काभ्रेमा घरेलु हिंसा घट्यो, बलात्कारसहितका जघन्य अपराध भने बढ्दै


मेचीकाली

काभ्रे–काभ्रेमा घरेलु हिंसा घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता भएको घरेलु हिंसासम्वन्धी उजुरीको तथ्यांकले पछिल्लो तीन आर्थिक वर्षमध्ये गत आर्थिक वर्ष २०७९÷८० मा घरेलु हिंसा घटेको देखिएको हो ।

गत आर्थिक वर्षमा प्रहरीमा १ सय ८६ वटा उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या ९० ले कम हो । आर्थिक वर्ष २०७८÷७९ मा प्रहरीमा २ सय ७६ वटा उजुरी दर्ता भएका थिए । त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा भने १ सय ७२ वटा मात्रै उजुरी दर्ता भएका थिए । 

सबै उजुरीमा मिलापत्र

प्रहरीको तथ्यांकअनुसार घरेलु हिंसाका सबै उजुरीमा प्रहरी कार्यालयमा मिलापत्र भएको छ । पछिल्लो तीन आर्थिक वर्षमा एउटा पनि मुद्दा अदालतमा गएको छैन । चालु आर्थिक वर्षको साढे चार महिनामा जिल्लामा कुल ६७ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये ४२ वटामा मिलापत्र भइसकेको छ भने २५ वटा फस्र्योट हुन बाँकी रहेको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी साउन महिनामा दर्ता भएका छन् । यो महिनामा कुल २५ वटा उजुरी दर्ता भएकोमा १७ वटामा मिलापत्र भएको छ । यस्तै भदौमा १६, असोजमा ९, कार्तिकमा १० र मंसिर महिनामा १७ गतेसम्म ७ वटा उजुरी दर्ता भएका छन् । 

पछिल्लो समय स्थानीय तहमा न्यायिक समिति स्थापना भएसँगै धेरैजसो हिंसाका घटना न्यायिक समितिमा पनि पुग्ने गरेका छन् । 

जघन्य अपराध भने बढ्यो

काभ्रेमा बलात्कारजस्ता जघन्य अपराध भने ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षमा बलात्कार अर्थात जबर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षको साढे चार महिनाको अवधिमै ३५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

गत आर्थिक वर्षमा दर्ता भएको जबर्जस्ती करणीको १६ वटा मुद्दामा ६ वटा फस्र्योट भएको छ । यसमा हालसम्म १४ जना पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ । यस्तै २ जना फरार भएका छन् । उक्त आर्थिक वर्षमा जर्बजस्ती करणी उद्योगको ३ वटा, बाल यौन दुव्र्यवहारको ६ वटा, आत्महत्याको १८ वटा, आत्महत्या दुरुत्साहनको १ वटा, अभद्र व्यवहारको १० वटा, जातीय छुवाछुतको १ वटा कर्तव्य ज्यानको १ वटा तथा मानव बेचबिखन ओसारपसारको १ वटा मुद्दा दर्ता भएको छ । कुल ५७ वटा जघन्य अपराधको मुद्दामध्ये २३ वटामात्र फस्र्योट भएका छन् । 

चालु आर्थिक वर्षको मंसिर १४ गतेसम्म जबर्जस्ती करणीका ३७ मध्ये २५ वटा फस्र्योट भएका छन् । यो अवधीमा जबर्जस्ती करणी उद्योगाका १, बाल यौन दुव्र्यवहारका १०, आत्महत्या ३५, अभदै व्यवहारका १७, अप्राकृतिक मैथुन २, कर्तव्य ज्यानका ६, बहुविवाहका ५ र मानव बेचबिखन तथा ओसारपसारका ३ वटा मुद्दा दर्ता भएका छन् । यो अवधीमा कुल १ सय १६ मुद्दा दर्ता भएकोमा हालसम्म ७७ वटा फस्र्योट भएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु