बनेपा–सिनागाल पक्की पुलको शिलान्यास


बनेपा–सिनागाल पक्की पुलको शिलान्यास
मेचीकाली , 

बनेपा–तीन बर्षको अथक प्रयास र चारपटकको टेण्डरपछि बनेपा ८ र बनेपा ११ जोड्ने पक्की पुल निर्माण हुने भएको छ । 

बनेपा सिनागाल राधे राधे पुण्यमाता पुल निर्माण आजदेखि सुरु भएको छ । पुल निर्माणको काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले आज शिलान्यास गरे । सांसद बाँस्कोटाकै नेतृत्वमा तीन वर्षदेखि पुल निर्माणको प्रक्रिया सुरु भएको थियो । तर, तीनपटकसम्म टेण्डर आह्वान गर्दासमेत कहिले टेण्डर नपर्दा र कहिले लागत अनुमान भन्दा बढी रकमको टेण्डर परेपछि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । चौंथोपटकमा आरसी निर्माण सेवा जडिबुटीले पुल निर्माणको ठेक्का हात पारेको छ । 

गत असोज २५ गते पुल निर्माणको योजना सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ चैत २४ गतेसम्म पुल निर्माणको काम सम्पन्न हुनुपर्नेछ । पुलका लागि ६ करोड २९ लाख ८१ हजार७ सय ४७ रुपैयाँ २४ पैसा लागत अनुमान गरिएकोमा भ्याटसहित ५ करोड ५७ लाख ५५ हजार ८ रुपैयाँ ८९ पैसामा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।  २० मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाईको उक्त पुल निर्माणपछि बनेपा ११ सिनागालका स्थानीयबासीलाई बनेपा बजारसम्म आवतजावतका लागि सहज हुनेछ । 

पुल शिलान्यास कार्यक्रममा बोल्दै सांसद बाँस्कोटाले विकासको काममा आफूले राजनीति नगर्ने भन्दै आफूले बोलेअनुसार विकास निर्माणका कामहरु धमाधम भइरहेको बताए । पुण्यमाता करिडोर निर्माण अवरुद्ध पार्न मुद्दा हालिएकोमा असन्तुष्टि जनाउँदै उनले मुद्दा हाल्नेहरुले किन करिडोर नबनेको हो जवाफ दिनुपर्ने बताए । उनले पुल निमार्णको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रहसमेत गरे ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्यले सबैको हातेमालो गर्दै अघि बढ्न सके बनेपाको विकास थप अघि बढ्ने बताए । पुल निर्माणका लागि आवश्यक सहयोग र सहजीकरणका लागि तयार रहेको उनले बताए । बनेपा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष शिव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर ध्रुब खुलाल थापाले पुल निर्माणको प्राविधिक पक्षबारे जानकारी गराएका थिए भने वडा नं. १० का वडाअध्यक्ष चन्द्रवहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए । 


प्रतिक्रिया



थप समाचारहरु