नारी जागरण सहकारीले पाँच वर्षभित्र पच्चीस उद्यमशिलता विकास गर्ने


मेचीकाली

नाला (बनेपा)– काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ नालामा रहेको नारी जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी पाँच वर्षभित्र २५ वटा उद्यमशिलताका कार्यक्रमहरु अघि बढाउने भएको छ । सोमबार आयोजित रजत महोत्सवको अवसरमा सहकारीले आगामी पाँच वर्षभित्र उद्यमशिलताका २५ वटा योजना अघि बढाउने लक्ष्य राखेको जनाएको हो । कार्यक्रममा सहकारीकी संस्थापक निर्मला श्रेष्ठले २०५३ सालमा मादक पदार्थ सेवन (रक्सी) सेवनको विरुद्धमासमुहमा आवद्ध भएका महिलाहरुले सहकारीको रुपमा परिणत गरेको बताउनुभयो । उहाँले २५ वर्षको रजत महोत्सवको अवसरमा सहकारीले रोजगारीको लागि विदेश जान बाध्य युवाहरुलाई स्वदेशमा नै स्थानीय स्रोत र साधनहरुको प्रयोग गर्दै पाँच वर्षको अवधिमा २५ वटा जागरण ब्राण्डको व्यवसायिक उद्यमशिलता सिर्जना गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले सहकारीले बचत तथा ऋणको मात्रै काम नगरी उद्यमशिलता विकास गरी युवाहरुका लागि स्वदेशमा नै स्वरोजगारका अवसर प्रदान गर्न सहकारीले उद्यमशिलताको लक्ष्य राखेको बताउनुभयो । 

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले राखेको उद्यमशिलताको लक्ष्य पुरा गर्नका लागि नेफ्स्कूनले यूएसएआईडिको सहयोगमा सञ्चालित परियोजना अन्र्तगत विजनेश सर्भिस डेस्क (बिडिएस) स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले उक्त सर्भिस डेस्कले सहकारीले अघि सारेको उद्यमशिलता विकासको लागि आवश्यक पर्ने सीप तथा तालिमका लागि मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले सहकारीले संस्थागत रुपमा सीप तथा तालिमको माग गरेको खण्डमा नगरपालिकाले उद्यमशिलता विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले सहकारीले उत्पादन गरेको वस्तुको बजारीकरणको लागि समेत नगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नगर उपप्रमुख बिमला दाहाल सापकोटाले सहकारीले पछि परेका महिलाहरुको शसक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै महिलाहरुको क्षमता विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारीले लिएको पाँच वर्षभित्र २५ वटा उद्यमशिलता सुरुवात गर्ने लक्ष्य सह्रानिय रहेको बताउनुभयो । उहाँले सहकारीमा रहेका शेयर सदस्यहरुको भावना र मर्मलाई आत्मसाथ गर्दै उद्यमशिलताको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका–४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सहकारीले बचत तथा ऋणका साथै सदस्यहरुको आर्थिक अवस्था सुधारको लागि गर्न लागेको उद्यमशिलताको विकास कार्यक्रम नमूनाको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा नारी चेतना केन्द्र नेपालका अध्यक्ष श्रृजना पौडेलले सहकारी अघि सारेको उद्यमशिलता विकास योजना प्रशंसयोग्य रहेपनि उद्यमशिलता सुरु गर्नपहिले सीप तथा क्षमता विकास र बजारको अवस्था अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले सहकारीले उद्यमशिलता विकासको साथै त्यसको निरन्तताको लागि समेत अध्ययन गरेर मात्रै काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहकारीकी अध्यक्ष देवकी दाहालले २०५३ सालमा टोलटोलमा गएर बनाइएको समूह मिलेर सहकारी बनेसँगै हाल सहकारीमा एक हजार पाँच सय शेयर सदस्य र नौ सयभन्दा बढी बाल सदस्य रहेको बताउनुभयो । 

उहाँले सहकारीले हालसम्म जागरण लप्सी क्याण्डी, सजना जागरण टेलर्स, जागरण साप्ताहिक परिवार नियोजन क्लिनिक, चामुण्डा जागरण झोल साबुन र १६ वटा जागरण कृषक समूह निर्माण गरी कृषि, हस्तकला, कुखुरापालनलगायतको समूह निर्माण गरेको बताउनुभयो । उहाँले सहकारीले आगामी पाँच वर्षभित्र २५ वटा उद्यमशिलता विकास गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु