Sunday, 19 November 2017 08:04 pm, Nepal

'डेमोक्रेसी भिडियो' विजेताको फिल्मी सपना

मेचीकाली : 2010-07-06 12:06:19


प्रजातन्त्र भनेको के हो ? २० वर्षे नेपाली युवाले यसको परिभाषा खोज्ने बिँडो उठाउँदा धेरैले 'दुस्साहसी कदम' भन्दै खिसी गरे। तैपनि उनको मिहिनेत र सिर्जनशीलताले रङ देखायो। र, श्रव्यदृश्यका माध्यमबाट प्रजातन्त्रलाई परिभाषित गर्ने उनको प्रयास विश्वचर्चित बन्यो। एक मिनेट २० सेकेन्डको 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्रले ८९ मुलुकका २ हजार २ सय प्रतियोगीलाई उछिन्दै अमेरिकी दूतावासको 'डेमोक्रेसी भिडियो प्रतियोगिता' मा पहिलो पुरस्कार हात पार्‍यो। यी युवा फिल्म निर्देशक हुन् - अनुप पौडेल। विज्ञानमा 'प्लस टु' गरेपछि राजधानीको अस्कर कलेजमा फिल्म निर्देशन पढ्दैछन्।

'यो दुई वर्षअघिको कन्सेप्ट हो,' कलेजसँगैको चियापसलमा साथीहरूबीच घेरिएका अनुप भन्छन्, 'प्राविधिक ज्ञान नभएकाले पोहोरको प्रतियोगितामा भाग लिन सकिनँ।' फिल्म निर्माणको सामान्य जानकारी पाउनेबित्तिकै उनी गोल्डन गेट कलेजको साइन्स ल्याबमा गएछन्, र सुटिङ थालेछन्।

प्रजातन्त्रलाई परिभाषित गर्ने क्रममा राजनीतिशास्त्रसमेत अध्ययन गरेका अनुपलाई युवावर्गले हात झिकेकै कारण नेपालको राजनीति गन्जागोल हुन पुगेकोजस्तो लाग्छ। प्रजातन्त्रलाई साधारण तरिकाले बुझाउन भनेरै आफूले वैज्ञानिक बाटो रोजेको उनी बताउँछन्। 'राजनीतिलाई जटिल हैन साधारण तरिकाले बुझ्नुपर्छ,' उनी भन्छन्, 'मेरो फिल्मको उद्देश्य त्यही हो।'

उनको परिभाषा सरलमात्र हैन, भिन्न पनि छ। विरोधको प्रतीकका रूपमा बुझिने कालो रङलाई उनले शक्तिको संकेत बताएका छन्। निलो, रातो, पहेँलो र हरियो रङको मिश्रणबाट कालो रङ जन्मिन्छ। उनले त्यसैलाई 'शक्ति'का रूपमा झल्काउन खोजेका छन्। शक्तिका लागि मेलमिलापको सन्देश दिने उनको अभिप्राय देखिन्छ। उनले आफ्नो वृत्तचित्रमा निलो रङलाई स्वतन्त्रता, पहेँलोलाई एकता, हरियोलाई शान्ति र रातोलाई मायाको प्रतीक बनाएका छन्।

'अनेकतामा एकताको नारा बोकेको हाम्रो देशमा भिडियोको आसय पनि त्यसैसँग मेल खाने खालको छ,' उनी भन्छन्।

अमूर्त चिजबाट केही गहन विषय सहजै बुझाउन सकिएमात्र त्यो कला हो भन्ने उनको बुझाइ छ। 'अनसिन क्यारेक्टर'बाटै धेरै सन्देश दिने प्रयास गरेका अनुप भन्छन्, 'भिडियोमा देखिने सबै कुरालाई अर्थपूर्ण बनाउन खोजेको छु। रङहरूको घोल हल्लिएको देखिन्छ। त्यो कुनै पनि चिज स्थिर छैन भन्ने संकेत हो। भाँडाको आकार पनि चारथरिका छन्। यसले विश्वको विविधता झल्काउन खोजेको छ। भिडियोमा मान्छेको हातमात्र देखाएको छु। यसको अर्थ हो, नदेखिएर पनि देखिनेगरी केही गर्न सकिन्छ। फ्रन्टमै आउन जरुरी छैन। सुफी संगीत प्रयोग गरेको छु, जसले नेपालीपन झल्काउँछ।'

फिल्ममा उनको यो पहिलो सफलता होइन। यसअघि एसियन डेभलपमेन्ट बैंकको छोटो फिल्म प्रतियोगितामा उनी प्रथम भएका थिए। यसपटकको सफलताले भने धेरै चर्चा दिलाएको उनले महसुस गरेका छन्।

'मलाई त झन् डर लागेको छ,' उनी भन्छन्, 'आफ्नो दायित्व बढेको ठानेको छु।' उनी यो फिल्म बनाउन निकै गम्भीरतासाथ लागेका थिए। त्यही भएर सफलताको आशा पनि उत्तिकै थियो। 'साथीहरूले धेरै एक्सपेक्ट नगर, सोचेजस्तो नभए फ्रस्टे्रसन हुन्छ भन्दा पनि म विश्वस्त थिएँ। सोचेजस्तो नतिजाले नयाँ काममा हौसला थपेको छ,' उनको भनाइ छ।

पढेरमात्र फिल्म बनाउन सकिएला भन्ने अनुपलाई एकरत्ति विश्वास छैन।

फिल्म निर्देशनमा स्नातक पहिलो वर्ष अध्ययनरत उनी भन्छन्, 'पहिला फिल्म निर्देशनमा करिअर बनाउने अठोट गरेँ। त्यसमा पूर्ण हुन पढ्न आएँ।' तैपनि, फिल्म निर्देशनको औपचारिक शिक्षाले मात्र राम्रो निर्देशक बनाउँछ भन्ने उनलाई लाग्दैन।

उनको भनाइमा, फिल्म भनेको सिर्जना र कला अभिव्यक्त गर्ने माध्यम हो।

फ्रेन्च फिल्मबाट प्रभावित छन्, अनुप। आफ्नो पुस्ताको रोजाइमा नपर्ने नेपाली फिल्मका पनि उनी नियमित दर्शक हुन्। फिल्मको विद्यार्थी भएकाले उनी नेपाली फिल्मको सूक्ष्म विश्लेषण गर्न अघि सर्छन् : 'यहाँ निर्माताले कलाकार छान्छन्। निर्देशकले स्वतन्त्रतापूर्वक काम गर्न पाउँदैनन्। कलाकारको अनुहारले फिल्म चल्छ। दर्शक रेखा थापाले फ्रक उचाल्छिन् कि भन्ने आस गर्छन्। राजेश हमालको गर्जन उस्तै छ। डाक्टरको 'इन्ट्री' स्टन्टबाट हुने अस्वाभाविक प्रस्तुति नेपाली फिल्ममै देखिन्छ।'

त्यसो भए यो माहोलमा अनुपजस्ता भविष्यका निर्देशकले कस्तो फिल्म बनाउलान्? 'एकदमै राम्रो बनाउने दाबी त गर्दिनँ। तर, यति नराम्रो पनि बनाउँदिन होला,' उनी कडा उत्तर दिन्छन्, 'म नेपाली जीवनसँग मेल खाने फिल्म बनाउँछु।'

उनको जवाफले अर्को जिज्ञासा उब्जायो। त्यसो भए अहिलेका नेपाली फिल्मले नेपाली जीवन झल्काउँदैन त?

उनी सिधै भन्छन्, 'मलाई सबै फिल्म बनावटी लाग्छन्।'

अनुसन्धान नगरी बनाएको फिल्मलाई 'रियल' दाबी गर्ने र कल्पनाशीलता प्रमाणित गर्न नसक्ने निर्देशक उनलाई नेपाली चलचित्र क्षेत्रका गाँठी समस्या हुन् भन्ने लाग्छ। 'नेपाली फिल्ममा न रियालिटी भेटिन्छ, न कल्पनाशीलता। दुवैमा चुकेकाले दर्शक घटेका हुन्,' मल्लकालका राजा प्रताप मल्लले १३ वर्षे किशोरीलाई बलात्कार गरेको सुनेका अनुप त्यसलाई अहिलेको परिवेशमा ढालेर फिल्म बनाउन चाहन्छन्।

नेपालमा कलात्मक र ऐतिहासिक फिल्म नचलेको पनि उनलाई थाहा छ। 'एउटा फिल्म असफल भएर जीवन नै असफल हुने त होइन। त्यसैले फ्लप हुने डरमा प्रयोग गर्न डराउने परिपाटी राम्रो होइन,' उनलाई विश्वास छ, 'अबको १० वर्षभित्र नेपाली फिल्मको धार र दर्शक दुवैमा ठूलो परिवर्तन आउनसक्छ।'

नेपाली फिल्मले सचेत निर्देशक र दर्शक पाउनेमा उनी ढुक्क छन्।

                                                                          -सन्तोष रिमाल /नागरिक

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु