Saturday, 22 September 2018 05:40 pm, Nepal

कीर्तिपुर : एकीकृत पर्यटन परियोजनामा

मेचीकाली : 2018-08-15 14:51:35


– कृष्णराज गौतम
काठमाडौँ, ३० साउन (रासस) :

कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो ।

आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । शहरी भेगमा नेवार जाति तथा समुदायको मुख्य बसोबास रहेको भए पनि गाउँगाउँमा क्षेत्री, मगर समुदायका मानिस बस्छन् । उनीहरुको भाषा, धर्म र संस्कृतिमा पनि विविधता रहेको छ । पछिल्लो समय बसाइँसराइका कारणले बाहिरी जिल्लाबाट आएर घर घडेरी जोडेर बस्नेको सङ्ख्या बढ्दै गएको छ ।

नगरमा मल्लकालीन समयदेखि विकास भएका विभिन्न कला र संस्कृतिको प्रभाव पाइन्छ । यहाँका प्राचीन महत्वका सम्पदास्थललाई प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्ने नीति परियोजनामा लिइएको नगरपालिका उपप्रमुख सरस्वती खडकाले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनसमेत पर्दछन् ।

विसं २०५३ चैत १४ गते नगरपालिका ऐन २०५३ अनुसार गठन भएको उक्त नगरपालिकामभित्र पाँगा, चोभार, भाजङ्गल, ट्याङ्ला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँबजार र भत्केपाटीसमेत प्रमुख स्थान छ । नगरपालिकाका अनुसार त्यस क्षेत्रमा कालोपत्रे सडक ३५ किमी, ग्राभेल सडक ४० किमी, कच्ची सडक ३५ किमी छ ।

कीर्तिपुर शहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वाग्मती नदी, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । नगरपालिकाको कूल क्षेत्रफल १४ दशमलब ७६ वर्ग किमी छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कीर्तिपुरको कूल जनसङ्ख्या ६५ हजार ६०२ छ । यहाँका अधिकांश स्थानीय बासिन्दा कृषि पेशामा निर्भर छन् ।

स्थानीय पर्यटनको विकासमा लामो समयदेखि क्रियाशील विजयकुमार महर्जनले करीब एक दशकदेखि कीर्तिपुर हिल साइड रिसोर्ट सञ्चालन गर्दै आउनुभएको छ । रिसोर्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार यस क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न राम्रो तारे होटलको विकास नभएका कारण पर्यटकीयस्थल ओझेलमा परेका छन् । पर्यटन क्षेत्रको विकास गरी स्थानीय सम्पदा तथा संस्कृतिलाई पर्यटकसँग जोड्न सकेमा स्थानीय क्षेत्रको बहुआयामिक विकास हुने उहाँले बताउनुभयो ।

अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ओगटेको नगर क्षेत्र वरपरका भागमा राम्रो र व्यवस्थित सडक यातायातको सुविधा विस्तार हुन सकेको छैन । शहरी क्षेत्रमा औद्योगिक कलकारखानाका साथै बजारको व्यवस्था, खानेपानी, बिजुली, टेलिफोनको सुविधा छ ।

जलविनायक, आदिनाथ मन्दिर, पोखरी, चिलन्चो विहार, उमामहेश्वर, कर्कोटक नागको वासस्थान टौदह धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने सम्पदास्थल छन् । यिनलाई नै पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय महेश श्रेष्ठले बताउनुभयो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुरलाई तीन पटक आक्रमण गरेको इतिहास पाइन्छ । मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय विसं २०१६ मा यहाँ स्थापना भएको भए पनि स्थानीयवासी अपेक्षाकृत रुपमा शिक्षित हुन सकेका छैनन् । विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरवासीको अग्रणि भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु