Tuesday, 26 September 2017 01:07 pm, Nepal

कमरेड ओलीको परीक्षाको घडी सुरु भयो

मेचीकाली : 2014-07-20 16:54:47


–माधवकुमार नेपाल

नेकपा एमालेका नेता

नेकपा एमालेको नवौं महाधिवेशन हालै सम्पन्न भएको छ । महाधिवेशनमा केपी ओली अध्यक्षमा निर्वाचित भएका छन् । उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ५६ मतले पराजित गरे । दुई गुटमा स्पष्टरुपमा विभाजित भएर सम्पन्न महाधिवेशनबाट ओली पक्षले बहुमत पनि हाँसिल गरेको छ । अब एमालेको राजनीति कता जान्छ र पराजित उम्मेदवार माधव नेपालको भूमिका के हुन्छ ? यसै विषयमा नेता नेपालसँग गरिएको कुराकानी । 

महाधिवेशनमा भएको हारलाई कसरी लिनुभएको छ ?

प्रतिस्पर्धामा उत्रिएपछि हारजित हुन्छ नै । यसलाई अस्वाभाविक र अन्यथा रूपमा लिइरहनुपर्ने आवश्यकता छैन । चुनाव हार्नेले दुःख मान्ने अथवा जित्नेले खुसीमा उफ्रने यो उपयुक्त बेला होइन । जित्नेले केके न पाएँ भन्ने पनि ठान्नु हुँदैन, हार्नेले सर्वस्व गुमाएँ भन्ने ठान्नु पनि हुँदैन । यस्तो अवस्थामा हार्नेले असहयोग गर्ने र जित्नेले मात्तिने काम पनि गर्नु भएन ।

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसँग महाधिवेशनमा तपाईंको शत्रुवत्झैं सम्बन्ध देखियो, अबको स्थितिमा सम्बन्ध कस्तो रहनेछ ?

होइन, यसरी शत्रुवत् सम्बन्ध थियो भन्न मिल्दैन, कुनै शत्रुता थिएन । चुनावी प्रतिस्पर्धामा उत्रेपछि आफ्नो कुरालाई माथि राख्न केही कुरा चर्को रूपमा आए होलान् । त्यसबेला अनुचित कुरा भएका छन् भने पनि त्यसमा पुनः समीक्षा हुनेछ । परिणाम आइसकेको अवस्थामा यसलाई स्विकारेर अघि बढ्नैपर्छ । अब केपी कमरेडलाई मेरो सम्पूर्ण सकारात्मक र रचनात्मक सहयोग रहनेछ ।

एमाले महाधिवेशनताका गुट-उपगुटसहितका खेमा स्पष्टसँग देखिएका थिए । पार्टीभित्रको शक्ति सन्तुलन कसरी अघि बढ्ला भन्ने लाग्छ ?

कसरी अघि बढ्ला भन्नुभन्दा पनि कसरी अघि बढोस भन्नेतर्फ म केन्द्रित हुन चाहन्छु । कसैलाई काखा, कसैलाई पाखा नगरी एकताबद्ध भएर र सबैको समुचित मूल्यांकन गरेर अगाडि बढोस् भन्ने म चाहन्छु । योग्य, सक्षम व्यक्ति पन्छिने अवस्था नबनोस् भनेर त्यहीअनुसारको कार्यरूप तय होस् भन्ने म चाहन्छु । मेरो र आफ्नो भन्नेभन्दा पनि राम्रो र असल कामकुरालाई प्रोत्साहन होस् भन्ने हो । सिंगो पार्टी र राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राखियोस् र, महाधिवेशनमा गरिएका प्रतिबद्धता पूरा गरियोस् भन्ने हो । सिंगो पार्टीपंक्तिमा हिजो जे-जसो भए पनि अब त्यसलाई बिर्सिएर नयाँ अध्याय सुरु गर्नुपर्छ, मेरो हार्दिक शुभकामना यही छ । अहिलेलाई यत्ति भनौं, पार्टीमा नवविजेता अध्यक्ष कमरेड केपी शर्मा ओलीको परीक्षाको घडी सुरु भएको छ । अबको परीक्षा कसरी सामना गर्दै कसरी उत्तीर्ण हुनुहुन्छ भन्ने पर्खाइमा सबै छौं, यसमा हतार गरिहाल्नु हुँदैन । अहिले पर्ख र हेर को स्थितिमा रहनुपर्छ ।

एमाले महाधिवेशन पछाडि पार्टीमा नयाँ संरचना देखिएपछि सरकारको स्वरूप फेरिनेबारे पनि बहस सुरु भएको छ नि ?

त्यस्तो सरकार हेरफेरकै अथवा स्वरूप फेरिनेबारे मेरो सूचनामा केही आएको छैन । भर्खरै एमाले महाधिवेशन सकिएको छ र, लगत्तै म दिल्ली आएको छु । पछिल्ला दिनमा देखिएका राजनीतिक घटनाक्रममा मेरो जानकारी नरहेको हुन सक्छ, तर सरकारकै स्वरूप फेरिनेबारे बहस सुरु भएको मलाई थाहा छैन ।

आफ्नो पार्टीभित्र अथवा शक्ति सन्तुलन दृष्टिमा अन्यत्र नेता माधवकुमार नेपालको भूमिका वा जिम्मेवारी के रहन सक्छ ?

यसबारेमा मलाई थाहा भएन । अब पार्टी, केन्द्रीय कमिटीले के-कस्तो जिम्मेवारी दिने हो, त्यहीअनुसार म अघि बढ्नेछु । यो बेला मैले लिनेभन्दा पनि मलाई दिइने जिम्मेवारीको अर्थ महत्त्वपूर्ण रहन्छ ।

संविधानसभामा २६ सदस्य मनोनयन र राजदूत नियुक्ति गर्ने विषयले एमाले महाधिवेशन पर्खिएको थियो भनिन्छ, अब यो प्रक्रिया कहिले पूरा होला ?

मेरो बुझाइमा प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा उपचारका क्रममा रहेका कारण यो प्रक्रियामा केही ढिलाइ भएको हो, एमाले महाधिवेशनका कारणले होइन । प्रधानमन्त्रीले सम्भवतः अहिले नगर्नु भनेकै कारणले ढिलाइ भएको हो । अर्कातिर, सभासद मनोनयनको विषय अदालतमा पुगेकाले पनि रोकिएको हो । जहाँसम्म सभासद वा राजदूत नाम/प्रतिनिधि छनोटको कुरा छ, प्रधानमन्त्रीले तीन दिनभित्रमा घोषणा गर्ने भन्दै समयसीमा तोक्नुभयो भने पनि त्यहीअनुसार निर्णय दिन एमाले तयार छ । तर अहिलेसम्म नियुक्ति/मनोनयनबारे विषयप्रवेश भएकै छैन । अबको सम्पूर्ण प्रक्रियाले प्रधानमन्त्रीलाई पर्खिएर बसेको छ ।

विभिन्न पार्टीगत उल्झन, प्रधानमन्त्रीको अस्वस्थ स्थिति र अन्य तालमेल नमिलेका कारण तोकिएकै समयावधिमा संविधान जारी हुन नसक्ने आशंका पनि सुरु भएको छ नि ?

हो, यस्तो असहज संकेत मैले पनि बोध गरेको छु । अस्ति म संवैधानिक तथा राजनीतिक समितिको एउटा बैठकमा सहभागी भएको थिएँ । त्यहाँ चलिरहेको बहस सुन्दा कताकता मेरो मनमा चिन्ता पलाउन थालेको थियो । सभासदले विषय र मुद्दाभन्दा धेरै पर गएर बहकिँदै लम्बेचौडे भाषण गरिरहेको मैले सुनें । त्यही पारामा त संविधान लेखनको स्थिति कहिले अघि बढ्ला, सहमति र संवाद कसरी अघि बढ्ला र भन्ने भयो । भिन्नभिन्न विचार र कोणको समायोजन कसरी गर्ने भन्ने मामिला मुख्यतः समितिका सभापति डा. बाबुराम भट्टराईको तदारुकतामा निर्भर पर्ने कुरा हो । प्रमुखतः धेरैवटा यस्ता विषयमा एमाओवादी पार्टी अलि जिम्मेवार ढंगले अगाडि नबढेको हो कि भन्ने मलाई लागेको छ ।

एमाओवादी मात्रै कि सबै पार्टीहरू ?

खासगरी एमाओवादी पार्टी र यसका नेतृत्वकर्ता कमरेड प्रचण्डलाई म भन्न चाहन्छु— तपाईं एउटा कोणबाट अर्को कोणमा हाम फाल्ने प्रवृत्ति रोक्नुहोस् । तात्कालिक र क्षणिक लाभभन्दा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राख्न सिक्नुहोस् । प्रमुख पार्टी र तिनका प्रमुख नेताले गर्ने निर्णयमा राष्ट्रको लाभ निश्चित छ, गैरजिम्मेवार बनिरहने हो भने नोक्सान बेहोर्ने राष्ट्रले हो । विशेषतः संघीयता, निर्वाचन प्रणाली र शासकीय स्वरूपबारेमा क्षणिक लाभका कुरालाई सोचिदिनुभएन भन्ने मेरो अनुरोध हो । अब अतिवाद, सर्वसत्तावादबाट मुक्त भएर लोकतान्त्रिक मूल्यमान्यतालाई अघि बढाउनुपर्ने काममा भूमिका निर्वाह गर्नुपर्‍यो । सहअस्तित्व र स्वस्थ्य प्रतिस्पर्धाको सिद्धान्तलाई पालन गर्ने दिशामा लाग्नुपर्‍यो । फेरि विद्रोह गर्ने, बन्दुक समात्ने र रगतको खोलो बगाउँछौं भन्ने विचार तथा त्यसमा जोडिएको उग्र भाषालाई त्याग गर्नसमेत प्रचण्डजीलाई आग्रह गर्छु । लोकतान्त्रिक संस्कारका कुरामा माओवादी पार्टीमा अझै पनि प्रस्टता रहेको देखिन्न ।

सरकारको एउटा घटक रहेकै बेला पनि एमाले पार्टी र यसका वरिष्ठ नेता माधवकुमार समेतले सत्य निरूपण आयोगका विवाद-बहसमा केही भनाइ बाहिर ल्याउन चाहेनन् भन्ने आरोप छ नि ?

त्यसो होइन । पार्टी र बाहिरका फोरममा पनि मैले यसबारे प्रशस्तै बोलेको छु । मैले भनेको छु- सत्य निरूपणका नाममा चिहान उधिन्ने काम गर्नु भएन, बदलाको भावनाले निहुँ खोज्ने कुरा पनि राम्रो भएन । तर यसो भन्दैमा, मानवताविरुद्धको अपराध भएको छ र गम्भीर प्रकृतिका हत्या आदि भएको छ भने त्यसमा त्यत्तिकै छुट दिन सकिने कुरै आउँदैन ।

फेरि पनि संविधान जारी हुने गरेमा अन्योल बढ्दै गएको स्थितिमा थाती रहेका प्रक्रियागत विषय केके हुन सक्छन् ?

यी विषय र प्रक्रिया हाम्रो लचकतामा निर्भर रहने कुरा हुन् । सबै राजनीतिक दल, नेता र निर्णायकले अब हदैसम्मको लचकता अपनाउनैपर्छ । विशेषतः हाम्रै पार्टीमा पनि नयाँ नेतृत्व कुन ढंगले अघि बढ्न चाहन्छ, अहिले थाहा भइसकेको छैन । संवैधानिक जटिलताका बारेमा पनि संघीयता, शासकीय स्वरूप र निर्वाचन पद्धतिमा केही बढी लचकता खोजिनुपर्ने हुन सक्छ । जस्तो, संघीयताका कुरामा पनि मैले सात प्रदेशको औचित्य र आवश्यकताबारे बोल्दै आएको छु, एमाले पार्टीको धारणा पनि यही हो । संघीय खाकाको मेरो यो प्रस्तावनामा जोड दिने स्थिति देखियो भने थप सहमति जुटाउन म अघि बढ्छु, होइन भने चुपै लागिरहन्छु ।

यत्तिका राजनीतिक परिवर्तन र हेरफेरपछि पनि आम जनताले आशा-भरोसामा राजनीतिक पद्धति, पार्टी र नेतामाथि विश्वास राख्न सकेको स्थिति देखिन्न, तपाईंलाई के लाग्छ ?

त्यसो होइन, परिवर्तन र संस्थागत हेरफेर भनेको बिस्तारै देखिने कुरा हो । यसो भन्दैमा अहिले भएका राजनीतिक शक्ति पर्तिर तत्कालै कुनै नयाँ शक्तिको उदय होला, कुनै पार्टी खोलेर केही होला भन्ने स्थिति रहन्न, स्थिति छैन पनि । मुलुकलाई अग्रगामी दिशामा लैजाने भनेको एमाले हो, कांग्रेसभित्र पनि केही असल ऊर्जाशील समूह छ । हामी आफैंमा सबैजना समेटिएर अघि बढ्ने हो, आशा-भरोसाको केन्द्र बन्ने भनेको हामी नै हो ।

कान्तिपुर दैनिक (४ साउन, २०७१) बाट साभार

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु