Wednesday, 22 November 2017 06:36 pm, Nepal

कान्छी (कथा)

मेचीकाली : 2011-02-20 18:47:45


– राजेश नतांश

कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् । जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ ।

साँच्चै, कान्छी गर्भवति बनेकी थिई । ऊ अविवाहित थिई । कसरी पेट बोक्न सक्छे ? चर्चा चल्नु स्वभाविक नै  थियो तर कान्छीको आर्तनाद कसले बुझिदिने ? “बिचरी ! यो लाटीलाई कुन पापीले यस्तो गरिदियो ?” “आम्मै ! कुन चै पापी होला त्यो ?” “लाटी त हरामी नै निस्की नी !
रातभरि लोग्नेमान्छेसँग सुत्दीरैछे । के माया गारि’रा यस्तालाई” “त्यै त ! झिँगे । रातभरि चर्दै हिँड्दी रैछे ।” “बिचरीलाई के भनेको त्यस्तो ? अब कसरी बाँच्ली ?” “कस्तो लाजमर्दो घटना देख्नुपर्छ यी आँखाले ।” “ह्या ! यस्ती भालुको हाम्लाई के चासो ?” प्रश्नहरुका रास प्रतिदिन बढ्दो थियो । उनीहरुलाई केही हेक्का थिएन कि कान्छी कस्तो अवस्थामा गुज्रदै थिई भनेर । कान्छी गाउँलेहरुको कुटिल व्यवहार देखेर आश्चर्यमा पर्दै थिई । बिचरी उसलाई पनि थाहा थिएन आफूमा कस्तो प्रकारको शारीरिक परिवर्तन भइरहेको छ ।
 –०–०–०–
बाटुलो अनुहार, हिस्सी परेका चेहरा र लोभलाग्दो शरीरको बनावटले निक्कै राम्री देखिन्थी कान्छी । तर ऊ पूर्णरुपमा ठगिएकी थिई । ऊ बोल्न र सुन्न सक्तिन थिई । हाम्रो समाजमा यस्तो मान्छेलाई लाटालाटी भन्ने गर्छन् । ऊ हातको इशाराले आफूलाई संचार गराउथी । आफ्ना भावना र समवेदनाहरु हात र मुहारको माध्यमबाट सांकेतिक भाषामा व्यक्त गर्ने गर्दथी । यसकारण जोकोही उसको भाषा बुझ्न असमर्थ हुन्थ्यो । म उनको भाषा सहजै बुझ्न सक्थेँ किनकी यस्ता महिलाहरुसँग बसेर काम गरेको लामो अनुभव थियो ।
 –०–०–०–

म श्रीमान्सँगै एक सरकारी कार्यालयमा लेखापाल भएर काम गर्दै आइरहेकी थिएँ ।  हामी सहरजस्तो गाउँमा बसोबास गर्दथ्यौँ । हाम्री एउटी छोरी थिइन्–आस्था । उनी भर्खर ४ वर्ष लागेकी थिइन् । सरकारी कार्यालयको काम यस्तै हो हाम्रो इच्छाअनुसार केही हुदैन थियो । सबै माथिकै आदेशअनुसार चल्नु पर्दथ्यो । यस्तै परिस्थितिले गर्दा हामी जहाँ सरुवा हुन्छ त्यही कोठा खोजेर बस्नु पर्ने बाध्यता थियो । यस्तो कुरा त सामान्य नै मान्नुपर्छ । यद्यपी यहाँ म अर्को सभ्यता उल्लेख गर्न गईरहेकी छु । मलाई त्यो गाउँ एकदमै उदेकको लाग्ने गर्दथ्यो ।
एउटा सानो कुरा चुहावट भयो भने सारा गाउँ नै फैलिसक्थ्यो । जसरी एउटा सेतो कपडामा मसी पोखिएर स्वरुप बिग्रन्छ । त्यो एकदमै गन्धा भएर बाहिर आउने गर्दथ्यो । अधिकांश लोग्नेमान्छेहरु कमाउन खाडीमुलक गएका थिए ।
गाउँका आइमाईहरु घरायसी काम गरेपश्चात फुर्सदिला हुन्थे र सबैजना एकै ठाउँ भेलाभएर गफगाफमा रमाउने गर्दथे । अर्काको कुरा काट्नैमा हर्षित हुन्थे । कुराको सत्यता नापतौल नगरिकन हचुवाको भरमा आफ्नो समर्थन र विरोध जनाइहाल्थे । बेलाबेलामा बेतुकको राजनीतिक गफ पनि सुनिन पाइथ्यो । तर्क शक्तिमा बल नभएका उनीहरु अवास्तविक तथ्यमा कराई रहन्थे ।
यस्तो फजुल संवाद सुनेर मेरो  कन्पारो तात्ने गर्दथ्यो । किनकी भान्साबाट ती कुराहरु सहजै कानमा पर्ने गर्दथे । मलाई थामीनसक्नुको हुन्थ्यो । कैयनचोटि श्रीमानलाई “कस्तो ठाउँमा सरुवा भयो ।  यहाँको समाजमा हाम्रा बालबच्चाहरु पनि बिग्रने  भए” भनेर नमीठो पोख्थेँ । वहाँ पनि हैरान भैसक्नुभएको थियो । वहाँका साथीहरु घरमा भेट्न आएका बेलामा गाउँलेका तीनपाथी कोकशास्त्रका आमाचकारी शब्दहरु सुनेर फर्कन्थेँ । वहाँ निराश हुँदै भन्नुहुन्थ्यो, “सानु, यो विकट गाउँमा बस्नु मेरो पनि रहर होइन ? कर्मचारीहरुलाई शान्तिसुरक्षाको प्रत्याभूति पनि छैन । यहाँबाट बर्हिगमन हुन हाकिमहरुलाई सेवाढोग गरिसकेँ तर पनि क्यै नहोला जस्तो छ । यहाँ शहर बस्दैछ । विस्तारै सबै ठिक होला नि ! धैर्य गर ।”

–०–०–०–
 कान्छी हामी बसेको कोठा सम्मुख खण्डहर जस्तो घरमा बस्ने गर्दथी । त्यो घर खाली थियो । घरका मालिकहरु थिएनन् । ऊ त्यही आएर बस्न थालेकी थिई । जनयुद्धताका माओवादीको विध्वंसबाट आजित भएर उनीहरु बसार्इँ सरेका थिए । शान्तिसम्झौता भएपश्चात कब्जा गरिएको घरजग्गा फिर्ता हुने आशले घरमालिक एकचोटी देखा परेको थियो । तर त्यससमय कान्छीलाई आफ्नो घरमा देखेर पार्टीले राखेको हो कि भन्ने भ्रमले कुलेलम ठोकेको थियो ।
 कान्छीलाई जीवन निर्वाहका लागि कुनै चिन्ता थिएन । ऊ नबोलेरै पीठो बिकाउन सक्षम थिई । हातको इशाराले, “म तपाईको भाँडा माझिदिन्छु, लुगा धुइदिन्छु । मलाई एकछाक खाना दिनुहोस्” भनेपछि नाइँ नभन्ने कोही पनि थिएनन् । ऊ गाउँभरिका चौरासी व्यञ्जनको स्वाद चाख्न पाईहाल्थी ।
–०–०–०–
 एकविहान मलाई अफिस जान असाध्यै विलम्ब भैसकेको थियो । बाथरुममा एकआरी लुगाहरु भिजिरहेका थिए । जुठा भाडावर्तनहरु बाहिर घाममा कट्कटिएको थियो । लेखा प्रतिवेदन बनाउँदै थिएँ । छिट्टै तयार गरेर हाकिमलाई पेश गर्नुपर्ने थियो । उता श्रीमान् सखारै उठेर अफिसतर्फ लाग्नुभएको थियो । फुर्सद भएको बेला मलाई भान्सामा सघाउनुहुन्थ्यो तर श्रीमान्ले काम गरेको देख्न मनैले मान्दैनथियो । केही अराउदिन थिएँ वहाँले बुझेरै सहयोग गर्नुहुन्थ्यो । विगत महिनादेखि हाम्रो दैनिक क्रियाकलाप अस्तव्यस्त भएका थिए । मलाई अफिस भ्याउन असाध्यै ढिलो हुन्थ्यो । अझ छोरीलाई स्कूलको लागि तयार पार्दा ११ नै बज्ने गर्दथ्यो । म एक्लैले के–के पो भ्याउनु र ? म बाहिर निस्किएको बेला उसले “म काम सघाइदिन्छु तपाई मलाई खाना दिनुहोस्” भनेर इशारा गरेकी थिई । मैले त्यो अनुरोधलाई सहर्ष स्वीकार गरेकी थिएँ । मलाई एकप्रकारको देउता मिलेको महसुस भएको थियो । ऊ सखारै उठेर मेरो घर आउँथी । म चिया बनाएर श्रीमान् र उसलाई पिलाउथेँ । ऊ जुठा भाँडा, मैला परेका तन्ना, सिरक र सिरानीको खोल, हाम्रो मैँला लुगाफाटाहरु धुने काम सजिलै सम्पन्न गर्दथी । मैले खाना बनाई सक्दा ऊ सम्पूर्ण काम सकेर छोरीलाई स्कूल जानका लागि ‘रेडी’ बनाइसकेकी हुन्थी ।
मेरो चारवटा हात थपिएकोझैँ भएको थियो । उसको उपस्थितिले विहानीको अखबार पढ्न समेत भ्याउन थालेकी थिएँ । कान्छीले हाम्रो मन जितेकी थिई । कान्छीको अनुपस्थितिमा हाम्रो घर शून्य हुन्थ्यो । हाम्रो घरको रुपाङ्कन स्वरुपहीन हुन्थ्यो । श्रीमान्को पहलमा मैले उसलाई महिनाको ४ हजार तलब दिन थालेकी थिएँ । बेलामौकामा मेरा पुराना धोतीचोली, म्याक्सी र कुर्ता सुरुवालहरु पनि लगाउन दिने गर्दथेँ । हाम्रो सुक्ष्म सहयोगबाट ऊ हर्षित देखिन्थी । उसको दिमागको सरहना गर्नैपर्छ । हामीले मासिक दिएको रकमले उसले आफ्नो घरमा सामानहरु भर्न थाली । भाडावर्तन र कचौराका सेटहरु किनी ल्याउन थाली ।
 क्रमागत रुपमा ऊ हाम्रो घरमा खाना खान पनि आउन छाडी । ऊ आफ्नै घरमा पकाएर मीठोमसिनो खाने गर्दथी । हाम्रा घरमा विशेष परिकार पाक्दाको समय उसलाई आमन्त्रण गर्ने गर्दथ्यौँ । घरमा आफ्नो लागि खाना नबनाउन र आज हामीसँगै खान आग्रह गर्दथ्यौँ । यसरी कान्छी जीवन सुखदुःख व्यतित गर्दै आइरहेकी थिई । म एकदमै खुशी बनेकी थिएँ  किनकी उसको मिजासिलो व्यवहार र सहयोगबाट  हाम्रा टाउको दुखाइहरु सधैँका लागि मत्थर भएका थिए ।
–०–०–०–
 म अचम्ममा पर्न थालेकी थिएँ । कान्छीको क्रियाकलापहरुप्रति शंका उब्जिन थालेको थियो । ऊ दिनानुदिन परिवर्तित हुदैँ गइरहेकी थिई । जसरी मौसम परिवर्तन हुन्छ । ऊ दुई औँलाको बीचमा अर्को औँलो छिराएर देखाउथी र “ही..ही..ही” शब्द उच्चारण गरेर अट्टहास रुपले हाँस्ने गर्दथी । यसको मतलब “तिम्रो श्रीमान्सँगको सहवास कस्तो हुन्छ ?” भन्ने थियो । मैले पछिमात्र बुझेकी थिएँ । मलाई एकदमै हाँस उठेको थियो । धेरैपटक इशारामा सम्झाएकी थिएँ, “यस्तो गर्नु फोहारी काम हो । जसलाई पायो त्यसलाई यस्तो देखाउनु हुन्न । मान्छेले फटाही भन्छन् ।” तर ऊ खै कति बुझ्थी ? अझै पनि उसको क्रियाकलापमा परिवर्तन आएन । ममाथि  एउटा डर सवार हुन्थ्यो, “कतै उहाँलाई त यस्तो संकेत गरिन ?” म घण्टौंघण्टा सोच्न बाध्य भएकी थिएँ । अखिर यसको मतलव के हो ? आखिर के भन्न चाहिरहेकी छे ऊ ? आफैँलाई लाज लागेर आउँथ्यो, “छ्या कान्छी ! के गरेकी त्यो ?”
 –०–०–०–
कान्छीले पेट बोकेको खबरले गाउँमा झ्याली पिटेको थियो । अथवा, पिटाइएको थियो । सर्वत्र कान्छीकै चर्चा सुनिन्थ्यो । गाउँलेहरु मलाई भेट्नै बित्तिकै सोध्ने गर्दथे, “तिम्री कान्छीले त भूँडी बोकिछे नि ? उसको बिहे कहिले भयो ?” बिस्तारै गाउँलेहरुले मलाई र कान्छीलाई जोडेर अनेकौं लाच्छनाहरु लगाउन थाले । मलाई बाटो हिँड्नै मुस्किल पर्न थाल्यो । कान्छी मेरो घरमा काम गर्ने केटी हो तर यसको मतलब म उसको ठेकेदार त होइन नी ? मान्छेहरुलाई केही चाहिदैन अरुको पतन गराउन । एउटा याम नै पर्खेर बसेका हुने रहेछन् । अनायासै मेरो दिमागले बौद्धिक तर्क गर्न थालेको थियो । मैले एनजिओ÷आईएनजिओमा कार्यरत साथीहरुलाई खबर गरेँ । उनीहरु महिला तथा बालबालिकाका सवालमा रहेर काम गर्ने गर्दथे । तर पनि केही लागेन । हरेकपटकको सोधपूछमा ऊ चुप रहन्थी । उसलाई त्यस्तो प्रकारको सवालमा इशाारा गर्न नै असम्भव थियो ।
–०–०–०–
कान्छीको बारेमा सोचिरहनाले मलाई निद्रा पर्न छोड्यो । श्रीमान्ले सम्झाउँदै भन्नुहुन्थ्यो, “सानु, कति मन खेलाको ? अब त सुत । क्यै हुन्न के !” कान्छीलाई आफ्नो ठाउँमा राखेर विश्लेषण गर्छु । हरपल पीडाबोध भइरहन्छ । “मैले प्रथम पटक बलिष्ठ पुरुषको बाहुपासमा समर्पित हुदाँ भएको सुखद पललाई इन्कार गर्न सकिनँ । मेरा अतृप्त यौनतृष्णा उत्तेजित भएर मूतिवत् भैदिएँ । मेरा असीम रहरहरुलाई उसले चलायमान गरिदियो । किनकी म पनि चलायमान हुन चाहन्थेँ  । के मजस्ती लाटी वा शारीरिक अपाङ्गगता भएकाहरुले आफ्ना रहरहरु दबाएरै राख्नुपर्छ भन्ने नै छ र ? म र अरु स्वास्नीमान्छेमा के चाहिँ फरक छ र ? के म यौनको सुखभोग गर्न नपाउने ? तसर्थ मैले पोखिदिए जीवनका रङ्गीन रङ्गहरु । म स्वेच्छाले भँमराको कैदमा परेँ । ऊसँग समर्पित भएँ । चरम आनन्दको यानमा दौडिएँ । कसले के गर्छ ?” ममाथि कान्छी प्रकट हुन्थी । मेरा मनमस्तिष्कले यन्त्रवत् यी वाक्यांशरु अलाप्न थाल्थे । श्रीमान्ले म त्यसरी बेहोशीमा बर्बराएको सुनेर उठाउनु हुन्थ्यो । म पसिनैपसिनाले भिजेकी हुन्थेँ । त्यसपछि म निदाउँनै सक्दिन थिएँ । आखिर जे भएपनि यसरी उसको अशक्तताको फाइदा उठाउने अधिकार कुनै पनि पुरुषलाई छैन । को हो त्यो पुरुष ? जसले यस्तो चक्रब्यूहको रचना ग¥यो ! को हो त्यो पुरुषले जसले कान्छीलाई कैदमा पा¥यो ? मेरो हृदय रणभूमिमा परिणत भयो । पटक–पटक निदाउन प्रयास गरेँ । तर अहँ, आँखाहरु जार्गाम बसिरहे ।  हरपल यौटा अदृश्य नियतिले डसीरह्यो । –०–०–०– बिस्तारै परिस्थिति सामान्य हुदैँ गयो जसरी तुफानपछि शान्त हुन्छ । मान्छेले नियतिलाई कहिले पो रोक्न सक्छ र ? जुन भएर छोड्छ । मैले पनि हल्का राहतको मुहसुस गरिरहेकी थिएँ । गाउँलेका मुखहरु चुप थिए । कतिञ्जेल धाँमी भएर बक्न सक्छन् र ! कान्छी दिन गनेर बसिरहेकी थिई । हामीले फेरी उसलाई सक्दो सहयोग ग¥यौँ । वहाँले पनि मलाई हौस्याइरहनुभयो । मैले उसलाई काम लगाउन छोडेँ । उसलाई “यस्तो बेलामा काम गर्नुहुन्न । आराम गर्नुपर्छ” भनेर सम्झाएकी थिएँ । उसलाई निरन्तर सहयोग गरिरहेँ । घरमा पाकेका पोषिला भोजनहरु उसको घरमा पु¥याउने गर्दथेँ । गाउँका केही भद्र महिलाहरुले पनि उनलाई सहयोग  गर्न थाले । –०–०–०– एकरात बाहिर एकदमै चिसो थियो । चिसो हावा चलिरहेको कारण झ्याल ढोका लगाएर सुतिरहेकी थिएँ । बाहिर भयावह अन्धकार थियो । बाक्लो गरेर ढुस्से लागिरहेको थियो । मैले एउटा अनौठो चित्कार सुनिरहेकी थिएँ । रात ओसिलो भएकाले आवाज प्रष्टै चिनिन्थ्यो । कान्छी वेदनामिश्रित आवाजले कराइरहेकी थिई । उसलाई वेथा लागिरहेकोजस्तो देखिन्थ्यो । म तुरुन्तै उसको कटेरातर्फ हानिएकी थिएँ । उसले लगाएको म्याक्सी रगतपच्छे भएको थियो । मैले तुरुन्त अनुप्मा दिदीलाई फोन गरेँ । उहाँ आएर सबै समस्याको समाधान भयो । लामो समय नर्सिङ्ग सेवा गरेको अनुभव थियो वहाँमा । गाउँका अरु महिलाहरु पनि ग्वारग्वार्ति उसको कटराभित्र पस्न थाले । करिब साढे २ घण्टापछि उसले एउटा छोरालाई जन्म दिई । छोरा एकदमै गहुँगोरो र मङ्गोलियन वर्णको थियो । गाउँमा “लाटीले छोरा पाई” भन्ने खबर कतिखेर फिजिएछ । उसको बच्चा हेर्नेको भीड थामिनसक्नुको भयो । कान्छी भित्तामा अडेस लागेर सेता दाँत देखाउँदै हाँसिरहेकी  थिई । उसको अनुहारभरि वात्सल्य प्रेम र ओठभरी सन्तुष्टी पोतिएको थियो । –०–०–०– ऊ कान्छी नै थिई ! म उसलाई कहाँ बिर्सिन सक्छु र ! अहँ सक्दिन ! हिजो बाटोमा उसको स्थिति एकदमै भयावह देखेँ । कपाल जथाभावी फिजारेर चिन्नै नसक्ने मुद्रामा देखिन्थी । उसको कुर्ता ठाउँठाउँमा च्यातिएका थिए । कान्छीको छोराभएको हप्तादिनपछि हामी त्यो ठाउँमा नबस्ने निधो ग¥यौँ । राजनीतिक दललाई भनसुन गरेर  सरुवा भइ पूर्वाञ्चलको सहर इटहरी आइपुग्यौँ । त्यसपछिका दिनमा कान्छी कसरी बसी हामीलाई थाहा भएन । नौलो ठाउँ र कामको व्यस्तताले त्यतातिर ध्यानै दिइएन । तर म बारम्बार कान्छीलाई सम्झीरहेकी हुन्थेँ । आजकल घरायसी काम गर्न एउटी दुःख पाकी केटीलाई राखेकी छु । ऊ विहानभरी मलाई काममा सघाउँछे र दिउँसो स्कूल जान्छे । अस्ती काम विशेषले कान्छीको गाउँ गएकी थिए । तर त्यहाँको सम्पूर्ण वातावरण परिवर्तित भइसकेछ । ऊ बस्ने घरमा ठूल्ठूला विल्डिङ्गहरु बनिसकेछन् । हामी बसेको त्यो सानो गाउँ यतिखेर सहर बनिसकेछन् । मान्छेहरु पनि सहरिया बनिसकेछन् । मलाई कसैले पनि चिन्न सकेनन् । त्यहाँका रैनाथे बासिन्दाहरु सबै बसाईँ सरिसकेछन् । कान्छीको बारेमा सोधपूछ गरे, उसको वतन पत्ता लगाउन सकिन । कसै–कसैले हामी हिँडेपछि बच्चासहित हिँडेको भन्ने कुरा मात्र थाहा पाएँ । ऊ उसलाई हेरिरहन्छु । ऊ चुपचाप बर्बराइरहन्छे । उसको काखमा छोरा थिएन । उसको छोरा खोई ? कसले खोसेर लग्यो ?
अब यी प्रश्नका उत्तर कहिल्यै नआउने भए । उसको स्मृतिपटमा भएको  ‘म’ पनि मेटिइसकेछु । मैले उसलाई एक पुरिया बिस्कुट र दूध किनेर दिएँ । उसले मेरो बिस्कुट हातबाट बाघले शिकार झम्टीए जसरी खोसेर खानथाली । दूध बिस्कुट एकै सासमा सकेपछि ऊ अर्को चटक देखाउ थाली । आफ्नो च्यातिएको कुर्ताबाट गुप्ताङ्ग देखाउँदै हातलाई कावा खुवाउन थाली । उसको गुप्ताङ्गगले च्यातिएको लुगाबाट संसार हेर्दै थियो । केही पुरुषहरु उसको नजिक भएर बाटो काट्दै थिए । छड्के आँखाले केही देख्न सकिन्छ कि भनेर गर्वसाथ अन्जापनको ढोङ रच्दै हिँडेको अनुमान लगाउन सकिन्थ्यो । केही आईमाईहरु चाहिँ आफ्ना पुरुषहरुलाई ऊ भएतर्फ जान नदिई बाटो मोडाएर हिँडाउथे । मलाई यस्तो लाजमर्दो घटनाको साक्षी हुनुपर्दा लज्जाबोध भयो । मैले उसलाई आफूसँग भएको बर्को ओढाइदिएँ तर उसले त्यो बर्कोलाई तुरुन्तै हटाई । ऊ त्यो बर्कोले आफ्नो लाज ढाँक्न चाहन्न थिई । ऊ समाजलाई मौन व्यङग्य गर्दै थिई । उसले जीवन र लाजको परिभाषा दिदैँ गरेको प्रतित हुन्थ्यो । देख्ने सुन्नेले धेरै तरिकाले बुझलान्, तर्क गर्लान् तर मैले यही आँखाले देखेकी छु कान्छीको जीवन र लाज । समाज विकासको सुरुवात देखि यसरी नै निर्धाहरु पिल्सिरहेका छन् ।

यो विषयका प्रतिक्रियाहरु

jiban khatri:Sep 11, 2012 02:27:33 PM

ramro लाग्यो. तपाइले सिंगो समाजको चित्रण गर्नु भयको छ तर कान्छीलाई कसले त्यस्तो गर्यो त्यो कुरा पनि स्पस्ट लेख्नु भयको bhaya sadhaaran pathaklai पनि sahajai बुझ्न सजिलो हुन्थ्यो कि.?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु