Saturday, 23 September 2017 02:52 pm, Nepal

लण्डन सहर र नेपाली युवती

मेचीकाली : 2011-02-03 09:41:30


सुबिसुधा आचार्य

मौसम पूर्णिमाको रात जस्तो छङ्ग स्पष्ट खुलेको छ, खुल्ला नीलो आकाशमुनिको लन्डन सहर चम्किलो देखिन्छ एक यौवन सुन्दरीझैँ आफैमा निकै सुन्दर आकर्षणमय । चेरिङक्रस रेल्वे स्टेसनमा उत्रेर लामो आङ् तन्काउँछु म जसरी पोखरीमा डुबेर निस्केको गैंडाले तान्छ । मेरो यात्रा थेम्स नदीमाथि बनेको गोल्डेन जुब्ली ब्रिज हुँदै अगाडि बढ्छन्, आहा ! कति निर्मल, सुन्दर, कन्चन थेम्स नदी, ब्रिजबाट नियाल्छु म नदीलाई धितनमरून्जेलसम्म ।

अञ्जुलीमा उठाउन मन लाग्छ थेम्न नदीको हिउँ जस्तो सेतो पानी, लुकामारी खेल्न मन लाग्छ त्यही पानीभित्र । नदीमा डुङ्गा तैरिएको देख्दा यस्तो लाग्छ नदी एक सुन्दरीको मुहार र डुङ्गा उसले लगाएको सिंगारको सामान, चुम्न मन लाग्छ भित्रैबाट नदीलाई उसको सुन्दरताले मोहित बनाएर किन किन ।

गोल्डेन जुब्ली ब्रिज पार गरेर म जुब्ली गार्डेनमा पुग्छु । मात लगाउँछ त्यहाँको मनमोहक दृश्यले उसैउसै । झस्स मलार्ई काठमाडांै, रत्नपार्कको याद आउँछ तर कहाँको बदाम र सुन्तलाको बोक्राले बिफर आएको मान्छेको गाला जस्तो फोहोरो रत्नपार्क, कहाँ आफ्नै पैतालाको मैलो सर्लाझैँ चम्किलो सफा सुकसुकाउँदो जुब्ली गार्डेन ।

ब्रिटिस एअरवेंज लन्डनआइबाट सिङ्गो लन्डन सहरको दृश्यहरू अवलोकन गर्नु मेरो उदेश्य थियो, म टिकट किन्नलाई लाइनमा बस्छु । ब्रिटिस एअरवेंज लन्डनआई लन्डन सहरकै एक प्रमुख पर्यटकीय स्थल हो भन्दा अतियुक्ति नहुने प्रमाण त्यहाँको भिडभाडले गराउँछ मलार्ई । आफ्नो इच्छालाई परिपूर्ण पार्नको लागि जति सुकै अप्ठेरो, लामो प्रतीक्षा पनि गर्न सक्छ मान्छे भन्ने कुराको म आफै ज्वलन्त उदाहरण बनेँ ।

टिकट लिएँ, मन उसै चञ्चल भइरह्यो, जुन ठाउँको बारेमा म पत्रपत्रिकामा पढ्दा नै रोमाञ्चित हुन्थेँ भने आज उसैको काखमा बसेर खेलिरहेछु निर्धक्क । सुमसुम्याउँदै छु उसको अङ्गप्रत्यङ्ग, मन फुलेको छ इन्द्रकमल फुलेझैँ ढकमक्क, जब अवलोकन कक्षमा प्रवेश गर्ने पालो आयो म भित्र पसेर सिटमा बस्छु थचक्क । कता कता रोटेपिङ जस्तैजस्तै पनि लाग्यो मलार्ई ब्रिटिस एअरवेंज लन्डन आई तर मात्र त्यो मेरो एउटा हाँस्यासपद अनुमान हुन्छ किनकि कहाँको मामुली रोटेपिङ् र कहाँको लन्डनआई ।

राम्रो हेर्न, मीठो खान, सफा लगाउँन र आरामदायी ठाउँमा बस्न मनको सधैँ माग हुन्छ फरक यत्ति हो कि चाहेको सबै प्राप्त हुँदैनन् । हुनुपर्छ भन्ने पनि छैन, कारण मन एउटा प्यासी कुवा हो जहाँ परिपूर्तिको जति पानी ओइराए पनि भरिन्न र धीत पनि मर्दैन । यदि यसरी धीत मर्दो हो त संसारमा नयाँ नयाँ आविष्कार हुने नै थिएनन् मान्छे मात्र ढुङ्गेयुगमा अल्झन्थ्यो होला ।

एउटा केवलकारमा आठ जनाको सिट भए जस्तै एउटा अवलोकन कक्षमा पच्चीस जना बस्न मिल्ने रै‘छ । म बसेकै अवलोकन कक्षमा एउटा नेपाली चेहेरा झुल्कियो झल्याक झुलुक, मलार्ई उनको त्यो सुन्दर चेहेरा कहीँ कतै देखे जस्तो, कतै भेटे जस्तो परिचित लाग्यो । उनलाई पनि त्यस्तै लागेछ क्यारे र त चोरी चोरी नियाल्छन् एकजोडी आँखा ।

थेम्स नदीको किनारैमा निर्माण गरिएको लन्डन आइबाट थेम्स नदी झन सुन्दर देखिन्छ, अत्यन्त मनमोहक । अग्लो ब्रिटिस टेलिकम टावर पनि सुन्दर देखिन्छ लन्डन आइबाट । लन्डन सहरका मुख्य अग्ला भवन सेन्टर प्वाइन्ट, वाटरलु ब्रिज सबै आँखाका नानीमा रोटेपिङ खेल्न आइपुग्छन् ।

मैले काठमाडौंको धरहरा सम्झिएँ त्यो पल तर लन्डन आइबाट लन्डन सहर नियाल्न जति सहज छ धरहराबाट काठमाडौं नियाल्न त्यति सहज छैन । हुन त धुलो धुवाँको राजधानी काठमाडौ सहरलार्ई लन्डनसँग दाँज्न पटक्कै सुहाउन्न । काठमाडांैको घण्टाघर झैँ लन्डन सहरको बिगबेन नामक घण्टाघर पनि नजिकै हेर्न पाइयो लन्डन आइबाट । लन्डन आइको अवलोकन कक्षबाट फनक्क एक फन्को मार्दा सिङ्गो लन्डनको दृश्य एकैपटक झुम्मिन आयो आँखाभित्र परेलीमा टेकेर, थेम्स उपत्यकालाई नजिकबाट छामेको महसुस भयो मलार्ई ।

हामी पालैपालो अवलोकन कक्षबाट उत्रियौँ, त्यो अर्ध परिचित एकजोडी आँखाहरू पच्छ्याउँदै छ अझै पनि मलार्ई, उनी सामु नपुगी छुट्टिन पटक्कै मानेन मन, एक प्रकारको चुम्बकीय शक्तिले तान्यो मलार्ई उनीतिरै ।

उनी जुब्ली गार्डेनमा गएर बसिन्, मलार्ई यस्तो लाग्यो उनी मलार्ई पर्खिदैछिन् । उनका अमूक हेराइले डाकिरहेछ मलार्ई, ठूला ठूला नजर पर्लक्क मतिर पल्टाउँदै एउटा मीठो आनन्दको अनुभूति तरङ्गगित बन्छ नसा–नसामा । हेराइकै वाण लागेर घाइते म मुसुक्क हाँस्दा जहर पिएझैँ मद्होश नै बन्न पुग्छु ।

मन हो एउटा अमूर्त पंक्षी वशमा राख्न सकिन्छ र ? यदि मनलाई वशमा राख्न सक्ने हो भने संसारमा नराम्रा गतिविधि, गलत काम, कुकर्म एउटा पनि हुँदैन थियो । मनलाई वशमा राख्न नसक्दा पाइलाहरूमा भोटेताल्चा लगाउने अथक प्रयास विफल बनेर मोडियो पाउ उनीतिरै । छेउमा पुगेर न बस्न सकेँ न उनलाई बोलाउन नै, धार्नीको घन्टो झुन्डियो जिब्रोको टुप्पोमा, आवाज किलकिलोसम्म धकेलिए पनि जिब्रोमा झुन्डिएको घन्टोको रालो बज्न सकेन ।

मेरो अप्ठेरोपन, असहज परिवेश मौन नियालिरहेकी उनले छेवैमा बस्न आग्रह गरिन्– “अरे ! बस्नुस् न किन उभिनु भएको ?” म पुन करेन्ट लागेर झस्किएझैँँ भएँ, थर्थराएको शरीरले उनी नजिकै चाह्यो विश्राम लिन ।

एकमन त लाग्यो उनी अन्तरयामी पनि जस्तो, नत्र मेरो मनको कुरा कसरी बुझिन् कि म उनको नजिक बस्न चाहन्थेँ तर सकिरहेको थिइन । जे होस् अनुमति दिएकोमा धन्यवाद दिएँ, भगवानलाई मनमनै ।

अप्ठेरो मलार्ई मात्र कहाँ लागको हो र ? त्यो पीडाबाट अछुत थिइनन् उनी पनि भन्ने प्रमाण उनको हातमा रहेको नेपाली सन्देश साप्ताहिकलाई ओल्टाई पल्टाई बनाउनुले बताइरहेछ । कहिले सिरानमा त कहिले पुछारमा पत्रिकालाई खूव चलाउँछन् उनका हातहरू भने नजर थेम्स नदीमा, कहिले लन्डन आइ त कहिले हुत्तिन्छ मसम्म ।

वार्तालापको सुरूवात गर्ने विषय बनेको छैन हामीबीच, न उनी कुराको उठान गर्न सक्छिन् न मैले नै बोलाउन सकेको छु, वातावरण शून्य छ हामी छाँै बिनासंवाद, म उनको मुहारमा हेर्छु उनी लाजले शिर निहुँराउँछिन् । उनी हेर्छिन् म अन्यत्र आँखा मोड्छु, केही समय फुत्किन्छ त्यसरी नै हाम्रो हातबाट ।

“तपाईं कमलजी हैन ?”

वाक्य फुट्यो उनकै मुखबाट, म झन झस्किएँ पैतालामा सिस्नुले पोले जस्तो अप्ठेरो पर्दा झन ह्वात्तै खस्यो मतिर, ला कतै म चिनेकै मान्छेको सामुमा बुख्याँचा त बनिरहेको छैन ।

“तपाईंले मलार्ई चिन्नु भयो तर मैले त चिनिन नि, नेपालको कुन ठाउँमा हो तपाईंको घर ?”

 डराई डराई वातावरण सहज बनाउने प्रयासमा प्रश्नको झटारो बजारे उनीतिरै झड्याम्म । तर उनी उल्टै क्वाप्प खाउँलाझैँ गरेर हेर्छिन् । हेराइले डर, त्रास र अप्ठ्यारोले कुम्लो पारेर ल्याउँछ मनमा र गिजोल्छ त्यसैले बेस्सरी । चिटचिट पसिना छुट्यो छातीको खोल्चोमा यस्तो लाग्यो त्यहीँ बगेर मिसिन्छु कि कसो थेम्स नदीमा एकपटक ।

नजरको तीर मुटु नै छेडाँैला जस्तो गरी वर्सियो अङ्ग–अङ्गमा, अदृश्य पीडाले कोपरिरह्यो मुटु, उज्यालो मुहार, रातो घुम्रिएको कपाल, थेम्स नदीबाट बहेको हावाले उडाउँथ्यो फुर्र फुर्र उनको निधारमा । हावाको चुम्बन पनि घातक होलाझैँ कोमल छ उनको मुहार ।

पहेँलो कलरको टिसर्ट र ब्राउन पाइन्टमा चन्द्रमा झैँ खुलेको छ सौन्दर्य, सुन्दर बगैंचामा फुलेको मखमली फूल जस्तै सुन्दर अति सुन्दर । म हेरिरहन चाहन्छु त्यो सुन्दरता एकनास आँखा नझिम्काई । हुन त सुन्दरता कसलार्ई मन नपर्ला र ? पुतली पनि त फूलको सुन्दरतामा लोभिन्छ लठ्ठ परेर भने म उनको सुन्दरतामा त्यसै भावुक बन्छु ।

यौवनको मादकता घुलियो सिङ्गो वातावरणमा, उनी को हुन् ? चाहन्न म अनुमान लगाउन, सामुन्य छिन् नियाल्न पाएकोमा प्रफुल्ल छ मन । मुहार हेर्दा चिनजानको पिपिरो टुसाउन खोज्छ तर झाङ्गिने माहोल बनाउन सक्दिन म ।

ब्यागबाट चुरोटको बट्टा निकालिन् र बढाउँछिन् मतिर ।

“सरि म चुरोट खान्न नि ।”

 चम्किलो आँखा झन आगो झैँ चम्किलो बनाउँदै बोल्छिन् उनी । “ओ ! त्यसो पो, अँ साँच्ची कमलजी कहिले आउनु भयो लन्डन कि यतै हुनुहुन्छ ?” चुरोट ओठले च्याप्प च्यापेर लाइटर बाल्छिन् उनी ।

“त्यस्तै एक हप्ता भयो, अफिसियल कामले आएको हुँ एक महिनाको लागि । आएको बेला लन्डन आइ किन नहेराँै भनेर यता पसेको, अनि तपाईंलार्ई हेर्दा त यतै बस्नु हुन्छ जस्तो छ हैन र ?” डराई डराई प्रश्नको एक झड्का हुत्याएँ मैले पनि उनी छेउ ।

“कमलजी ! तपाईंले मलार्ई अझै चिन्नु भएन, त्यत्रो दश दश वर्ष कुकुर बिरालो जस्तो झगडा गरेर बिताएको कसरी भुल्नु भो हँ, बिर्सनुभयो एक्ले पीपलमा बाटो छेकेको, कि भुल्नुभयो क्लासमा मलार्ई सधैँ पछाडि बेन्चमा मात्र खटाएको कुरा, सिन्धुरे खोलामा ब्याग बगाइदिएर सबै किताब भिजाएको झ–झल्को त होला नि हैन ?”

खितिति हाँस्दै चुरोटको धुवाँ बुङ्ग उडाउँछिन् उनी, म एकै पटक सेन्टर प्वाइन्ट नामक अग्लो भवनबाट सडकमा खसे जस्तो भएँ, विगत एकपटक परेड खेल्न आइपुग्छ स्मरणमा ।

“तिमी शिल्पा ! यम आइ राइट ?”

 “मूर्ख त्यत्रो क्लिउ बताउनु पर्ने तपाईंलाई त मैले परैबाट चिनेको थिएँ त्यो छुच्चो अनुहार, घमन्डी चेहेरा अनि मलार्ई सताएको कहाँ भुल्न सक्छु र ?” उनी अलिकति भाबुक बनिन् ।

“सरि ! शिल्पा, तिमी पहिलाकी जस्ती छैनौ, कहाँको त्यो काली, छोटो कपाल बनाएकी रिसाहा, पिलन्धरे शिल्पा । कहाँ चन्द्रमा झैँ धपक्क बलेकी तिमी, आकाश जमिनको फरक छ त्यो शिल्पा र तिमीमा, नारीको जीवनमा त निकै ठूलोे उथलपुथल पो आउँदो रै‘छ । त्यो कुरा भनेको मात्र सुनेको थिएँ तर आज तिमीमा आएको परिवर्तन देखेर पत्याउन बाध्य बनाएको छ ।

पहराबाट पानीको मूल फुटेजस्तो हाँसो छुट्दा, उनका चाँदीजस्ता टम्म मिलेका सेता दाँत देखाएर खुव हाँसिन् उनी । “तपाईं त अझै उस्तै हुनुहुँदो रहेछ ख्याउटे, दुब्लो, रोगी, पीपलपाते, खबटे, हुट्ट्यिाउँ, बाँस.................. ।”

सोलीबाट घट्टमा मकैको ओइरो छुटे झैँ छुट्छ गालीको पर्रा उनको मुखबाट । पहिला तिनै शब्द सुन्दा असह्य हुन्थ्यो, कानको जाली फुट्ला झैँ, रीसको ज्वाला पैतालाबाट उम्लिन्थ्यो रसेटोमा खुँदो पाकेसरी तर आज गाली पनि कति मीठो ।

मन परेको मान्छेले गाली गरे पनि ।

प्यारो कति प्यारो आँखा तरे पनि । ।

“कमलजी ! कुन संसारमा हराउनु भएको ? कतै अतीतको कुटुरो फुकाउन त थाल्नु भएन, साँच्चै कति रमाइलो थियो त्यो समय, तपाईं खालि मेरो रिस गर्ने, गाली गर्ने मलाई त्यो दिनको विशेष सम्झना आउँछ । भुवन सरले सामाजिक शिक्षाको नम्बर सुनाउनुभयो । मेरो नम्बर तपाईंको भन्दा पाँच नम्बरले बढी आयो । बाफरे त्यो पल हाँडी घोप्टाएको जस्तो अनुहार लगाउँदै भुवन सरलार्ई मुख छाडेको कहिल्यै बिर्सन्न, बिचरा भुवन सर, कापी नै तपाईंको अगाडि ल्याएर पछार्नुभाथ्यो । यस्ता घटना त कति कति सञ्चय भएर बसेका छन् मेरा मानसपटलमा तपार्ईंंको यादसँग । शारीरिक शिक्षामा खेल खेल्न जाँदा मैले खेले तपाईं खेल्नु हुन्न थियो । यस अर्थमा कुनै पनि खेल नखेली पढेकै आधारमा परीक्षा दिएकी थिएँ मैले । यस्तो लाग्छ तपाईंसँग जोडिएका हरेक घटना र तपाईं जीवनकै एक प्रमुख अङ्ग बन्नु भएको छ मेरो लागि आज ।

“छाड सिल्पा ती बितेका दिनहरू, अतीत त अतीत भैगयो मुठ्ठीबाट फुत्केको, अब यहाँ फर्केर वर्तमानलाई किन धमिलो बनाउनु । म त वर्तमानमा जिउन चाहन्छु बरू भन न तिमी यहाँ के गर्दैछौ, कसरी आयौ लन्डन ?”

“किन र महाशय पछि लाग्न मन लाग्यो कि कसो ?”

मादक हाँसो फैलिन्छ चारैतिर, उनी हाँस्दा यस्तो लाग्छ सुनाखरी फक्रिएको, लन्डन सहरको त्यो सुन्दरता सिल्पाको अगाडि फिक्का छ एकदम फिक्का । हेर्दा हेर्दै उनका लालित्य सुन्दरता पैचो मागौँ कि जस्तो पनि लाग्छ मलार्ई ।

“कमलजी ! म लन्डन आएको त्यस्तै पाँच वर्षजस्तो भयो, म लन्डनको एक्टन स्थित क्विन्सल्यान्ड कलेजको लाइब्रेरीमा काम गर्छु । तपाईंलार्ई थाहा छ ?”

आँखा ठूलोे बनाउँदै र परेली नचाउँदै आश्चर्य जनक भावमा भन्छिन् उनी– “त्यस कलेजमा नेपाली पन्ध्रजना विद्यार्र्थीहरू छन् । उनीहरूसँग भेट्दा मलार्ई आफू नेपालमै भएको प्रतीत हुन्छ । के गर्ने कमलजी तपाईंले जस्तो जिल्ला टप एस.एल.सी.मा गर्न सकिएन । अंग्रेजीमा बत्तीस ल्याएर बल्ल बल्ल पास गरेको मार्कसिटले राम्रो विषय लिएर पढन पनि पाइएन । पद्म कन्यामा पढदै गर्दा, बाइचान्स लन्डन आउन पाइयो, अनि बताउनुस् तपाईंको घर परिवार, पढाइ कहाँ पुग्यो ?”

लामो चुरोटको सर्कोसँग आफ्नो विगत अलिकति खोतलिन् उनले, कतै मलाई खोतलखातल पार्दै त कतै आपैmलाई चिरफार गरेर, उनको भनाइसँग लडिबुडी गर्दै विगतमा पुग्छु म पनि एकपल्ट । धमिलो छायाँ कुहिरो मडारिएझैँ मडारिएर आउँछ मानसपटलमा । सोचाइ त त्यसैमा डुबुल्की मार्न खोज्दै थियो तर त्यति रमणीय पल तीतो विगत केलाएर खेर पाल्न चाहिन मैले ।

“त्यही त शिल्पा ! एस.एल.सी.मा जिल्ला टप हुनु नै त दुर्भाग्य हो मेरो लागि, स्तरीय पढाइ, लक्का जवान, खानदानी घर परिवार हुनुको पीडा छुट्टै छ म भित्र, तिमीले जस्तो गोल्डेन चान्स भाग्यले कहिल्यै जुराइदिएन मेरो लागि । एउटा सरकारी बैंकमा जागिर, पारिवारिक रणभूमि, दिक्क लाग्यो जीवन । तिमीलाई यो सहरमा खुल्ला जीवन बिताएको देख्दा ईष्र्या पो लाग्यो गाँठे मलार्ई ।

लोठ लेप्राउँदै हाँसिन् मुख छोपेर उनी “हेर न शारीरिक बनावटमा परिवर्तन आएपनि बानी ब्यहोरामा र बोलीचालीमा भने लन्डनको हावाले छोएको रैनछ नानीलाई ।” यति मात्र के बोल्न भ्याएको थिएँ सिङ्गै निलौलाझैँ गरेर हेरिन् मतिर ।

“अँ साच्ची तपाईंले विवाह गर्नुभयो ?”

 अप्रत्याशित सोधाइको झड्का लगाइन् दिमागमा, उनको यो सोधाइले म पुनः फेरि विगतमा गएर पछारिएँ नराम्रोसँग । बेजोडले पछारिदा पूरै शरीर थिलथिलो भएर दुखेको अनुभव भयो मलार्ई ।

कसरी भनौँ विवाह त भयो तर श्रीमतीसँगको सहबास कस्तो हुन्छ अनुभव छैन भनेर, जुन कुरा विवाह गरेको तीन वर्ष बिति सक्यो जन्म दिने बाबु आमालाईसम्म खोल्न सकिन । अझैं सम्झना छ विवाहको तेस्रो दिन नयाँ दुलहीसँग सुहागरात मनाउने क्रममा थाहा पाएँ कि उनी नपुंसक हुन् भनेर । यो कुरा उनले र उनको बाबु आमाले सोच्नुपर्ने कुरा हो कि विवाह केटाकेटीको खेल हैन जुन पटक पटक गर्न सम्भव होस् । तर सोच्नेले सोचेनन् र धोका दिए यसो भनौँ फसाए । हेर्दा उनी शत प्रतिशत नारी हुन् । मात्र एकचिज बाहेक सब भरिपूर्ण छ । अब म कसरी ओकल्न सक्छु वास्तविकता, के श्रीमान् र श्रीमतीको सम्बन्ध शारीरिक सम्बन्धमा मात्र गएर टुङ्गिन्छ र   आत्मीय प्रेम पनि त सम्बन्धको अर्को रूप हो ।

 तिमीलाई के थाहा सिल्पा   कुन जिन्दगी गुजार्दै छु म । विवाहित भनाँै भने कुमार नै छु अविवाहित भनौँ त अग्निको सात फेरो लिएर नारी आकृतिलाई सिन्दुरलाइ सकेँ सबैको सामुन्ने । मलार्ई भोगाइले चिमोट्छ असैहे हुने गरी । म उनीसँग सहकार्यमा जिउँदै आएको छु मात्र मनको । मन अति नाजुक हुँदो रहेछ, नेपालमा छँदा आफ्नो मनलाई बशमा राखेको थिएँ तर जब लन्डनमा सिल्पालाई भेटे तब नाजुक मनले बनायो एउटा कल्पनाको धरोहर । त्यसैमा रम्न खोज्दा थाहै नपाई धकेलिएँ पुन यथार्थको गहिरो धरातलमा । वर्सन लागेको मेघले ढाकेको आकाश जस्तो हुन्छ मुहार, म आफैलार्ई थाहा छ कपडामा दल्न ठीक्क पारेको आइरनझैँ तातो भएको छ गाला । आफ्नो मुहार र शरीरको तापक्रमलार्ई सामान्य अवस्थामा ल्याउने जमर्को असफल हुन्छ मेरो ।

“किन र कमलजी ! विवाहको प्रसङ्ग उठाउने बित्तीकै कालो निलो बन्नु भो, सरि तपाईंमा चोट पु¥याउने उदेश्य थिएन मेरो, अनि तपाईंलार्ई कस्तो लाग्यो लन्डन  ”

कृत्रिम चमक ल्याउन प्रयास गर्दै बोलेँ म, “ब्युटिफुल, लन्डन सहर अति सुन्दर तर तिमी जति चै हैन है ।”

 मेरो जवाफमा उनी गुलाव फक्रिएसरी हाँसिन् । उनको हाँसोमा जवरजस्ति हेलिएँ म । किन आज शिल्पाप्रति बढी आकर्षित छु म   उनलाई देखेदेखि एक प्रकारका रौनक छाइरहेछ ममा । जब शिल्पा त्यही क्लासमेट हुन् भन्ने थाहा पाएँ उनीसँग बिताएका हरेक क्षण प्रिय छन्, मनभरी उमालिरहुँजस्तो, ती क्षण तेल र घ्यू बनेर दलियोस् स्मृति पटलमा जुन कहिल्यै नसुक्ने र नओभाउने ।

“कमलजी ! मेरो रूममा गएर एककप कफीसम्म पिएर त जानुस्, फेरि नेपाल फर्के पछि पनि सम्झना हुन्छ ।”

 कहाँ सक्थेँ र नाइ भ्याउँदिन भन्न, यति बेला मन यति बेग्र भएको छ कि हाँसी हाँसी दिए कफी मात्र हैन विष पिउँछु उनको हातले दिएको, मन यसरी नै एकोहोरिएको छ उनीप्रति ।

“शिल्पा तिमी भन्छौ भने म नकार्न कहाँ सक्छु र ?” बसेको सिटबाट उठ्छु जुरूक्क ।

“ल यो मान्छेले जीवनमा पहिलोपल्ट मेरो प्रस्ताव स्विका¥यो थ्याङ्स् गड ।” उनी आकाश तर्फ फर्केर ढोग्छिन् आफ्नै आत्मालाई साथमा ब्यङ्ग्यको हाँसो हाँस्छिन् जुब्ली गार्डेन थर्कने गरी म पनि लोलि मिलाउँछु उनीसँगै ।

हामी त्यहाँबाट एउटा ट्याक्सी पक्रेर लाग्यौँ उनको रूमतर्फ, हाम्रो यात्रा एक्टनतिर हुत्तिन्छ । क्विन्सल्याण्ड कलेजकै क्वाटरमा शिल्पा बस्दी रहिछन् कति भाग्यमानी, त्यसो त उनलाई पाउने केटो पनि कम भाग्यमानी चै हुँदैन लौ ।

आरामदायी यर कन्डिसन ट्याक्सी, चिल्लो अति राम्रो बाटो, बाटोको दायाँबायाँ किनारको सुन्दर हरियाली चिटिक्क हिस्सी परेको चौर, प्रवेशद्वारदेखि नै दायाँबायाँ आकर्षण गमलाको ताँती, त्यसो त लन्डन सहरका प्रत्येक गल्ली निकै राम्रा, सुन्दर छन् नेपालको तुलनामा, त्यत्रो जनसंख्या, त्यति बाक्लो बस्ती तै पनि फोहोरको क्लेस भेटिन्न, साँच्चै मान्नुपर्छ बा लन्डनबासीलाई ।

अघिअघि लागेर एउटा भब्यमहलको सुन्दर कोठामा पु¥याउँछिन् उनले मलार्ई । कोठा यति आर्कषण छ कि म एकएक गरेर नजरले सुमसुम्याउनै ब्यस्त हुन्छु ।

“ल कमलजी ! तपाईं बस्दै गर्नुस् म कफी बनाएर ल्याउँछु ।”

यति भनेर शिल्पा सानो पर्दा पछाडि हराउँछिन् । निकै नै मेहनत गरेर सजाएको त्यो कोठामा म सर्लक्क भिज्न, एकडेढ घण्टा नै लाग्ला जस्तो लाग्छ सबै सामग्री एकसे एक चमकवाला, नयाँ प्रकारका अति नै लोभ्याउँछ तिनीहरूले मलार्ई ।

सजावटको सामग्री कम्ती राम्रा देखिन्नन्, गमलामा जुनार फलिरहेछ ढकमक्क, कृत्रिम हो कि भनेर नजिकबाट छोइ हेर्छु तर त्यो प्राकृतिक नै रहेछ । काठबाट निर्मित पानी घट्ट, जसको बारेमा म पहाडमा जन्मी हुर्केको भएपनि मात्र कथा सुनेको छु ।

देखेको छैन त्यसको बारेमा । तर आज लन्डनमा आएर उही पानी घट्टको नमुना देख्दा असाध्यै खुसी लागेको छ । कुलोबाट पानी बगिरहेको, त्यही पानीले मदानी जस्तो पाङ्ग्रो रिगेँको र त्यही पाङ्ग्रोले घट्ट घुमाएको, सोली ठीक ठाउँमा जस्ताको तस्तै, कति मेहनत लगाएर बनायो होला यो बनाउनेले पनि । त्यही पानी घट्टमा अल्मलिन्छु केही समय ।

“निकै मन छोयो कि कसो तपाईंको ?”

 उनको आवाजले झसङ्ग हुन्छ मन, आत्तिएको भाव छताछुल्ल पोखिएछ क्यारे मुहारभरि, टेवलमा कफीको कप राखेर मरीमरी हाँस्छिन् शिल्पा । केही सर्तक हुन्छु म, लाजले अलिकति खुम्चदै ओठमा मुस्कानको पिपिरो रोपेर ।

“ल ! लिनुस् कमलजी कफी ।”

 उनको हातबाट कफीको कप समाउँछु नजरले मुहारमा चुमिरहन्छ धितमरून्जेल, लाजले राती बन्छिन् उनी । मौनतामा हराउँदै कफी पिउँछौ हामी, मात्र चार आँखा खेल्छन् लुकामारी, कहिले चुच्चो नाक, कहिले बाटुलो आँखा त कहिले गुलाबी ओठमा गएर मच्चिन्छ मेरो नजर ।

“कुन कुन ठाउँ घुम्नुभयो त लन्डन सहरको ?”

“भनिहालेँ अफिसियल कामले आएको, हिजोसम्म त त्यसैमा अल्झिएँ । अब घुम्नुपर्ला, त्यहाँ माथि तिमीसँग भेट भयो घुमाइदिन्छौ होला नि कि कसो ?”

मेरो सवालमा उनी हाँसिन् मात्र केही बोलिनन् मलार्ई अलिक नरमाइलो लाग्यो ।

त्यसै बीच मेरो आँखा भित्तामा रहेको तस्बिरमा गएर ठोक्किन्छ, नियालेर हेर्छु, एउटा युवकको दाहिने अँगालोमा तीन चार वर्षको बच्चा बोकेर शिल्पा मुस्कुराएकी छिन् । को हो त्यो युवक ? मलार्ई थाहा छ सिल्पाको आफन्ती भने पक्कै हैन फेरि त्यो बच्चा, बरफझैँ चीसो बन्छ मुटु तापक्रम शुन्य डिग्रीमा झरेर ।

“खुव नियाल्नुभयो नि तस्बिर ? के छ त्यसमा त्यस्तो ?” उनको सोधाइले फेरि झस्कन्छु म ।

 “तिमीसँगैको को को हुन् भनेर नियाल्दैछु ?”

 “ए त्यो सोचाइमा पो अल्झनुभयो तपाईं, त्यो युवक मेरो श्रीमान् हुन् र बच्चा हाम्रो प्यारो छोरा सौरव ।”

 उनको भनाइले थचक्क हुन्छु म, बाण लागेको हरिण झैँ असाध्यै पीडा हुन्छ कताकता ।

एकछिन अगाडि सम्म रमाइलो लागेको कोठा छिनभरमै निसासिदो लाग्यो एउटा अनकन्टारको गुफाझैँ, ती सजावटका सामानहरू सबै बुख्याँचा जुन मलार्ई तर्साउन बनाइएको, किनकिन एकाएक छटपटी बढ्यो मभित्र, कहिले चिसिने र कहिले तातिने होडमा मुटु उछिट्टिए जस्तो लाग्छ कफीकै प्लेटमा ।

उनी एकोहोरो हेरिरहन्छिन् मलार्ई । उनको हेराइमा देख्छु मेरो मुटु स्वाद मानी चपाएझैँ । म अतालिन्छु, लन्डन सहर मैमाथि कोल्टे परेर पल्टिए जस्तो कसो कसो भाग्न मन लाग्छ त्यहाँबाट । कफी पिलाएको धन्यवादसम्म नभनी बाहिरिन्छु म ।

ममा किन यति बेचैनी छायो आखिर शिल्पा मेरो गलफ्रेन्ड पनि त हैन नकि श्रीमती, जति बेला सँगै थियौँ त्यो पल पनि राम्रो मुखले बोलिचाली कहिल्यै भएन आज उनलाई एक्कासी भेट्दा उनीप्रति पलाएको एकहोरो चाह, फेरि श्रीमान्सँगको फोटो देख्दा लागेको चोट, म आफँै पहिल्याउन सक्दिन मनमा किन उथल पुथल भै भुइचालो गइरहेछ ।

सूर्र्यको उज्यालोले गति छाडेर बत्तीहरू राज गर्नमा मैमत्ते छन् लन्डन सहरमा ।

उज्यालोको विम्बहरूमा म अँध्यारो फ्याँक्दै छु, सिल्पासँगको अप्रत्याशित भेटले निकै चिमोट्यो मलार्ई साह्रै नराम्रसँग दुख्नेगरी । विद्यार्थी जीवनमा नबढेको चाह, रहर अनि उमङ्ग एकाएक भलबाढी भएर हेलियो मनको फाँटमा । भलबाढी आउनु के थियो र ? मनमा घाउ लाग्नु पो रै‘छ । कति नाजुक छ मन सानै कुरामा पनि चुक्किने, टुक्रिने र झ¥याम् झुरूम फुट्ने ।

लन्डन सहरको आकर्षण बिषझैँ तीतो लाग्छ मलार्ई, दायाँबायाँ नजर डुलाउन पटक्कै इच्छा छैन मन नलाई नलाई एउटा ट्याक्सी समातेर लाग्छु एनिवर्गको सिटी सेन्टर स्थित आफू बसेको होटलमा ।

लेख ः जनयुद्वबाट पिडित शिक्षकलाई हत्याराको पगरी

सुबिसुधा आचार्य

बअजबचथबकगदष्कगमजब२थबजयय।अयm

“म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।”

 “यी हेर्नुस् के मेरा हातहरू दिन दहाडै कसैको गला रेट्ने जस्तो छ त ? नियालेर हेर्नुस् पैताला, हजारौं सोझा निमुखा गरिबको लासमाथि कुल्चेको जस्तो देखिन्छ र ? छाम्नुस्, विश्वास नभए मेरो ढुकढुकी, के यसमा हत्याराको धड्कन धड्किन्छ कहीँ कतै, के तपाईंले पाउनु हुन्छ ? अँहँ भेटिन्न र पाउनु हुन्न पनि । किनकि म भित्र हत्याराको निसानी छाप सङ्केत केही छैन । बुझ्नु भो तपाईहरूले म हत्यारा हुँदै हैन ।”

झ्यालखाना भित्र, झ्यालको बारमा भुन्डिएर ऊ त्यसै भनेर चिच्याइरहेछ, एकनास पुस माघको चीसोले नीला भएका हातहरू थर्थर कमाउँदै डन्डीमा यसरी समाति रहेछ, मानौं त्यो डन्डी फुत्किन सक्छ, भाग्न सक्छ ऊ बाट टाढा, धेरै टाढा ।

चिप्रा लागेका आँखा खर्लप्प गडेका छन् र राता पनि गोलभेडाझैँ । फुलेको दारी र जुँगाले मुहार ढपक्क छोप्ला जस्तो देखिन्छ, जिङ्रिङ्ग परेका कपालले निधार र कान आफ्नै बनाएको छ छपक्कै छोपेर, खद्दरको कट्टुमा उनिएका छ तिघ्रा एउटा बुख्याँचा जस्तो बनी ।

ऊ झ्यालखाना बाहिर छ या झ्यालखाना भित्र, त्यसमा सजग हुन समेत उसमा चेतना, ज्ञान या शक्ति छैन । ऊ कहिले खान्छ त कहिले दिएको भात लात्ताले हानेर भुईभरि पोखिदिन्छ । कहिलेकाँही जब ऊ जस्तै अपराधी साथीहरू बोल्छन् झगडा गर्छन्, ऊ चुप लाग्न आग्रह गर्छ ।

“चुप ! यहाँ कसैले हल्ला गर्न मिल्दैन, कराउन मिल्दैन र मिल्दैन चिच्याउन । के यो तिम्रो बाबुले बनाएको बंगला हो कि ससुरालीले दिएको दाइजो या मामाको बिर्ता ? यहाँ तिमीहरू जस्ता पापी, अपराधी, हत्यारा, देशद्रोही, बलात्कारी, भ्रष्टाचारी र म जस्तै हत्याराको बिल्ला भिरेका हजारौं आएका छन् । आउँने छन् यो क्रम जारी रहने छ, जब सम्म देशको प्रशासन गतिलो हुँदैन । त्यसैले यो एउटा साझा घरमा किन हल्ला गर्छौ       हँ ? चुप ! यहाँ हल्ला पटक्कै चल्दैन ।”

भान्छे, कुचे, ठानेदार, हवल्दार जो उसको कोठाको बाटो हुँदै हिंडे पनि यसै भन्छ साउती मारेर–

“साहेव ! म हत्यारा हैन् तपाईलाई मेरो कसम, अँ ........... केही सम्झे झैँ मेरो पागल छोरीको कसम, हैन हैन श्रीमतीको कसम र अन्तिम कसम मेरो बेपत्ता भएको छोराको । धरो धर्म सायब आज सम्म यी मेरा हातहरूले (दुवै हात देखाउँदै) जुत्ता, ब्रस र पालिस खेलाउन बाहेक खुकुरी छोएको पनि छैन ।”

“राम ! राम !! मलाई  साच्चै भन्ने हो भने यो काटमार गर्नै आउन्न । साच्चै भनूँ (यताउता पल्याकपुलुक हेरेर) मैले नजिकबाट खुकुरी, बन्दुक, मेसिनगन देखेकै छैन । अनि फेरि तपार्ईंंहरू भन्नुहुन्छ हरिहरलार्ई तैंले मारिस् । यो कसरी सम्भव हुनसक्छ, उसको छातीमा पाँच गोली लागेको छ भनेको हैन जब कि मलार्ई पेस्तोल चलाउनै आउन्न ।”

ठाकुरे हनुमानढोका जेलमा परेको आज दोस्रो दिन, ठाकुरे सुन्धाराको आकासे पुलको छिंडी नजिकै वर्षांैदेखि जुत्ता पालिस गरेर बस्थ्यो, गए छाडी अस्ति राति पुतलीसडकको एकता मेनपावरको मालिक हरिहर चापागाईंको हत्याको आरोपमा समातिएको थियो, ऊ ।

सुन्धारा चोकको लागि ठाकुरे व्यतीत समयको एक झिल्का झैँ भैसक्यो होला । त्यस्तै कल्पनामा आउने एक आकृति भैसक्यो होला । खालि उसको श्रीमतीको हारेका श्वास–प्रश्वासमा भने स्मृति मात्रै नभएर सजीव प्राण बनी सुस्केरा हालिरहेको होला । जो जति सुन्धाराको बाटो भएर हिड्थे उनीहरूले उसको अनुहार सम्झने कोशिस गर्नसम्म छाडीसके होलान् । कारण आज त्यहाँ अर्को केटाले जुत्ता टल्काउँदैछ । सबै मानिसलार्ई मान्छेसँग के सवाल के चासो जुत्ता टल्के भै गयो ।ं प्रत्येक व्यक्तिलाई कामसँग मात्र सरोकार छ न कि मान्छेसँग ।

मानिस स्वभावैले स्वार्थी प्राणी मै खाऊँ मै लाऊँ सुख सयल या मोज मै गरूँ, आफू तल रहेर अरूलार्ई उठाउने भेटिन्न मान्छे । बिना स्वार्थ कसैले यहाँ केही गर्दैनन् । यतिसम्म कि बिना स्वार्थ बाबु आमाले सन्तान पनि जन्माउन्नन् । यही स्वार्थी परिवेशमा ज्याला मजदुरी गरेर पेट पाल्ने ठाकुरे आज हनुमानढोकामा न्यायको भिक माग्दैछ अञ्जुली पसारेर, के ठाकुरे हत्यारा हैन ?

देशभरी हत्या, हिंसा, लुटपाट, बलात्कारको ज्वाला ह्वार्र ह्वार्र दन्केको बेला, गा.वि.स. सचिव, अध्यक्ष, शिक्षक, पत्रकार, व्यापारी, सांसद छानी छानी हत्या भैरहेछ । त्यसैको भिडमा अर्को हत्या थपियो मेनपावर कम्पनी मालिकको । के ठाकुरेले हरिहरको हत्या गरेको हैन ? हैन भने रातको समय हरिहरको कम्पाउन्ड भित्र हातमा चुपी लिएर ऊ के गर्दै थियो ? फेरि हरिहरको मृत्यु चुपीले रेटेर हैन गोली लागेर भएको हो । घटनाको समय घटनास्थलमा ठाकुरे बाहेक अरू पनि त थिएनन् । कुरा अपत्यारिलो, शंकास्पद र अचम्म लाग्दो छ, घटना जसको हातबाट जुन पक्षले गराए पनि प्रहरीको हिरासतमा छ ठाकुरे ।

कालो मुठा परेको जुघा हातले बटार्दै डि.एस.पि.भन्छ– “रामे ।”

“हजुर साब ।”

“ठाकुरेलार्ई केरकार शाखामा लिएर आइज, साला ! हत्या गरेको पटक्कै स्विकार्दैन । आज त्यसलार्ई बाबुको बिहे नदेखाइ भएन ।”

“हस् साहेव ।,” बुट बजारेर तनक्क तन्कदै जान्छ रामे ठाकुरेलार्ई लिन ।

अझै पनि ठाकुरे त्यसै भनेर बबराइरहेछ –“सायप म हत्यारा हैन मैले कसैलाई मार्न सक्दिन बिन्ती छ मेरो विश्वास गर्नुस् ।”

“चुप लाग ! अहिले साहेबसँग भन्नु, जे भन्नु छ पाखण्डी, पागलको अभिनय गर्छ ।” हातको डन्डी बारमा बजार्दै ठाकुरेलार्ई बाहिर निस्कन आग्रह गर्छ रामेले ।

रूझेको बिरालो झैँ लुसुक्क थर्थर काम्दै ठाकुरे बाहिर निस्किन्छ, उसका पाइला मरेको बिरालो काखी च्यापेर नागार्जुनको उकालो लागेको ज्यापूको झैँ लोसो छ ।

“ल ! हिंड मसँग साबले बोलाउनु भएको छ ।”

 अघिअघि प्रहरी जवान रामे पछिपछि ठाकुरे केरकार शाखामा डि.एस.पि. भएको ठाउँमा पुग्छन् । ठाकुरे उसै निलो कालो बन्दै हात जोडेर ठिङ्ग उभिन्छ डि.एस.पि.को सामु ।

 “रामे ।”

 “एस सर ।”

 “जा एक बाल्टिन पानी लेरा यसलार्ई ठीक नपारी भएन ।”

 “हस् साव ।” फेरि तनक्क तन्केर अर्को कोठामा गयो ऊ ।

कोठाको एक कुनामा दुवै हात जोडेर लगलग काम्दै टुसुक्क बस्छ ठाकुरे । भरि पानी भएको गाग्रो बिंडमाथि बसाएझैँ भुइँको सहारामा, मोटे भुँडीवाल, जुँगाको मुठो ओठ माथि हातले तह लगाउँदै सिटबाट जुरूक्क उठ्छ डि.एस.पि. र टिठ मानेर हेर्छ ठाकुरेमाथि । मरन्च्याँसे रूझेको बिरालो जस्तो उसले मेनपावर मालिकको हत्या कसरी ग¥यो होला ? केटाहरूले साँच्चै गलतै मान्छे पो उठाएर ल्याएछन् कि कसो ? एकपटक दिमाग घुमाउँछ डि.एस.पि.ले जुँगालाई ताउमा लगाउँदै ।

“पानी ल्याएँ सर ।”

रातो प्लास्टिकको बाल्टीभरि टिलबिल टिलबिल पानी राख्दै बोल्छ रामे ।

“ल तँ जा, बाँकी काम म गर्छु ।”

ठूला ठूला आँखा पर्लक्क पल्टाएर रामेतिर हेर्छ डि.एस.पि.ले । हल्का शिर निहुराउँदै तनक्क तन्केर बाहिरिन्छ रामे, उता तत्काल डि.एस.पि.को आँखा ठाकुरे माथि पर्छ, झम्टिने झम्टिने शैलीमा सोध्छ उसले –

“एँ तेरो नाम के हो ?”

“ठाकुरप्रसाद घिमिरे हो हजुर ।” ठाकुरेको चिम्र्रा आँखा अलिकति फटिए र निरीह मुखमण्डल उघारिंदा किच्च दाँत देखिन्छन् ।

“कहाँ बस्छस् तँ ?” झम्टेपछि उसले ठाकुरेलार्ई खल्र्याक खुर्लुक्क नङ्ग्याउँछ वचनका तिखा नङ्ग्राले ।

“असन टोलको एउटा सानो कोठामा हजुर ।” ठाकुरे सिमेन्टीको नयाँ घरमा बोल्दाझैँ तरङ्गित आवाजमा बोल्छ ।

“तेरो परिवारमा को को छन् त ?” चिलले नङ्ग्याइसकेको चल्लालाई ठुगेझैँ ठुङ्छ उसले ठाकुरेलार्ई ।

“को हुनु र हजुर पाँच वर्ष पहिल्यै छोरो बिपत्ता भएको आजसम्म मरे बाँचेको ठेगान छैन छोरी.... ।”

 एकछिन घोसे मुन्टो लगाएर लामो सास तान्छ । उसका आँखाबाट रगतको आँसु चुल्ठी परेर वर्सिन्छ गालाको बाटो भएर । ऊ केही बोल्न खोज्छ अनायासै उठेका हिक्काको महाप्रलयले आवाज दबिन्छ छातीभित्र कताकता । उसको अवस्थामा विरह सुसाउँछ नराम्रोसँग ।

“छोरी भनेपछि किन रोकिन्छस् के भो छोरीलाई अनि श्रीमती त होली नि ?” वचनको चुच्चोले ठुँगेपछि एउटा चोक्टो झिक्छ ठाकुरेको र निल्छ क्वाप्प, निलाइसँगै लामो सास तान्छ डि.एस.पि. हातको छडी घुमाउँदै ।

“अहिले कोठामा त्यही एउटी बूढी त छ हजुर, ऊ पनि अलाप विलाप गर्दै होली प्रलयले थिचेर । सारै अभागी रहिछ त्यो बूढी पनि, छोरीको बारेमा कसरी भनौंँ अहिले मानसिक अस्पताल लगनखेलमा छे ।”

“मानसिक अस्पतालमा, यसको मतलव पागल ! कसरी भै तेरी छोरी     पागल ?” ऊ ठाकुरेको दुर्ईटा साँप्रामा समातेर बेस्सरी फार्छ वचनैबाट ।

ठाकुरे कालो निलो बन्छ काँचको टुक्रामाथि हिड्न बाध्य गराइएको मानिसझैँ, निध्र्राे निर्बल लुलो बन्छ । लामो सुस्केरा ओकल्छ उसका ओठ, अलिकति आँखा उठाएर हेर्छ डि.एस.पि.लार्ई तलबाट माथिसम्म ।

तम्तमाइलो मुहार बनाउँदै सुकेको घाँटी तनक्क तान्दै नभएको थुक घुटुक्क निल्दै असफल प्रयास गर्दै बोल्छ ऊ –

“भो सर खाटा बस्न लागेको घाउमा कोतरेर नुन चुक लगाउँदा डाह र औडाह मात्र हुन्छ मलार्ई त्यसको अलावा केही हुन्न । मेरो पारिवारिक कुटुरो खोतलखातल पार्नु भन्दा विषय तर्फ लाग्दा हुन्थ्यो कि ?” डराई डराई हेर्छ डि.एस.पि.को मुखमा ।

साँपले डस्न फणा उठाएझैँ बाटुला आँखा माथि पर्लक्क पल्टाउँदै चिच्याउँछ डि.एस.पि.–

“चुप ! हाम्रो काम नै त्यही हो बढी जान्ने सुन्ने बन्नु पर्दैन, म जे सोध्छु साँचो बता, घटना घट्दाको दिन राति हरिहरको बार्दलीबाट हातमा चुपी बोकेर किन हाम फाल्दै थिइस् ? लौ भन् पेस्तोल कहाँ लुकाइस्, किन मारिस् उसलार्ई । तँ हत्यारा होस् भने तेरो छोरो आतङ्ककारी हैन र ?”

एकै पटक प्रश्नको झटारो छाडेर बगरेले मासुको भाग लगाएझैँ टुक्रा टुक्रा बनाउँछ उसले ठाकुरेलार्ई । बिचरा ठाकुरे पसिनाले निर्थुक्क हुन्छ भर्खर नुहाएझैँ, ओठहरू थर्थर काप्छन्, गाला निलोतुथोझैँ निलो बन्छ । आँखा उठाएर हेर्ने साहस रहेन अब उसमा ।

“सर........ ।” फेरि सुकेको घाँटी थुक निल्न तनक्क तान्छ जिब्रो रसाए पो थुक आउँनु, प्याक प्याक सुक्छ ओठमुख ।

“तँ त्यसै भन्दैनस् मलार्ई थाहा छ आजसम्म कस्तो कस्तो घटनाको सूत्र प्रयोग गरेर गल्ती स्वीकार्न बाध्य बनाएको छु तँ जाबो भुसुनोलार्ई यति काफी छ ।” बाल्टिनबाट एक जग पानी झिकेर ह्वात्त छ्याप्छ डि.एस.पि.ले ठाकुरेको मुखमा । निधार र नाकको टुप्पोबाट बगेको पानी जिब्रोले चाटेर ओठ मुख रसिलो बनाउँछ ठाकुरेले ।

“अझै भन्दैनस् तँ किन गएको थिइस् हरिहरको घरमा ?” राता आँखाले सिङ्गै निलांैला जस्तो गरी हेर्छ डि.एस.पि.ले ठाकुरेलार्ई ।

“हो सर ! त्यो दिन म त्यहाँ त गएको थिएँ मेरो हातमा चुपी पनि थियो, तर........ तर सर विश्वास गर्नुस् उसलार्ई मैले मारेको हैन् कसम सर ।” उसले आफ्नो थर्थर कापेको हातले रूद्रघण्टी समाउँदै कसम खान्छ ।

डि.एस.पि. हातको लौरोलार्ई हावामा उडाउँदै एकछिन विचार मग्न देखिन्छ, अब यसलार्ई तर्साएर हैन फकाएर कुरा खोतल्दै चुरो पत्ता लगाउनुप¥यो । मनमा जुक्ति फुरेपछि टाउको हल्लाउँदै कुर्सीबाट उठ्छ ऊ, ठाकुरे भने अब पिट्छ कि भनेर सिमेन्टको भित्तामा लपक्क टाँसिन्छ ।

“हेर ठाकुर ! यथार्थ कुरा नभनेर तँ किन आफ्नो ज्यानलाई सजाय दिन्छस् बरू सत्य कुरा भन् म तँलाई जेल मुक्त गराइदिन पनि सक्छु । तँ जस्तो असल भद्र मान्छेले कुरा चपाएको पटक्कै सुहाउन्न क्या । ल भन त तैले हरिहरलार्ई किन र कसरी मारिस् । मलार्ई मात्र सुटुक्क भन् न । म अरूलार्ई तँ निर्दाेष छस् भनी साबित गराइदिन्छु क्या ।” डि.एस.पि.ले ठाकुरेको मुखैमा कान लगेर थाप्छ उभिउभिकन ।

“हो सर ! म हरिहरलार्ई मार्नैको लागि उसको घरमा गएको थिएँ दुर्ईहजार बैसठ्ठीसाल असार पन्ध्र गते राति । पानी घनघोर दर्किरहेको थियो, जसरी आकाशबाट परेको पानीको थोपा धर्तीमा बज्रिदा फोका उठ्छ मेरो मनमा त्यसरी नै बिरह वेदना, पीडा र जलनको फोका बगे्रल्ती उठ्न थाल्यो जति दबाए पनि जति रोके पनि मनलाई वशमा पटक्कै राख्न सकिंन । कहिले बन्दुकको गोली जस्तो तातो भएर पड्कन खोज्थ्यो मन भने कहिले तरबारको धारझैँ धारिलो, चम्किलो आफैमाथि जाइलाग्न खोज्थ्यो ।

घुम्ने कुर्सीमा फनफनी घुमेर खितिति हाँसेको हरिहरको चेहेराले साँप बनेर डस्यो सोचाइमा, जहर अङ्ग अङ्ग फैलिएर म बेहोशझैँ हुन थालेँ । मेरो रौँ रौँमा उसैको कप्टी हाँसो नगरा बनेर गुन्जिरह्यो आँखाको रेटिनामा त्यही चुस्स दारी पालेको फक्लेटे गहुँको रोटी उक्सेको अनुहार लेप लागेझैँ टाँगियो । म जति पटक आँखा बन्द गर्ने र खोल्ने काम गर्थेँ परेलीमा टेकेर आँखी भौँमा झुन्डिएर जिस्काइरहन्थ्यो, ऊ मलार्ई ।

बूढीले भात पस्केर दिएकी थिई थालभरि तर मैले त्यहाँ भात हैन पापीले चुरोट तानेर फुङ्ग धुवाँ उडाएको देखेँ । आफ्ना ज्ञानेन्द्रियहरूलार्ई जति जति वशमा राख्न खोज्थँे उति तातो भुङ्गोमा खलि खान हाम फालेको डाङ्ग्रेझैँ हुन्थ्यो मन । बसेको चकटीमा पटक पटक बुरूक्क बुरूक्क उफ्रन थालेँ । बूढीले समातेर ओच्छ्यानमा लगी पछारिदिएकी पनि हो तर खोलाबाट झिकेको माछा कहाँ नछट्पटाइरहन्छ र, सास छउन्जेल ।

हो सर ! मनमा ज्वाला तीव्र बढ्दै गएपछि मलार्ई हरिहरको तातो रगत तनतन पिउने प्यास अति लाग्यो कसोकसो खाटमुनि चुपी भेटेँ त्यही लिएर लागेँ म पापीको घरतिर ।

वेदनाले, रीसले यति सल्किसकेको थिएँ कि घरबाट उसको कम्पाउन्डभित्र छिरेको होशै रहेन । अर्धचेतनशील अवस्थामै पर्खालबाट झ्याल हुँदै म हरिहरको कोठामा उक्लेँ । सोचेको थिएँ एकै पटक नभै पटक पटक उसको गला रेट्ने छु ऊ ऐयाऐया, आत्था भनी छटपटाउने छ म तमासा हेर्छु तर जब झ्यालबाट कोठामा छिरेँ त्यहाँको अवस्था अर्कै थियो ।”

उत्तेजित भएर मुहानबाट पानीकोे मूल फुटेझे बहकिएको ठाकुरे ओइलाएको रायो झैँ लत्र्याक लुत्रुक भयो, उसको धडकन नै बन्द भएको हो कि जस्तो भान हुन्थ्यो सरसर्ती हेर्दा । सर्पले भ्यागुतो निले जस्तो गरी रूद्रघण्टी हल्लाएर एक घुड्को थुक निल्छ । कसोकसो उसको हात सर्टको टाँक खोल्न र लगाउनमै तल्लिन देखिन्छ ।

“तँ हरिहरको कोठामा छिर्दा त्यहाँको अवस्था के थियो ?” ठूला ठूला आँखा ठाकुरेतिर पर्लक्क पल्टाउँदै टुक्राइसकेको उसलार्ई खड्कुलामा उसिन्न थाल्छ डि.एस.पि.ले ।

“खै कसरी भनौँ हरिहर गलैंचामा घोप्टो परेर ढलेको थियो, उनको कन्चटबाट रगत बगेर मुहार लपक्कै भिजेको थियो । उक्त दृश्य देखेर म अत्तालिएँ । गल्र्याम्म गरेको आवाज सुनेँ । पश्चिम पट्टिको झ्यालनेर गइहेर्दा पर्खालबाट दुई जना कालो पोसाकका मान्छे हाम फालेर भागे । खम्बाको मधुरो उज्यालोमा मैले अनुहार पैल्याउने कोसिस गरेँ तर तिनीहरू नकावधारी जस्ता मुखमा पनि कालै कपडा बाधेका थिए ।

यही हो सर मैले देखेको, म अति हतास भएँ चिच्याउन पनि सकिन भाग्ने हिम्मत पनि आएन । हरिहरकी श्रीमती हातमा दूधको गिलास लिएर कोठामा छिर्दा म कोठामा फनफनी रिगिंरहेको थिएँ । बल्ल भाग्ने होश आयो र झ्यालबाट फालहालेँ तर गेटभित्रै छोराले च्याप्प समात्यो र ल्याए तपार्ईंंका मान्छेहरूले यहाँ ।”

“ए कुरा त्यसो रहेछ, साँची ठाकुरे तँ किन मार्न चाहन्थिस् हरिहरलार्ई तिमीहरू बीचमा के दुश्मनी थियो त्यस्तो, जसको कारण त मार्न तम्सिस् ?” उसिनेर पाकी सकेको ठाकुरेलार्ई चपाउँदै सोध्छ डि.एस.पि. ।

लामो श्वास तान्यो ठाकुरेले, शिरको टोपी फुकालेर मुखमा हम्कियो, दाहिने हात टुपीमा लगेर लामो टुपी सुमसुम्यायो, उसको मुहार पानी नपाएर ओइलाएको झारझैँ देखिन्थ्यो हेर्दा, केही भन्न ओठ फट्यायो तर आवाज पटक्कै फुटेन, आँखाबाट बरर्र आँसु झा¥यो डि.एस.पि.ले नदेखोस् भन्दै भित्तापट्टि फर्केर टोपीले आँसु फुछ्यो केही बेर कोठामा सन्नाटा छायो ।

आठ दश मिनेटपछि खोल्छ मुख ठाकुरे “मेरो घर नुवाकोटको कुमरी गा.वि.स.मा हो सर । म प्रा.वि. शिक्षक थिएँ । एउटा छोरा, एउटी छोरी सानो सुखी परिवार थियो, मेरो । छोरा दश कक्षामा र छोरी सातमा पढ्दै थिए । उनन्साठी साल असोज महिना उनन्तीस गते जनमुक्ति सेनाहरू हाम्रो घरमा आए । समाज परिवर्तन र चेतनाको कुरा उठाउँदै गाउँका युवाहरू जम्मा बनाए, साँझ पल्लो घरमा बैठक राखे । मेरो छोरा पनि त्यही कार्यक्रम हेर्न गयो । छोरीलाई निमोनियाको ज्वरो आइरहेको कारण हामी बूढाबूढी उक्त कार्यक्रम हेर्न गएनौँ । रातको दश बजे चारैतिर बन्दुक पड्केको आवाज आयो, झ्याल खोलेर हेर्ने साहस पटक्कै भएन हामीमा । छोरालाई खुब सम्झियौँ करिव एक घण्टा पछि बन्दुकको आवाज आउन छाड्यो र ढोका खोलेर छोरा खोज्न निस्कियौँ घरबाट हातमा राँको बालेर ।”

पुनः ठाकुरेले थप्छ “जुन घरमा कार्यक्रम थियो त्यस घरको त गारोसम्म प्वालै प्वाल चाल्नो जस्तो, जनसेनाको कार्यक्रम हुदैछ भन्ने खवर कसैले आर्मीलार्ई दिएछ तब आर्मी आएर दोहोरो भिडन्त भयो । आर्मी तर्फका घाइते मात्र थिए कसैको ज्यान गएन तर जनसेनाकी एक गर्भवती महिला रक्तमुछेल अवस्थामा मृत भेटियो, अरू भने भागेछन् । त्यही बेलादेखि हाम्रो छोरा लगायत गाउँका पाँचजना युवाहरू बेपत्ता भए, मरेको भनाँै भने लास छैन, बाचेको छ भनौँ भने कहाँ छ ? के गर्दै छ ? थाहा छैन, हाम्रो परिवारका चारवटा थाममध्ये एउटा ढल्यो घरले कोल्टे फेर्दा पानी चुहिन थाल्यो सधै रूवाबासी ।

जसरी तसरी बाचेकै थियाँै छोरा हराएको एक वर्ष बित्न नपाउँदै मलार्ई पनि आतङ्ककारीसँग उठबस गर्छ जासुसी भनेर गाउँबाट सेनाले लखेटिदिए । साठी सालमा छोरी र बूढीलाई काखी च्यापेर सहरमा भित्रिएँ ।

विरानो सहर, अन्जान सहर, स्वार्थी र मतलबीहरूको सहर मलार्ई एक प्रहर रात ओत लाग्न र बिहान बेलुका हातमुख जोर्न धौ धौ प¥यो कामको लागि चारैतिर धाएँ । धेरैलार्ई धनुझैँ झुकेर नमस्कार टक्रयाएँ तर निराशा मात्र हात लाग्यो ।

भौतारिने क्रममा पेट पाल्न सुन्धाराको छेउमा जुत्ता पालिस गरेर दिनको सय दुईसय कमाउने जोहोे गरेँ । बूढी र छोरी असनमा तरकारी बेचेर बस्थे । जसोतसो एउटा ढुसी गन्हाउने कोठा लिएर बिहान बेलुका हातमुख जोर्न सजिलो पर्दै आयो ।

एकदिन मेनपावर साहू हरिहरसँग बूढी र छोरीको भेट भएछ । भोलिपल्ट हरिहर हाम्रो कोठामा आयो देख्दा भद्र असल जस्तो देखिने हरिहर हाम्रो मित्र बनेर परिवारमा घुलमिल हुन थाल्यो । कहिले भाडा दिन भनेर त कहिले चामल किन्न पैसा पनि दिन्थ्यो यसै सिलसिलामा उसले हाम्रो परिवारको मन जित्यो ।

हरिहर हामीकहाँ आवतजावत गरेको दुई महिनापछि छोरीलाई विदेश पठाउन उक्साउन थाल्यो, पहिला त हामीले मानेनाँै तर राम्रो कमाइ हुने लोभ देखाएर छोरीको मन एकोहोरियाएछ छोरी जिद्दी गर्न थाली । हामीले जति सम्झाए पनि कानमा बतास लागेन ।

घर बारी बैंकमा राखेर असी हजार ऋण निकालेर एकसठ्ठी साल बैशाख एक्काईस गते कतारमा छोरीलाई उडाइयो । छोरा बेपत्ता भए पनि छोरीले कमाउने आशमा हामी बूढाबूढी आशाको दियो बालेर दिन बिताउन थाल्याँै । सपना देख्ने आँखाहरू भ्रमित पनि हुन्छन् त्यो हामीले भुलेछौँ । छोरी कतार गएपछि जम्मा दुर्ईपटक सम्पर्कमा आएकी थिई, त्यसपछि अत्तोपत्तो भएन ।

‘कोखीको घाउ’ खोजखवर नहुँदा मन त आत्तिएको नै थियो । हरिहरसँग भेटेर कुरा गर्दा कामको व्यस्तताले सम्पर्क गर्न नभ्याएकी होली भन्थ्यो आफू त सोझो मान्छे होला त नि भनेर पत्याएँ ।

दिनहरू बित्दै महिना बित्दै वर्ष पनि बित्यो । छोरीको खवर आएन, बैसठ्ठी साल वैशाख बाईस गते एयरपोर्टबाट पुलिस मलार्ई खोज्दै आएको थियो म उसँगै एयरपोर्ट गएँ । त्यहाँ मेरी छोरी मूर्छित अवस्थामा रहिछ । काँक्राको चिरा जस्तो शरीर कास झैँ सुकेछ, जिउभरि निलडाम, सुन्तलाको केस्रा जस्ता ओठ कागती निचोरेझैँ, स्याउ जस्ता गाला सुकेको पातझैँ एकपटक त छोरी नै हैन कि जस्तो लाग्यो तर नागरिकताको फोटो कपी र पासपोर्ट देखेपछि विश्वास लाग्यो ।

त्यो पल म आफै अर्ध चेतनामा थिएँ । भए भरका एयरपोर्टका विमान मै माथि खसेझैँ भयो, जसोतसो आफूलार्ई सम्हाल्दै छोरीलाई अस्पताल लगियो । त्यहाँका डाक्टरले धेरै जनाले लगातार बलात्कार गर्दा मानसिक अवस्था खलबलिएको बताए ।

काम लगाइदिने बहानामा हरिहरले मेरो छोरी बेचेको पो रैछ । जहाँ एउटा घरमा घरका काम लगायत एक रातमा आठ नौ जनासँग शारीरिक सम्बन्ध राख्नुपर्दो रहेछ, नमान्दा पिटेका निलडाम शरीरभरि कति हो कति ।

एक महिनापछि त्यस अस्पतालबाट छोरीलाई मानसिक अस्पताल लगनखेल सारियो । छिनछिनमा वर्वराउँछे–

“न छो मलार्ई, नछो नाइ नाइ हुँदैन पापी राक्षस ।” भन्छे छिनमै अचेत हुन्छे ।

छोरा त बेपत्ता थियो नै एउटी भएकी छोरी पनि त्यो हालतमा देख्दा कुन बाबुको मन नकुडी रहला र   हो सर छोरीको अवस्था सम्झदा अझैँ मरेको हरिहरलार्ई अझ मार्न मन लाग्छ । पापी, निर्दयी, फूल जस्ती मेरी छोरीको जीवन सखाप बनायो ।

आँसुले लपक्क भिजेको आँखा उठाएर डि.एस.पि. तिर हेर्छ ठाकुरे, चुपचाप मूर्तिझैँ मौन देखिन्छ डि.एस.पिले । ठाकुरे त्यस भन्दा अगाडि बोल्न सकेन । सोध्ने प्रश्नको भण्डार रित्तिएर होला डि.एस.पि. पनि चुप रह्यो ।

रामे कोठाभित्र पस्छ र ठाकुरेलार्ई हिंड्न आग्रह गर्छ ।

ठाकुरेले फेरि पनि हात जोडेर भन्छ –“मैले हत्या गरेको हैन सर मलार्ई विश्वास गर्नुस् । म हत्यारा हैन ।”

 ऊ चिच्याइरहन्छ । रामेले घिसार्दै अर्को कोठामा लग्यो ठाकुरेलाई, उता डि.एस.पि. हेरिरह्यो एकनास टोलाएर ।

ठाकुरे चिच्याइरह्यो “म हत्यारा हैन । म हत्यारा हैन ।”

 डि.एस.पि. भने चपाएर निलेको ठाकुरेलार्ई दाँतको कुना काप्चामा सिन्काले कोतरिरहन्छ र थुक्छ, पिच्च भुईंमा । निअपराधी ठाकुरेलार्ई यातना दिएकोमा भन्दा बढी प्रफुल्ल थियो आफूले बयान लिन सकेकोमा ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु