इंले भनेजस्तो एउटा रोग एउटा परीक्षणले मात्र पहिचान हुन सक्दैन । रोगको प्रकृति र उपलब्ध उपकरण विशेषज्ञअनुसार विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । यदि अनावश्यक दुःख दिएको प्रमाणित भए सरकारी निकायले कारबाही गर्न सक्नुप¥यो । केही समयपहिले राष्ट्रपतिलाई यहाँ चेक–जाँच गर्दा अर्बुद रोगको शंका गरेर तत्काल जापान पठाइयो । आखिर जापान पुग्दा रोग नै नलागेको प्रमाणित भयो । खै त त्यसरी अनावश्यक परामर्श दिने चिकित्सक र अस्पताललाई कारबाही गरिएको ? केही कमजोरी र विकृति नभएका होइनन् । सरकारको नीतिगत अपारदर्शिता र प्रशासनिक अर्कमण्यताका कारण केही कमजोरी देखिएको हो ।

व्यावसायिक मर्यादा कायम गराउन तपाईंहरूको संस्थागत अचारसंहिता लागू भएको पाइँदैन नि !

छ, तपाईंहरू पत्रकारले सकारात्मक कुराभन्दा नकारात्मक कुरा बढी  सुन्नुहुन्छ । घटनाको वास्तविकतामा नपुगी समाचार बनाउनुहुन्छ, हाम्रो छवि बिगार्न मिडियाको पनि भूमिका छ, जस्तो लाग्छ । सानो गल्तीलाई इस्यु बनाएर उचालिदिने र सबैलाई एउटै आँखाले मात्र हेरिदिने समस्या पत्रकारिता क्षेत्रमा  छ । अफिन निजी अस्पताल तथा नर्सिङ होम सञ्चालकको छाता संगठन हो । यसको आफ्नै आचारसंहिता छ । संस्थागत सदस्य संस्थाले लागू गरेको अवस्था छ । सबै अफिनका सदस्य पनि छैनन् । नभएकालाई भन्न सक्ने अधिकार पनि रहँदैन । सरकारी मापदण्ड र निर्देशिका छ । लागू गराउन नसक्नु सरकारकै कमजोरी हो ।

अहिलेसम्म यो क्षेत्रमा कति लगानी भएको होला ?

न्यूनतम पनि एक शैय्याबराबर १५ लाख रुपैयाँभन्दा धेरै लगानी गर्नुपर्ने अवस्था छ । निजी क्षेत्रले चलाएका स्वास्थ्य शिक्षा दिने शैक्षिक संस्था, नर्सिङहोम र अस्पतालमा १४ हजार धेरै शैय्या छन् । त्यसका अतिरिक्त आधुनिक उपकरणसहितको सेवा पु¥याउने केन्द्रहरू पनि छन्, ती सबैमा लगानी भएको छ । अहिलेसम्मको हाम्रो अनुमानित लगानी २५ अर्ब भन्दा धेरै छ भन्ने हो ।

अल्का अस्पतालमा कति लगानी भएको छ ?

करिब १० करोड रुपैयाँको लगानी छ । चिकित्सकहरूसहित २६ जनाको सामूहिक लगानी छ । लेजर प्रविधिबाट शल्यक्रिया गर्ने उपकरण नेपालमै पहिलो पटक भिœयाएका छौं ।

तपाई अध्यक्ष भएको अल्का अस्पतालमा चिकित्सक कति हुनुहुन्छ ?

६४ जना चिकित्सक हुनुहुन्छ । तीमध्ये १० जना पूर्णकालीन हुनुहुन्छ । बाँकी ‘प्यासेन्ट’ बेस र ‘टाइम’ बेस पारिश्रमिक लिने हुनुहुन्छ । तीमध्ये केही टिचिङ, वीर, सिभिल र आर्मी अस्पताल छाउनीमा कार्यरत चिकित्सक हुनुहुन्छ ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजी अस्पतालमा काम गर्नु कत्तिको उचित हो ?

मूल्यांकन गर्ने काम हाम्रो होइन । तर, राज्यले वर्र्षाैंसम्म अध्ययन गरेर चिकित्सक बनेका जनशक्तिलाई न्यूनतम पारिश्रमिकमा कजाएपछि उहाँहरूले निजीमा गर्नु स्वाभाविक हो । त्यसका लागि सरकारले नीति नियम बनाएर कार्यान्वयन गर्न सक्नुप¥यो । नसक्दाको परिणाम हो । ०४६ सालपछि एक पटक टिचिङ अस्पताल महाराजगन्जबाट डा. भोला रिजालसहित करिब १० जना चिकित्सकलाई एकातर्फ मात्र काम गर्न निर्देशन जारी गरिएको थियो । केहीले सरकारी जागीर छाडेर निजीमा मात्र सेवा प्रवाह गर्न सुरु गर्नु भएको हो । त्यसपछि केही समय दोहोरो काम गर्ने क्रममा कमी आएको थियो । अस्पतालको बढ्दो संख्यासँगै चिकित्सकहरूलाई ‘पार्टटाइम’को अवसर सिर्जना भएको हो । गरिरहनुभएको पनि छ ।

निजी अस्पतालमा बिरामीहरूको चाप बढनुमा सरकारीको अस्पतालको भन्दा राम्रो सेवा भएर हो ?

त्यसरी पनि अवमूल्यन नगरौं । तर, मेरो अनुभव सुन्नुहुन्छ भने म आफैं कानको जालीमा समस्या भएको मान्छे हुँ । सरकारी अस्पतालमा जाँदा विशेषज्ञ भनिएका चिकित्सकले गरेको व्यवहारबाट मलाई फेरि फर्किएर त्यो अस्पतालमा जान मन लागेन । तर, निजीमा आउने ‘प्यासेन्ट’ हरूलाई त्यस्तो व्यवहार गरिँदैन । पछिल्लो समयमा आधुनिक उपकरण सहित वरिष्ठ चिकित्सकको प्रत्यक्ष सेवाले गर्दा निजी अस्पतालमा बिरामीको चाप वृद्धि भएको हो ।

निजी अस्पताल क्षेत्रमा पनि विकृति त छ नि !

छ, विकृत नभएको क्षेत्र कुन छ ? त्यो हाम्रो अस्पताल क्षेत्रमा पनि पक्कै छ । एकै पटक विभिन्न परीक्षण गर्ने र औषधी भिराउने समस्या नभएको होइन । त्यो विकृति हो । त्यस्तो हुनु हुँदैन । हामी अफिनले आफ्ना सदस्यलाई त्यस्तो नगर्न सचेत गराइरहेको हुन्छौं ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले नै नजिकमा निजी अस्पताल खोल भनेर सुझाव गर्नुहुन्छ भन्ने सुनिन्छ नि, सत्य के हो ?

हैन, त्यस्तो छैन । नजिकमा अस्पताल रहँदारहँदै अर्काे अस्पताल चल्ने अवस्था नै रहँदैन । सेन्टर लोकेसन पारेर खोलिनु अर्काे कुरो हो । अल्काकै कुरा गर्नुहुन्छ भने नजिक भनेको पाटन अस्पताल हो । त्यो अस्पताल आफैंमा स्वायत्त छ । अरूको त्यस्तै होला भन्न सक्छु । यदि कुनै चिकित्सकले त्यसरी आफूले काम गर्ने अस्पताल नजिक अर्काे अस्पताल खोल्न लगाएर आफ्नो सेवा त्यताबाट दिन्छ भने त्यो गलत हो । त्यस्ता चिकित्सकलाई छानबिन गरेर स्वास्थ्य मन्त्रालयले कारबाही गर्नसक्नुपर्छ ।

-Source : Karobar National Daily

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु