जब शिव हुमागाईंले रोशीको पानी बनेपा ल्याउन नदिने अडान राखे......


मेचीकाली

बनेपा–काकाकुल बनेपामा खानेपानीको सहज आपूर्तिका लागि काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना एकमात्र भरपर्दो बिकल्प मानिएको छ । अहिले यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ र खानेपानीको परिक्षणसमेत भइरहेको छ ।

मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उम्मेदवारहरुले खानेपानीको सहज आपूर्तिलाई मुद्दा बनाइरहेका छन् । पाँचदलीय गठवन्धनका उम्मेदवारहरु एकीकृत खानेपानी आयोजना आफूहरुले ल्याएको भाषण गर्दै मत मागिरहेका छन् ।  तर गठवन्धनका तर्फबाट प्रतिनिधिसभामा काभ्रे २ का उम्मेदवार शिवप्रसाद हुमागाईंले एकीकृत आयोजना सुरु हुनु अगाडि रोशीको पानी बनेपा ल्याउन नदिने अडान राखेको खुलासा भएको छ । 

नेपाली कांग्रेसका नेता रविन शाक्यले हालै फेसबुकमार्फत त्यतिबेला एकीकृत खानेपानीका विषयमा भएको बैठकबारे लेखिएको डायरीको अंश सार्वजनिक गरेका छन् । शाक्यले उल्लेख गरेअनुसार  २०६३ जेठ २३ गते मंगलबार शहरी विकास तथा भवन निर्माण विभाग बबरमहलमा खानेपानीको विवाद समाधानका लागि बैठक बोलाइएको थियो । उक्त बैठकमा त्यसबेलाको पुनस्र्थापित संसदका सांसद शिवप्रसाद हुमागाईंले बनेपामा रोशीको पानी ल्याउन नदिने भन्दै ढुंखर्कको पानी ल्याउनुपर्ने अडान राखेका थिए । यस्तै पनौतीका पूर्वमेयर सप्तकाजी बुद्धाचार्यले पनौतीलाई सिन्चाई र खानेपानी नपुग हुने भन्दै रोशीको पानी ल्याउन नदिने बताए । 

आफूले बैठकमा रोशीको पानी बनेपा ल्याउन दिने वा नदिने प्रष्ट भाषामा भन्न आग्रह गर्दा हुमागाईंले आफूलाई बोल्न नदिने प्रयत्न गरेपछि आफ्नो कुरा राख्न नदिने हो भने बैठकमा नबस्ने बताउँदै बैठक छाडेर गएको शाक्यले आफ्नो डायरीमा उल्लेख गरेका छन् । आफूहरु बैठक छाडेर बाहिरिएपछि बैठक समाप्त भएको उल्लेख गर्दै शाक्यले त्यसपछि माइन्युटमा के लेखिएको जानकारीमा नरहेको लेखेका छन् । शाक्य त्यतिबेला शेरवहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका नगर सभापति थिए । 

काभ्रेका तीन नगर बनेपा, पनौती र धुलिखेलमा छुट्टाछुट्टै ठाउँबाट खानेपानी आपूर्ति गर्ने योजना बनिरहेका बेला रोशीबाट पानी ल्याएर एकीकृत खानेपानी आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकले चासो दिएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि समाधानका लागि बैठक बसेको थियो । बैठकमा पूर्व उपप्रमुख लोकनारायण भैल, कांग्रेसका तत्कालिन क्षेत्रीय सभापति कञ्चनचन्द्र वादे पनि सहभागी थिए ।

विवादकै कारण लम्बिएको आयोजना पछि तत्कालिन सात राजनीतिक दलले विवाद मिलाएर काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको रुपमा अघि बढेको थियो । शाक्यले फेसबुकमा रोशीको पानी बनेपा ल्याउनुपर्छ भन्ने आफ्नो अडानलाई इंगित गर्दै लेखेका छन्, मेरो पुरानो डायरीमा लेखिएको घटनाले मलाई नै प्रश्न सोधिराखे को छ ?

उक्त आयोजना एमाले काभ्रेका हालका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको नेतृत्वमा सम्पन्न हुँदैछ । तत्कालिन मन्त्री गोकुल बास्कोटाले परियोजनाले हात झिके पछि बजेटका कारण अलपत्र पर्न लागेकाले बजेटको श्रोत सुनिश्चित गरी आयोजना सुचारु गरिएको थियो । एमाले नेतृत्वको जनप्रतिनिधिले उक्त आयोजना सम्पन्न गर्न गरेका विभिन्न प्रयासमा तत्कालिन समय देखि हालसम्म विभिन्न समुहबाट अवरोध खडा गरिएको छ ।सन् २०२१ को डिसेम्बरमा एसियाली विकास बैंकले आयोजनाबाट हात झिक्यो । नेपाल सरकारले आफ्नै स्रोतबाट आयोजना सम्पन्न गर्नुपर्ने भएपछि लगत्तै गोकुल बाँस्कोटा शहरी विकास मन्त्री हुँदा आयोजनाका लागि २१ करोड रकम सुनिश्चित गराएका थिए ।


शाक्यको डायरीको अंश


शाक्यको फेसबुक पोष्ट



डायरीको अंश रविन शाक्यको फेसबुकबाट लिइएको हो ।

प्रतिक्रिया



थप समाचारहरु