काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ३ स्थित ठुली सामुदायिक वनमा एक महिला र एक पुरुषको सडेगलेको अवस्थामा दुईवटा कंकाल फेला परेको छ। कंकालको साथबाट बरामद कपडा र कागजातका आधारमा उनीहरू केही समयदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र उनकी साथी शर्मिला चौधरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार (आज) बिहान करिब १०:३० बजे स्थानीय वनमा मौवाको दुईवटा रुखमा सलको पासो लगाई टाउकोको कंकाल मात्र झुण्डिरहेको अवस्थामा शवहरू फेला परेका थिए।
विदामा निस्किएपछि हराएका थिए असई
सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रे दरबन्दी भई पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी घर भएका असई शक्ति राम गत वैशाख १९ गतेदेखि २ दिनको घर विदा (क्या वि) स्वीकृत गराई निस्किएका थिए। तर, विदा सकिएपछि पनि उनी न त कार्यालय फर्किए, न त परिवारको सम्पर्कमा नै आए। उनी बेपत्ता भएपछि उक्त गण हेडक्वाटरले वैशाख २१ गते खोजतलासका लागि पत्राचार गरेको थियो।
भेट्न आएकी साथी पनि सँगै बेपत्ता
यसैबीच, कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीया शर्मिला चौधरी वैशाख १८ गते असई शक्ति रामलाई भेट्न काभ्रे जान्छु भनी घरबाट निस्किएकी थिइन्। दुवै जना एकाएक सम्पर्कविहीन भएपछि र मोबाइल समेत नलागेपछि शर्मिलाका भाइ रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।
प्रविधिको सहयोगमा खोजतलास
प्रहरी वृत्त बालाजुले अनुसन्धान गर्दा शर्मिलाको मोबाइलको अन्तिम लोकेशन काभ्रेपलाञ्चोक जिल्लामै देखिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र बालाजु प्रहरीको संयुक्त टोलीले बैंक विवरण तथा कल डिटेल रेकर्ड (CDR) लगायतका प्राविधिक माध्यमबाट दुवैको व्यापक खोजी गरिरहेको थियो।
आफन्तद्वारा पहिचान, थप अनुसन्धान जारी
खोजीकै क्रममा आज ठुली सामुदायिक वनमा दुईवटा कंकाल फेला परेपछि प्रहरी चौकी पाँचखाल र जिल्ला प्रहरी कार्यालयको विशेष टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा फेला परेका कपडा र अन्य व्यक्तिगत कागजातहरू आफन्त एवं साथीभाइलाई भिडाई रुजु गराउँदा उक्त कंकाल हराइरहेका असई शक्ति राम र शर्मिला चौधरीकै भएको पुष्टि भएको हो।
प्रहरीले दुवै मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।