Sunday, 19 November 2017 07:58 pm, Nepal

'नेपालको संविधान महत्वपूर्ण कोशेढुंगा हो'

मेचीकाली : 2016-04-20 08:13:16


-अलेना बी टेप्लिज

नेपालका लागि अमेरिकी राजदूत

अलेना बी टेप्लिज नेपालका लागि अमेरिकी राजदूत हुन् । नेपालमा दुई बर्षदेखि कार्यरत राजदूत टेप्लिजले यही वैशाख ७ गते काभ्रेको बनेपामा रहेको प्राइम एफएम १०४.५ मेगाहर्जमा पुगेर विशेष अन्तरवार्ता दिइन् । नेपाल र अमेरिकाबीचको सम्वन्ध, भुकम्पपछिको पुननिर्माण, नेपालको नयाँ संविधानबारे अमेरिकाको धारणा अनि नेपालमाथि भारतले गरिरहेको नाकावन्दी र त्यसले पारेको प्रभावका विषयमा उनलाई प्रश्न सोधिएको थियो । प्राइम एफएमका लागि मोतिराम तिमल्सिनाले लिएको विशेष अन्तरवार्ता सान्दर्भिक लागेर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

नेपाल अमेरिका सम्बन्धको अवस्था अहिले कस्तो छ ?

झण्डै ७० वर्षदेखि नेपाल र संयुक्त राज्य अमेरिकाबीच बलियो मित्रता रहँदै आएको छ । त्यसैले मलाई के लाग्छ भने यी दुई देशबीचको सम्बन्ध राम्रो छ । नेपालमा संयुक्त राज्य अमेरिकाका तीन लक्ष्य छन्, जसलाई हासिल गर्नका लागि हामीले सहकार्य गरिरहेका छौं । यी लक्ष्यहरु नेपालका आकांक्षा अनुकूल छन्, मेरो विचारमा । यी लक्ष्यहरु हुन् नेपालको स्थायी लोकतन्त्रलाई प्रबद्र्धन गर्नु, आर्थिक समृद्धिलाई प्रोत्साहन दिनु र भविष्यमा आइपर्ने विपद्को व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्नु ।

विगतमा केही महिना भएको नाकाबन्दीका कारण भूकम्पबाट अप्ठेरोमा परेका नेपाली जनता अझैपनि मानवीय समस्या व्यहोर्न बाध्य छन् । यसलाई अमेरिकाले कसरी लिइरहेको छ ?

    नेपाली जनताको जीवनमा भूकम्पले सिर्जना गरेको प्राकृतिक विपद् पछिको अवस्था साँच्चै कहालीलाग्दो थियो । संयुक्त राज्य अमेरिकाले तत्काल राहत ल्याउने कोसिस ग¥यो । अहिले हामी पुनरुत्थानको काममा सहयोग पु¥याउने कार्यमा संलग्न छौं । तपाईले आफ्नो प्रश्नमा उल्लेख गर्नुभए झै सीमा अवरोधको समस्याले त्यसमा कुनै सहयोग गरेन । त्यो दुर्भाग्यपूर्ण कुरा थियो र हामीले त्यसै समयमा पनि यो कुरा भनेका थियौं । तर यस चरणमा हामी अगाडि हेरिरहेका छौं र पुनर्निर्माणको कठिन कार्यलाई अघि बढाउन हामी के गर्न सक्छौं भन्नेमा लागिरहेका छौं । हिजो (सोमबार) मात्रै मैले बाह्रविसेमा त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रको पुनर्निर्माण कार्यको सुरुवात गर्ने प्रयासको उद्घाटन गरेर आएँ । यो एउटा थालनी मात्र हो । मलाई लाग्छ क्षतिग्रस्त संरचनालाई प्रतिस्थापित गर्नका लागि नयाँ संरचना निर्माण गर्ने क्षेत्रमा अझै पनि धेरै काम हुनेछ ।

नेपालको संविधानलाई महत्वपूर्ण कोशेढुंगा भनेर अमेरिकाले स्वागत गरिसकेको अवस्था छ । यसको कार्यान्वयनकालागि अमेरिकाले कुनै मद्दत गर्दैछ कि ?

तपाईले यो प्रश्न सोधेकोमा मलाई खुशी लाग्यो । हामीले संविधानलाई स्वागत गरेकै हौं । यो नेपालको लोकतन्त्रका लागि महत्वपूर्ण जग बसाल्ने दस्तावेज हो । यो कुराकानी गर्दैगर्दा नेपालमा एकजना संविधान विषयका प्राज्ञ आउनु भएको छ । हामीले उहाँलाई अमेरिकाको हावार्ड विश्वविद्यालयबाट बोलाएका हौं । उहाँले यहाँका वकिल, नागरिक, न्यायाधिश, कानून निर्माताहरुसँग संविधानलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल गरिरहनु भएको छ । यो हामीले गरिरहेका धेरैमध्येको एक काम हो, कार्यान्वयनको प्रक्रियालाई सहयोग गर्ने क्षेत्रमा । अन्ततः संविधान भनेको नेपाली जनताको आकांक्षासँग जोडिएको विषय हो । तर अवश्य पनि प्राविधिक सहायता प्रदान गरेर र संविधान भनेको के हो र यसले नेपाली जनताका हितमा कसरी काम गर्न सक्छ भन्ने विषयमा वृहत छलफल गरेर हामी सहयोग गर्न तत्पर छौं ।

नेपालमा संविधान बनेपछि यो पूर्ण भएन भनेर छिमेकी भारतले असन्तोष मात्रै जनाएन केही समय नाकाबन्दी समेत गर्यो । अझैपनि बेलायत, इयु लागायतसँग मिलेर नेपालको संविधानको विरुद्धमा वक्तव्यवाजी गर्ने र मोर्चाबन्दी गर्ने काम भइरहेको छ । यसलाई अमेरिकाले कसरी लिइरहेको छ ?

संविधान भनेको महत्वपूर्ण कोशेढुंगा हो । गत असोजमा संविधान जारी हुनुलाई हामीले स्वागत गरेका छौं र बारम्बार हामीले संविधान कति महत्वपूर्ण छ भन्ने विषयमा छलफल गरेका छौं । संविधानले नेपाली जनताका आकांक्षाहरुलाई प्रतिबिम्बित गर्नुपर्छ भनेर हामीले भनेका छौं । मैले संविधान कार्यान्वयनका विषयमा दुईटा विचार लेख समेत प्रकाशित गरेको छु । र जनतासँग यस्ता खालका हाम्रा छलफलहरु जारी छन् । अन्ततः संविधानले नेपाली जनताका पक्षमा कसरी काम गर्नेछ भन्ने निर्णय त नेपाली जनताकै हातमा रहन्छ । मलाई लाग्छ संघीय सीमांकनको विषयको सम्बोधन हुनु निकै महत्वपूर्ण हुनेछ । त्यसैगरी संविधानले सबै जातका आशाहरुलाई समेट्नेछ भन्ने कुरालाई सुनिश्चित गर्नु पनि त्यत्तिकै महत्वपूर्ण हुनेछ ।

नाकाबन्दीको असरको रुपमा अहिलेपनि उपभोग्य सामग्रीहरुमा कालोबजारीको अवस्था रहेको छ । यसलाई यहाँले कसरी लिनुभएको छ ?

नेपालमा हाम्रो दोश्रो उद्देश्य भनेको चुस्त र समृद्ध अर्थतन्त्रलाई प्रोत्साहन गर्नु हो । कालो बजारी भनेको सीमा अवरोधको दुर्भाग्यपूर्ण परिणाम थियो । तर वास्तविक अर्थतन्त्र फर्केर आउनेछ भन्ने कुरामा हामी आशावादी छौं । उद्यमशीलतालाई सहयोग गर्ने किसिमका कार्यक्रमहरुको बारेमा हामीले सोचिरहेका छौं । अमेरिकी कंग्रेसले एउटा व्यापार सम्बन्धी कानून समेत पारित गरेको छ, जसअन्तर्गत नेपालबाट अमेरिकामा ६६ वटा सम्मका विभिन्न किसिमका वस्तुको आयातमा मद्दत पुग्नेछ । मलाई लाग्छ वास्तविक अर्थतन्त्रलाई कसरी पुनर्जागरण गराउने भन्ने दिशामा सबैको ध्यान केन्द्रित हुन जरुरी छ ।

भूकम्पपछिको पुनर्निर्माणको कार्य नाकाबन्दी र अन्य थुप्रै प्राविधिक कारणले गर्दा समयमा हुन सकिरहेको छैन । यो  मामिलामा कसरी अमेरिकाले मद्दत गर्न सक्छ ?

भुकम्पपछि जुन तहको विपद्को सामना ग¥यो, त्यसको प्रभावबाट तुरुन्तै कुनै पनि देश तंग्रिन सक्दैन । अघि नै भनियो, अमेरिकाले तत्काल राहत कार्यमा सहयोग ग¥यो । प्राविधिक दिशामा हामीले आफ्नो स्रोत र समय तालिममा खर्च गरेका छौं, जनअन्तर्गत मानिसहरुले भविष्यमा आइपर्ने विपद्लाई कसरी सम्बोधन गर्ने र तयार रहने भन्ने बारेमा तालिम पाएका छन् । हामीले भवन निर्माणकर्मीहरुलाई भुकम्प प्रतिरोधी प्रविधि बारेमा तालिम दिएका छौं । हामीले मानसिक स्वास्थ्य जस्तो क्षेत्रमा स्वास्थ्यकर्मीहरुसँग सहकार्य गरिरहेका छौं । त्यसैगरी भुकम्प पीडितहरुलाई पर्याप्त पोषण सुनिश्चित गर्नका लागि समेत हामी स्वास्थ्यकर्मीहरुसँग कार्यरत छौं । भुकम्पबाट अन्ततः नेपालको पुनरुत्थानका लागि भौतिक पुनर्निर्माणका साथसाथै यो पनि महत्वपूर्ण हिस्साहरु हुन् भन्ने मलाई लाग्छ ।

नेपाल मामिलाको बारेमा दुई छिमेकी भारत र चीनसँग पनि अमेरिकाले कुनै छलफल    गरिरहेको  छ कि ?

संयुक्त राज्य अमेरिका थुप्रै देशहरुसँग सधैभरी वार्तामा छ । त्यसमा भारत र चीन समेत पर्दछन् । हामी द्वैध र बहुपक्षीय विषयहरुमा छलफल गरिरहेका हुन्छौं । र हाम्रा छलफलहरु जारी रहनेछन् । हामी विशेष गरी नेपालकै बारेमा छलफल गर्छाैं भन्ने त छैन, तर सबैलाई प्रभाव पार्ने थुप्रै विश्वव्यापी विषयवस्तुहरु छन् । खासगरी जलवायु परिवर्तनको विषय र विश्वव्यापी व्यापारको विषय त समग्र रुपमा दक्षिण एसियाकै निम्ति सान्दर्भिक विषयवस्तु हो । यसमा छिमेकी मुलुक चीनसँग समेत वार्तालाप भइरहेको छ ।

अमेरिकाको नेपालमा विशेष चासो के हो, प्राथमिकता के के हुन् ?

मैले अघि भने अनुसार हाम्रा तीन मुख्य प्राथमिकताका विषयहरु छन् । हामी लोकतान्त्रिक, स्थीर, समृद्ध नेपालको विकास गर्न चाहन्छौं । हामी चाहन्छौ विपद्को बेलामा समस्यालाई सामना र सम्बोधन गर्नसक्ने क्षमता नेपालसँग होस् । व्यक्तिगत रुपमा मलाई लैङ्गिक समरुपतालाई प्रोत्साहन गर्न, युवाको भूमिका र यस देशका युवा जनशक्तिको सम्भावना अनि उनीहरुले नेतृत्व गर्नसक्ने भविष्यप्रति ध्यान केन्द्रित गर्न मन छ । त्यसैगरी उद्यमशीलतातर्फ ध्यान केन्द्रित गर्न र नविनताको विषयका साथै स्थिर तथा समृद्ध व्यवसायिक वातावरणलाई कसरी प्रोत्साहन गर्ने भन्नेतर्फ विचार गर्न मलाई मन छ ।

नेपाली तयारी पोशाकमा छुट दिने विधेयक केही महिना अघि अमेरिकाले पास गरेको थियो । यसले नेपाललाई कसरी सकारात्मक प्रभाव पार्ने संभावना रहन्छ ?

मलाई खुशी लाग्यो तपाईले भन्सार छुट प्रदान गर्ने विधयेकको प्रसंग उल्लेख गर्नुभयो । यस ऐन अन्तर्गत नेपालको ६६ कसिमका वस्तुहरुले अमेरिकामा आयातित हुँदा ग्राह्यता पाउनेछन् । यसमा नेपालका लागि अवसर छ । मलाई लाग्छ नेपालका लागि यसमा तुलनात्मक लाभ छ । जस्तै केही उच्च स्तरीय तयारी पोशाक उत्पादन र नेपालको मौलिक हस्तकला उत्पादनका क्षेत्रहरु यसमा पर्दछन् । र नेपालले अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्ने बलियो क्षमता राख्ने क्षेत्रमा कार्यरत उत्पादकहरुलाई यसले अवसर प्रदान गर्दछ ।

संविधानमा असन्तुष्टी जनाउँदै  नेपालको तराईमा भइरहेको हिंसा र आन्दोलनका घटनामा युरोपेली र भारतीय शक्तिहरुले उचाल्ने काम गरिरहेको भन्ने आरोप नेपालमा कतिपय सेक्सनले लगाउने गरेका छन् । यस बारेमा अमेरिकाको धारणा चाहिं के हो ?

हल्लाहरुलाई म त्यति धेरै महत्व दिन्नँ । म के चाहिँ भन्छु भने केही त्यस्ता जायज राजनीतिक विषयवस्तुहरु छन्, जसलाई सम्बोधन गर्नुपर्छ । तिनको विषयमा हामीले अघि नै पनि कुरा ग¥यौं । मलाई लाग्छ संघीय सीमांकन र नागरिकतासम्बन्धी विषयवस्तुमा नेपाली जनताका आ–आफ्नै धारणा छन् । यस्ता विषयलाई संविधानले कसरी सम्बोधन गरेको छ भन्ने कुरामा उनीहरु सन्तुष्ट छैनन् । यी नेतृत्वले सम्बोधन गर्न आवश्यक राजनीतिक चुनौतीहरु हन् । मलाई लाग्छ समयमै र जनताको आकांक्षालाई सन्तुष्ट गर्ने किसिमले तिनको सम्बोधन हुनेछ ।

नेपालका प्रधानसेनापतिले यही बैशाख १२ गते अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ । सुरक्षा सम्बन्धी कुनै विशेष सम्बन्ध स्थापित हुँदैछ कि ?

नेपाल र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि मित्रता रहँदै आएको छ । हाम्रा दुई देशका सेनाहरुबीच पनि असल सम्बन्ध रहँदै आएको छ । नेपाली सेनासँग हामीले दुईवटा क्षेत्रमा सहकार्य गरिरहेका छौं । पहिलो शान्ति स्थापनाको कार्यमा सहयोग र दोश्रो विपद् जोखिम न्यूनीकरण । मानवीय तहमा प्राकृतिक विपद्लाई सम्बोधन गर्ने क्षमता विकास गर्नका लागि हामी कार्यरत छौं । मलाई लाग्छ त्यस सम्बन्धबाट देखाउन मिल्ने धेरै लाभहरु छन् । खासगरी भुकम्पपछि नेपाली सेना कसरी संकटलाई सम्बोधन गर्न सक्षम भयो भन्ने विषयमा जानकारी आदानप्रदान गर्न जरुरी छ । यसैगरी अर्को महत्वपूर्ण पक्ष के हो भने नेपाल संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा क्रमिक रुपमा बढीभन्दा बढी भूमिका बहन गर्दै संसारभरकै शान्ति तथा सुरक्षा हेर्ने विश्वव्यापी अगुवा बनेको छ ।

यहाँको कार्यकालमा नेपालमा  निजी चासोको कुनै विशेष क्षेत्र छ कि ? प्राथमिकतामा के के पार्नुभएको छ ?

मैले अघि नै भनें, लैङ्गिक समरुपताको विषयमा ध्यान दिनु नेपालका लागि निकै महत्वपूर्ण छ । मेरो टोली र मैले कार्यक्रम तय गर्दा र सहायता प्रदान गर्ने क्षेत्रमा मात्र नभई विस्तृत रुपमै यहाँ के भइरहेको छ भन्ने विषयमा बुभ्mने प्रयत्न गर्दा मानव बेचबिखनविरुद्धको संघर्ष, महिलाको आर्थिक सशक्तिकरण, आधारभूत व्यापारिक शिक्षाका लागि सहयोग, कृषि क्षेत्रमा सुधारिएको प्रविधि जस्ता कुरालाई ध्यान दिन्छौं जहाँ थुप्रै महिलाहरु खेतबारीमा काम गरिरहेका छन् । हामीले युवाहरुलाई पनि ध्यानमा राखेका छौं । मानिसहरुलाई साँच्चै आफ्नो लोकतन्त्रको अपनत्व लिन कसरी प्रोत्साहन गर्ने, उनीहरुलाई आफ्नो अर्थतन्त्र तथा यहाँका सामाजिक सवालहरुको अपनत्व लिन कसरी प्रोत्साहन गर्ने र उस्ताउस्तै चुनौती बेहोरेका मानिसहरुको विश्वव्यापी सञ्जालसँग कसरी सम्बन्ध स्थापित गर्ने, उनीहरुका समस्याबाट कसरी पाठ सिक्ने र त्यस विश्वव्यापी बुझाईमा कसरी योगदान पु¥याउने भन्ने जस्ता विषयहरुलाई पनि हामीले ध्यान दिएका छौं ।

अहिले नेपालको सार्वभौमसत्ता माथि नै प्रश्न उठिरहेको धेरैले महसुस गरिरहेका छन् । यसबारेमा अमेरिकाको टिप्पणी के छ ? नेपालको सार्वभौमसत्ता संकटमा परेको खण्डमा अमेरिकाबाट हुने संभावित व्यवहारबारे केही बताइदिनुस् न ।

नेपाललाई आधुनिक, सार्वभौम मुलुकका रुपमा पहिचान गर्ने प्रारम्भिक मुलुकहरुमध्ये संयुक्त राज्य अमेरिका पनि हो । मलाई लाग्छ विगत ७० वर्षमा हामीले नेपालसँग साझेदारी गरी उसलाई स्थापित गर्न र दक्षिण एसियाली मुलुकहरुको समूहमा सशक्त रुमा एकीकृत सदस्य बन्न सघाउनका लागि भरपूर कोसिस गरेका छौं । त्यसैगरी, हामीले विश्वव्यापी रुपमै नेपाललाई शान्ति स्थापना कार्यका क्षेत्रमा गरिरहेको सहयोगका बारेमा अलिकति चर्चा अघि नै भइसकेको छ । मलाई लाग्छ संविधान यहाँको लोकतन्त्र विकासको प्रमुख अंग हो । त्यो धेरै राम्रो अग्रगामी कदम हो । जहाँसम्म नेपालको सार्वभौमसत्ताको कुरा छ यसले त्यसमा कुनै असर पार्छ जस्तो मलाई लाग्दैन । सबै मुलुकले नेपाललाई सार्वभौम मुलुकका रुपमा पहिचान गरेका छन् । त्यसमध्ये संयुक्त राज्य अमेरिका पनि छ । वास्तवमा हामीले निकै लामो समयदेखि नै नेपाललाई सार्वभौम मुलुकका रुपमा चिनेका छौं ।

अन्तमा, भुकम्प र नाकाबन्दीबाट तंग्रन्दै गरेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ  ?

भुकम्पपछि हामीले नेपाली जनताप्रति समवेदना र चिन्ता व्यक्त ग¥यौं । त्यस प्रकारको विपत्तिबाट पुनरुथान हुनुका लागि लामो समय लाग्छ । पुनरुत्थान र पुनर्निर्माणको कार्यमा सहयोग गर्न हामी अत्यन्त प्रतिबद्ध छौं । यो कठिन घडी हो भन्ने बुझेको छु । समुदायहरु एकजुट भएर पुनर्निर्माणको कार्यमा जुटेको देख्दा र सुरक्षित पुनर्निर्माणको बारेमा विशेष सतर्कता अपनाएको देख्दा हामी पुलकिंत भएका छौं । बलियो संरचना मात्र नभई आफ्नो समुदाय कसरी बलियो र सुरक्षित बनाउने भन्नेतिर उनीहरुले सोचेका छन् । मलाई लाग्छ अमेरिकी नागरिकहरु र अमेरिका बाहिरका जनताका लागि यो निकै प्रेरक विषय हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु