‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ’


Mechikali

अमेरिकी राष्ट्रपति चुनावमा अग्रता कायम राखेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले सम्बोधन गरि आफूहरु जितको मार्गका रहेको बताउँदै देशलाई एकीकृत गराउनका लागि सबै मिलेर काम गर्नु पर्ने बेला आएको उल्लेख गरेका छन् । गृह राज्य डेलवरको विलमिङ्गटनमा नेपाली समय अनुसार शनिबार बिहान सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले जनताको आवाज सुनिनु पर्ने बताए।

उनले भने, ‘हामी यो दौड जित्दै छौँ । तर जनताको हरेक आवाज सुनिनु पर्छ र सुनिने छ ।’ उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसका साथमा उपस्थित भएका बाइडेनले तनाव र विभाजन उच्च रहेको बताउँदै अहिलेको आवश्यकता सबै एकीकृत भएर देशका रुपमा आउनु पर्ने बेला रहेको बताए ।

उनले भने, ‘भिन्न विचारहरु छन् । तर त्यसलाई सम्बोधन गर्दै हामी देशका रुपमा आउनु पर्ने छ । हामी त्यसका लागि तयार छौँ ।’ उनले आफू सत्तामा आएपछि आफूलाई मत दिनेको मात्रै विपक्षमा मत दिनेहरुको पनि अर्थात सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताए ।

उनले देशमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनु पर्ने, गिरेको अर्थतन्त्र उकास्नु पर्ने, संस्थागत रुपमा रहेको रंगभेद, जलवायु परिवर्तनसहितका टड्कारो समस्या समाधानको पक्षमा काम गर्नु पर्ने बताए । त्यसका लागि आफूले काम गर्नका लागि प्रयास थालिसकेको उनले बताएका छन् ।

उनले मतभेदहरु थाँती राखेर देशका लागि एक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी प्रतिस्पर्धी हुन सक्छौँ, तर शत्रु होइनौँ ।’ उनले भावी पुस्ताका लागि आशावादी रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धाँधली’ तथा ‘छल’ गरेर आफूबाट नतिजा खोसिएको आरोप लगाएका बेला बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरि एकताको सन्देश दिएका हुन् ।

मतगणना अन्तिम चरणमा पुग्दा महत्वपूर्ण राज्यहरुमा जो बाइडेनले अग्रता कायम गरेका छन् । अमेरिकामा नोभम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ तथा राज्यका संसद एवम् स्थानीय तहका लागि मतदान भएको थियो । अधिकांश अरु पदको नतिजा आए पनि राष्ट्रपति चुनावको नतिजा केही ‘ब्याटलग्राउण्ड’ राज्यहरुमा गएर अड्किएको छ ।

आफू पछि पर्दै गएपछि ‘धाँधली’ आरोप लगाए केही राज्यमा मतगणना रोकिनु पर्ने माग गरेका ट्रम्पले अदालतको ढोका ढकढक्याए पनि त्यसमा सफल भएका छैनन् । तर बाइडनेले जनमत सुनिनु पर्नेमा जोड दिएका छन् ।

अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार ‘ब्याटलग्राउड’ राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका वा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु