भैंसेपाटीमा बासडोलको सेवा केन्द्र


मेचीकाली

बनेपा–बनेपा नगरपालिका वडा नं. १२ मा रहेको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्षेत्र विस्तारसँगै पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । 

बनेपा नगरपालिका वडा नं. १३ को भैंसेपाटीमा चैत १ गते बुधबारबाट सेवा केन्द्र सञ्चालनमा आएको हो । सेवा केन्द्रको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले एक समारोहबीच उद्घाटन गरेका छन् । 

संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले समुदायमा आधारित सहकारीहरुमा कुनै समस्या नदेखिएको भन्दै ढुक्कका साथ कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरे । 

संस्थाका सचिव रामकृष्ण कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य व्यवस्थापन अनन्तप्रसाद तिमल्सिनाले राखेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकारर वकिलनाथ शर्मा वाग्ले, प्रमुख सल्लाहाकार मुकुन्द शर्मा लगायतले मन्तव्य राखेका थिए । 

२०६४ भदौ ४ गते स्थापना भएको सहकारीले कार्यक्षेत्र बनेपा नगरपालिका र पनौती नगरपालिकामा विस्तार गरेको छ । २०९५ जना शेयर सदस्य रहेको संस्थाले आफ्नो पुँजी १८ करोड रुपैयाँ पु¥याएको छ । आगामी वर्षमा थप सेवा केन्द्र सञ्चालनसहित संस्थाका गतिविधिलाई अझै प्रभावकारीरुपमा अघि बढाइने संस्थाले जनाएको छ । यो सहकारी २०५८ सालमा पिडिडिपी कार्यक्रम मार्फत ३८ वटा समूह बनाई साप्ताहिकरुपमा बचत संकलन गर्दै सहकारीमा रुपान्तरण गरिएको थियो । 

भैसेपाटीमा सेवा केन्द्र सञ्चालन गरिएको पहिलो दिन ५० जना सदस्य बनेको संस्थाकी कोषाध्यक्ष कल्पना कुँवरले जानकारी दिइन् ।



प्रतिक्रिया



थप समाचारहरु