नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान नेतृत्व र कार्यशैली नसच्याई चुनावमा गए पार्टीले ठुलो क्षति बेहोर्नसक्ने बताएका छन् ।
आज एक अन्तरवार्ताको क्रममा उनले भने, 'अब ध्वस्त बनाएर जाने हो भने जेसुकै गरुन्, मलाई मतलब छैन।' बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले नै स्थापित गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको विधिलाई षड्यन्त्रमूलक तरिकाले हटाइएकोमा कडा आपत्ति जनाए। उनले यो निर्णयलाई "जाली झेली कुरा" को संज्ञा दिँदै भने, 'यो हाम्रो एमालेको विधिवत् व्यवस्था हो, जसका लागि हामी १५ वर्ष लड्यौँ। तर अहिले छड्के छड्के कुरा गरेर त्यसलाई हटाइयो।'
बाँस्कोटाले अध्यक्ष ओलीका लागि अब 'ग्रेसफुल एक्जिट' लिएर पार्टीको संरक्षकको भूमिकामा बस्नु सबैभन्दा उत्तम विकल्प भएको सुझाव दिए। उनले भने, 'आन्दोलनले धक्का खाएको कुरा मान्नुहुन्छ भने राम्रो भयो, मान्नुहुन्न भने छोडिदिँदा राम्रो हुन्छ। उहाँले आफैँले उठाएको मुद्दा आफैँले मान्नुपर्छ।' उनले पार्टीभित्र व्यक्ति हाबी हुँदा कमिटी प्रणाली कमजोर भएको र 'लाइक र डिसलाइक' का आधारमा निर्णय हुँदा पार्टी पङ्क्तिकै शिथिल बनेको टिप्पणी गरे।
तपाईं पनि 'जेनजी' आन्दोलनको पीडितमा पर्नुभयो, तपाईंको घर जलाइयो, होइन?
होइन, म 'जेनजी'को पीडितमा परिनँ । मेरो घर 'जेनजी'ले जलाएको होइन । यो आन्दोलनको नाममा टाँसिएर बसेका केही आपराधिक र नेपालमा अस्थिरता चाहने तत्वहरूले मौकामा चौका हानेका हुन् । कमेडियन अपूर्व क्षितिजले 'यो घर ध्वस्त बनाउन आऊ' भनेर खुला आह्वान गरेको प्रमाण छ । तर राज्यले मेरो किटानी जाहेरीसमेत दर्ता गरेको छैन, जुन सरकारको अपराधी बचाउने नियत हो भन्ने प्रस्ट हुन्छ ।
'जेनजी' आन्दोलनले उठाएका मागहरूलाई तपाईं कसरी हेर्नुहुन्छ?
उनीहरूले उठाएका मागहरू विशुद्ध र ठीक थिए । सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र सेवा प्रवाहसँग जोडिएका कुराहरू गलत थिएनन् । राज्यले उनीहरूलाई समयमै सम्बोधन गर्नुपर्थ्यो, उनीहरूसँग वार्ता गर्न सक्नुपर्थ्यो । सरकारले उनीहरूलाई बुझ्न सकेन वा कम आँकलन गर्यो, जुन सरकारको कमजोरी हो ।
आन्दोलनमा भएको हिंसा र २३ गते सरकारले गरेको बल प्रयोगलाई कसरी लिनुहुन्छ? के सरकारले गल्ती गर्यो?
२३ गते सरकारले गल्ती गरेकै हो । त्यो परिस्थितिको सही विश्लेषण हुन सकेन । तर दोष सरकारको मात्र होइन, सुरक्षा संयन्त्रको पनि हो । सेना, प्रहरी, गुप्तचर जस्ता निकायले यत्रो ठूलो घटनाको पूर्वसूचना र विश्लेषण दिन नसक्नु वा उनीहरूको सूचनालाई सरकारले नजरअन्दाज गर्नु ठूलो सुरक्षा चुक हो । त्यसैले सरकार, सुरक्षा निकाय र हिंसामा उत्रिनेहरू सबैको आ-आफ्नो ठाउँमा गल्ती छ ।
कांग्रेस-एमालेको सरकार असफल भएकै हो त ? यो परिस्थिति आउनुमा सरकारको अकर्मण्यता कति जिम्मेवार छ?
सरकार असफल भएकै हो । जसले सडकबाट पदच्युत हुनुपर्यो, त्यो सरकार असफल नै हो । यो सरकारले कानुनी, संवैधानिक र नागरिक तीनवटै वैधता गुमायो । हामीले समृद्धि र स्थायित्वको आशा गरेका थियौँ तर निराशा मात्र हात लाग्यो ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफ्नो बहिर्गमनलाई 'विदेशी षड्यन्त्र' भन्नुभएको छ, के यो सत्य हो ?
नेपालमा अस्थिरता चाहने तत्वहरू सधैँ सक्रिय हुन्छन् । तर मैले सडकमा कुनै विदेशी अनुहार देखिनँ । यदि त्यस्तो षड्यन्त्र थियो भने, त्यसलाई समयमै पत्ता लगाउन नसक्नु पनि नेतृत्वकै कमजोरी हो । आफ्नो कमजोरी लुकाउन अरूलाई दोष देखाउनु मात्र हुँदैन, नेतृत्वले जिम्मेवारी लिनुपर्छ ।
अब एमालेको कुरा गरौँ । के अब नेकपा एमाले केपी ओलीको नेतृत्वमा अगाडि बढ्न सक्छ? उहाँलाई नै अध्यक्ष मानेर जानुहुन्छ?
केपी ओलीले नै पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको विधि स्थापित गर्नुभएको हो, जुन सही थियो । तर अहिले विधान महाधिवेशनबाट षड्यन्त्रमूलक तरिकाले त्यो विधि हटाइयो, जुन गलत भयो । नेताहरूले आफूले बनाएको विधि आफैँले मान्नुपर्छ । यदि आन्दोलनले धक्का खाएको स्वीकार गर्ने हो भने उहाँले नेतृत्व हस्तान्तरण गर्दा राम्रो हुन्छ । उहाँले पार्टीको संरक्षकको भूमिका खेल्दा राम्रो हुन्छ ।
त्यसोभए केपी ओलीको विकल्प को हो त? के पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष बनाउने तयारी हो?
व्यक्तिमा किन खोज्ने? समस्या व्यक्तिमा होइन, प्रणालीमा हो । विद्या भण्डारीलाई अध्यक्ष बनाउन नमिल्ने कुनै कारण छैन । उहाँको सदस्यता रोक्ने निर्णय नै गलत र जाली कुरा हो । तर विकल्प विद्या भण्डारी नै हुन् भनेर म भन्दिनँ । एमालेमा व्यक्तिपूजा होइन, सामूहिक नेतृत्व र विधि चल्नुपर्छ । सबै पार्टीमा यो समस्या छ, जहाँ नेतृत्व हस्तान्तरण गर्ने प्रणाली नै छैन ।
फागुनमा तोकिएको निर्वाचनमा एमाले यही नेतृत्वमा चुनावमा जान्छ ? गयो भने के हुन्छ?
म अहिले भन्न सक्दिनँ । तर यही अवस्थामा, कुनै सुधार र आत्मालोचना बिना चुनावमा गयो भने पार्टीले ठूलो क्षति बेहोर्न सक्छ । जनताको मनमा के छ, त्यो बुझ्न जरुरी छ । तर एमालेले चुनाव बहिष्कार गर्दैन, हामी चुनावमा भाग लिन्छौँ । तर ध्वस्त बनाएर जाने हो भने जेसुकै गरुन्, मलाई मतलब छैन
तपाईंले अध्यक्षको यति धेरै आलोचना गरिरहनुभएको छ, तपाईंको टिकट नै धरापमा पर्ला नि?
मलाई त्यसको कुनै मतलब छैन । मैले टिकट पाउँछु कि पाउँदिनँ, हार्छु कि जित्छु, त्यो मेरो चासोको विषय होइन । कसैले मलाई पार्टीबाट निकाल्न सक्ला तर देशबाट निकाल्न सक्दैन । मलाई पदभन्दा पार्टी, आन्दोलन र देश ठूलो लाग्छ । सत्य बोल्न म डराउँदिनँ ।
रातोपाटीबाट