काभ्रेका दुई सहकारीबीच ‘बिग मर्जर’, सामूदायिक र ज्योति बहुउद्देश्यीय एक भए


मेचीकाली

पनौती– काभ्रेमा रहेका दूई ठूला सहकारीबीच एकीकरण सम्झौता भएको छ । सहकारीकर्मीहरुले यो एकीकरणलाई जिल्लकै बिग मर्जरको रुपमा लिएका छन् ।

पनौती ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था  र बनेपा ७, मा मुख्य कार्यालय रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबीच बुधबार साँझ एकीकरण सम्झौता भएको हो । सामूदायिक सहकारीको मुख्य कार्यालयमा भएको कार्यक्रममा दुबै संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरु समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो । 

सामूदायिक साकोस २०५१ साल माघ १४ गते स्थापना भएको सहकारी हो । हालसम्म १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र बनाएको यो सहकारीमा ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको छ । यस्तै ज्योति बहुउद्देश्यीय सहकारी संस्था २०५५ सालमा स्थापना भएको हो । यसमा ६ हजार ९ शय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको छ ।

 एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठूलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएकोमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था र ज्योति बहुउद्देश्यीय सहकारी संस्थालाइ बधाई दिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, सामूदायिक साकोसका प्रमुख सल्लाहकार दीपक थापा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्योति बहुउदेश्यीय सहकारी संस्थाका सल्लाहकार राजकुमार हुमागाई र निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले शुभकामना मन्तब्य राखेका थिए । दुबै संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार सुरु हुनेछ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी ५ अर्ब ९० करोड रुपैयाँ हुनेछ भने शेयर पूँजी ४६ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ४ अर्ब ६० करोड हुनेछ । बचत निक्षेप रू ४ अर्ब १० करोड हुनेछ । 


प्रतिक्रिया



थप समाचारहरु