काभ्रे। लड्केश्वर मेलाको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाद्वारा आयोजित खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गोरखनाथ साना किसान कृषि सहकारी संस्था र लड्केश्वर युथ क्लबको सहयोगमा आयोजित कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका छन्। बल्थलीमा रक्तदान कार्यक्रम आयोजना गरिएको यो २५ औं पटक हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. विशाल भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा भक्तपुर रेडक्रसका सभापति रामेश्वर थापा, निवर्तमान केन्द्रीय सदस्य कुमार थापा, निवर्तमान काभ्रे जिल्ला रेडक्रस मन्त्री हेमलाल तामाङ, काभ्रे जिल्ला रेडक्रस सदस्य कृपेन्द्र श्रेष्ठ तथा गोरखनाथ कृषि सहकारी संस्थाका अध्यक्ष सन्तनु केसीलगायतको उपस्थिति रहेको थियो।
लड्केश्वर मेलाको अवसरमा बल्थलीमा वर्षेनी रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ। मेलाको सांस्कृतिक तथा धार्मिक महत्वसँगै सामाजिक सेवाको भावनालाई जोड्दै रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन रक्तदातालाई आवश्यक सामग्री उपलब्ध गराउने उपरथी प्रकाश थापा र सागर लामालाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्ने प्रमुख अतिथि, अतिथिहरू, रक्तदाता, सहयोगी संस्था तथा सम्पूर्ण शुभेच्छुकप्रति नेपाल रेडक्रस सोसाइटी बल्थली उपशाखाले आभार व्यक्त गरेको छ।
उपशाखाका सभापति मुकुन्द अर्यालले रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।