प्रचार अभियान अन्तिम चरणमा, भोली रातीदेखि मौन अवधी


मेचीकाली

काभ्रे–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल तथा उम्मेदवारहरुको प्रचार अभियान अन्तिम च।णमा पुगेको छ । निर्वाचनका लागि उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । सोही कारण दल तथा उम्मेदवारहरु प्रचार अभियानमा थप सक्रिय भएका हुन् । 

आज र भोली दिनभर प्रचार अभियान थप प्रभावकारी बनाउन सके निर्वाचन अभियान आफ्नो पक्षमा पार्न सकिनेमा उम्मेदवारहरु विश्वस्त छन् । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए । निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध हुने बताए । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् । 

निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय आयोगले आज गर्दैछ । प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार रहेका छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ ।

प्रतिक्रिया



थप समाचारहरु