अर्नब चक्रवातको प्रभाव बढ्दै, नेपालमा भारी वर्षा र हिमपातको चेतावनी


अर्नब चक्रवातको प्रभाव बढ्दै, नेपालमा भारी वर्षा र हिमपातको चेतावनी
मेचीकाली , 

काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभावले नेपालमा आगामी बिहीवार रातिदेखि शनिवारसम्म भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसममा हुने सम्भावित परिवर्तनलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै शुक्रवार र शनिवार देशका विभिन्न भूभागमा मुसलधारे वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना औंल्याएको हो। चक्रवातको प्रभावसँगै अन्य मौसमी प्रणालीसमेत सक्रिय हुँदा देशका धेरै स्थानमा मौसम प्रभावित हुने अनुमान छ।

भारतीय मौसम विभागका अनुसार नेपाली समयअनुसार आज बिहान ५ः३० बजे बङ्गालको खाडीमा रहेको गहिरो न्यून चापीय प्रणाली चक्रवातमा परिणत भएको हो। ‘अर्नब’ नाम दिइएको उक्त चक्रवात थप शक्तिशाली बन्दै पर्सि बुधवार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीचको तटीय क्षेत्रस्थित यानम नजिकबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ। जमिनमा प्रवेश गर्ने समयमा चक्रवातको हावाको गति प्रतिघण्टा ११५ देखि १४५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ।

महाशाखाका अनुसार बुधवार रातिदेखि नै नेपालमा मौसम बदली भई सामान्यदेखि मध्यम वर्षा शुरू हुन सक्छ। बिहीवारदेखि शनिवारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

विशेषगरी शुक्रवार र शनिवार कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिइएको छ। लगातारको वर्षाले जनजीवन प्रभावित हुनुका साथै सम्भावित विपद्को जोखिमसमेत बढाउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने अनुमान गरिएको छ। यस्तो अवस्थामा पदयात्रा तथा पर्वतीय गतिविधि जोखिमपूर्ण हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका पर्यटक र स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

सम्भावित वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले किसानलाई बिहीवारअघि नै धानबाली भित्र्याउनेलगायतका कृषि कार्य सम्पन्न गर्न महाशाखाले सुझाव दिएको छ। बुधवारदेखि शनिवारसम्म धान नकाट्नसमेत आग्रह गरिएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्राको योजना बनाएकाहरूलाई यात्रा नगर्न र यात्रामा रहेकाहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न पनि महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ।

मौसम पूर्वानुमान महाशाखाले चक्रवातबाट उत्पन्न हुने मौसमी अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। सम्भावित जोखिमबाट जोगिन महाशाखाबाट जारी हुने पछिल्ला मौसमी सूचना तथा चेतावनी नियमित रूपमा अवलोकन गर्नसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया



थप समाचारहरु