'बनेपा महोत्सव' नरोकिए आन्दोलन हुने


मेचीकाली

बनेपा-दशैंको मुखमा आफूहरूको व्यापारलाई असर पार्नेगरी बनेपा महोत्सव गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै बनेपाका व्यवसायीहरूले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । 

आज नगर प्रमुख शान्तिरत्न शाक्यलाई भेटेर ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरूले महोत्सव नरोकिए आन्दोलनको चेतावनीसमेत दिएका छन् । ज्ञापनपत्रमा १५८ जना व्यवसायीले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्रको बोधार्थ काभ्रे उद्योग वाणिज्य संघलाई पनि दिइएको छ । उनीहरूले संघका अध्यक्ष प्रताप वैद्यलाई भेटेर महोत्सव रोक्नका लागि सहजीकरण गरिदिन र व्यवसायीको हक हितका लागि बोल्न आग्रह गरे ।

बिगत २०७२ सालको भुईचालो, त्यसपछिको भारतीय नाकाबन्दी अनि २०७६ साल चैत्र महिनाबाट शुरु भएको २०७७/७८ साल सम्मको कोरोना महामारीबाट थलथलिएको व्यापार ब्यवसाय अझ सम्म पनि उकासिन नसकेको भन्दै ज्ञापनपत्रमा यसमा सम्भवतः राज्यको तर्फबाट व्यवसायीलाई प्रत्यक्ष लाभ हुने कुनै पनि राहतका कार्यक्रमहरू आउन नसकेको उल्लेख छ । यस्तो अवस्थामा यस व्यापारिक नगरी बनेपामा आफ्नै घरमा तथा अन्यत्र बाट आएर घर भाडामा लियर व्यापार व्यवसाय गरिरहेका सम्पूर्ण व्यवसायी हरू दशैं र तिहार जस्ता ठूला ठूला चाडपर्वमा केही चलायमान र सन्तुष्टमुलक व्यापार होला की भन्ने आशा लिएर बसेको अवस्थामा बनेपा भित्रका कुनैपनि व्यवसायीहरुसँग कुनै किसिमको सरसल्लाह नगरिकन केवल सिमित व्यक्तिहरूलाई फाईदा पुग्ने गरि नारामा मात्रै व्यापारी तथा व्यवसायीहरूको हकहितको लागि भनेर दशैंको मुखमा विगत केहि वर्षदेखि आयोजना भइरहेको कथित "बनेपा महोत्सव" रोक्न माग गरिएको छ ।

बनेपाको बनेपा ब्वाइज क्लबले आउदो असोजमा बनेपा महोत्सव गर्ने भनेर प्रचार भइरहेको छ । महोत्सव आयोजना गर्ने र अन्यलाई ठेक्कामा दिने गरेको भन्दै त्यसको आलोचनासमेत हुने गरेको छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा टिभिएसको नयाँ शोरूम