Sunday, 19 November 2017 07:51 pm, Nepal

देशको गीत गाएर पेट पाल्नेको कथा

विनोद न्यौपाने : 2010-07-18 14:22:58


-विनोद न्यौपाने

केही समयअघिको कुरा हो,  काठमाडौंबाट बनेपा फर्कँदै गर्दा भक्तपुरको जगातीमा बस रोकियो । ड्राइभर दाइले सल्लाघारी आउनै लाग्दा बजाउन सुरु गरेका थिए शिशिर योगीले गाएको मर्मस्पर्शी गीत ‘सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनी.....।’ बस पुनः हिँड्नै लाग्दा एक युवा हतारहतार पसिना पुछ्दै बसको पछाडिपट्टि आइपुगे । अनि बस चल्न सुरु गरेलगत्तै सुरु भयो उनका गीत । र, ड्राइभर दाइले वन्द गरे शिशिर योगीका गीत । संयोग के भने योगीका गीतमा सारंगीका कुरा थिए । ती युवा भने सारंगी बजाएर गीत गाउँदै थिए ।

हातमा सारंगी, केही महिलो कपडा, अनि टाउकोमा उनीको टोपी । उनी हुन् नवराज गन्धर्व ।

२३ वर्षका नवराजले बसका यात्रीलाई भटाभट देशका कहानी गीतमार्फत सुनाउन सुरु गरे । कहिले सीमा मिचिएका कुरा त कहिले संक्रमणकाल अनि कहिले जनआन्दोलनका घाइतेका कुरा । झण्डै आधाघण्टा लामो यात्रामा उनले यस्तै यस्तै गीत गाए । उनको गीत सुरु भएपछि अघिदेखि चर्किरहेको बसभित्रको हल्ला मत्थर भयो । सबै उनको गीतमा मन्त्रमुग्ध भए । बसबाट ओर्लने बेलामा उनले सबै यात्रीका सामू हात फैलाए  । पाँच, दश, बीस यस्तैगरी ‘मनकारी’ यात्रीले पैसा दिए । बिहानपख हिमालका घाम लागेजस्तै उनको मुहार केही चम्किलो भयो ।

पाँच वर्ष भयो नवराजले यसैगरी बसहरुमा गीत गाउँदै हिँडेको । तर, उनले बसहरुमा जति पनि गीत गाए, मायाप्रितीका गीत निकै कम गाए । देशको समसामयिक अवस्थालाई उनले आफ्नो गीत बनाए । अनि सचेत गराए, ‘हामी चुप लागेर बस्न हुन्न है’ भन्दै । उनी गाउँछन् देशको वर्तमान राजनीतिक अवस्थाका बारेमा, अनि गाउँछन् सीमा मिचिएका र भारतीयले नेपालीलाई हेपेका विषयमा ।

रेडियोमा सुन्ने गर्छु, पत्रिकामा पढ्छु
हाम्रौ सीमा मिचियो भन्दा बेहोस भई ढल्छु
ठोक्न सक्लान गोली तिनले, हान्न सक्लान डण्डा
मिचिएको हाम्रो सीमामा गाडौं हाम्ले झण्डा....

उनलाई सुस्ता मिचिएको चिन्ता छ, नेपालीहरु घरबारबिहीन भएर बस्नुपरेको चिन्ता छ । उनी समस्याका मात्रै गीत गाउँदैनन् । गीतबाटै साहसका कुरा गर्छन् । सीमा मिचिएका ठाउँमा गोलीको परवाहसमेत नगरी झण्डा गाड्ने कुरा गरिरहेका हुन्छन् उनी । ‘कसरी यस्ता कुरालाई गीत बनाउनुहुन्छ ?’ प्रश्न भुईमा झर्न नपाउँदै उनले भने, ‘दिनदिनै रेडियो सुन्छु र पत्रपत्रिका पढ्छु ।’ रेडियो र पत्रपत्रिकामा यस्ता समाचार आएपछि रातभरि सोचेर गीत बनाउने गरेको उनले सुनाए । नेताहरुले देशको चिन्ता नगरेकोमा आक्रोशित छन् उनी । ‘नेताहरुलाई देशको बारेमा वास्ता छैन, हामीले सारंगीको माध्यमबाटै भए पनि जनतालाई सुसुचित गराउने काम गरेका छौं’ आफ्नो कामप्रति गर्व गर्दै उनले सुनाए ।

पाँच वर्षे यात्रामा अहिलेसम्म उनले कुनै पनि बसका यात्रुको गाली खाएका छैनन् । देशका गीत गाउँदै हिँड्दा धेरैले राम्रो गायौ भनेर हौसला दिने गरेको उनी वताउँछन् । भन्छन्, ‘कतिले त राम्रो गीत गायौ, फेरि गाउ भन्छन् ।’ बसका यात्रीलाई गीत सुनाउँदै उनी नेपालका धेरै जिल्ला पुगेका छन् । दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा लगायतका थुप्रै जिल्लामा सारंगी बजाउँदै पुगेको उनले वताए ।

बाँच्नै गाह्रो पीरमाथि पिरै सहेर
अहिलेसम्म थलाको थलै छु
आन्दोलनमा घाइते भएर....

उनले जनआन्दोलनका घाइते मुकेश कायस्थ र विष्णुलाल महर्जनको बारेमा धेरै पढेका र सुनेका रहेछन् । र, उनीहरुकै पीडालाई महसुस गरी यस्ता गीत बनाएका रहेछन् । ‘उनीहरुको योगदानको कदर गर्नै भए पनि उनीहरुका पीडालाई गीत बनाएर अरुलाई सुनाउँदैछु’ उनी भन्छन् । उनका यस्ता थुप्रै गीत छन् जसले आम नेपालीका कुरा बोल्छन्, आम नेपालीका दुःख र पीडाका कुरा गर्छन् । तर, उनलाई चिन्ता भने एउटै छ देश राम्रो नबन्ने हो कि भन्ने । ‘देश राम्रो भए, शान्ति छाए धेरै खुशी लाग्थ्यो’ उनले चिन्ता गर्दै भने, ‘यस्तो अवस्था कहिलेसम्म रहला ?’

नवराज पोखरामा जन्मिए र तनहुँमा हुर्किए । गन्धर्व परिवारमा जन्मेकाले सानैदेखि उनको साथी सारंगी बन्यो । उनले जान्ने भएदेखि सारंगी बजाउन खोजेका रहेछन् । र, अलि ठूलो भएपछि विस्तारै सिक्न थाले । ‘मेरो बुबा पनि सारंगी बजाउनुहुन्छ’ उनले भने, ‘बुबाले बजाएको देखेर सिकें ।’ आथिृक अभावका कारण उनले ६ कक्षा पढ्दा पढ्दै पढाई छाडे । अनि सारंगीभमै आफ्नो भविश्य खोजे । केही वर्ष सारंगी बनाएर बेच्नेसमेत काम गरेका उनलाई त्यो व्यापारमा चित्त बुझेन । ‘कहिले राम्रै कमाइ हुन्छ कहिले हप्तौंसम्म कमाई नै हुँदैन’ सारंगीको व्यापार छाड्नुको कारण सुनाए, ‘त्यही भएर यही बाटोमा लागियो ।’ उनका बाबु पनि यसैगरी बसमा गीत गाएर जीविकोपार्जन गरिरहेका छन् । यसैगरी अन्य ६ जना गन्धर्वले पनि यसैगरी गीत गाएर पेट पालिरहेको उनले वताए ।

पेट पाल्नकै लागि बस–बसमा गीत गाउँदै हिँडेको स्वीकार्दैनन् उनी । ‘हामीले देशको गीत गाएका छौं, जनतालाई सचेत बनाएका छौं’ उनले दाबी गरे, ‘हाम्रो लोक संस्कृतिको रक्षा पनि गरेका छौं ।’ गन्धर्वहरुको लोक संस्कृतिको धरोहर मानिएको सारंगी लोप हुँदै गएको उनको अनुभव छ । पहिलाको जस्ता सारंगी बनाउने र बजाउने मान्छे नभएको उनले वताए । सारंगी बजाउँदै आफ्नो जीवन सिध्याएका झलकमान गन्धर्वलाई उनले सम्झिए । उनकै कारण अहिलेसम्म सारंगी र यसको धुन लोप नभएको उनको भनाई छ । ‘हाम्रो लोक संस्कृतिको रक्षा गर्न सरकारले चासो दिएको छैन’ उनले भने, ‘यसरी बसमा बजाउन छाडेर घरमै बसें भने पनि सारंगी बजाउन भने छाड्दिन ।’ जीवनभर सारंगी बजाउने उनको धोको छ ।

घरमा ६ जना छन् उनका । उनीहरुलाई पाल्ने जिम्मेवारी उनी र उनका बाबु जंगवहादुरको हातमा रहेका छ । एक भाई र एक बहिनी विद्यालयमा पढ्दैछन् । ‘आफूले पढ्न नपाए पनि उनीहरुलाई धेरै पढाउने धोको छ’ उनले सुनाए । पैसा कमाउन सके गन्धर्व गीतको एउटा एल्बम निकाल्ने उनको इच्छा रहेछ । एल्बम निकाल्दा गन्धर्व गीतको रक्षा हुने उनले वताए । ‘अहिले निस्केका एल्बममा सबै आधुनिक संगीत छन्’ उनले भने, ‘मैले निकाल्ने एल्बममा गन्धर्व गीत र सारंगीको धुन हुनेछ, अनि देशका समस्याका बारेमा ती गीत र धुनले बोल्नेछन् ।’

यो विषयका प्रतिक्रियाहरु

Gaule Bhai:Jul 19, 2010 07:48:03 PM

Ramro 6a. nawaraj badhai timlai

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु