नमोबुद्ध र दुल्लू नगरबीच भगिनी सम्वन्ध स्थापना


मेचीकाली

दुल्लू (दैलेख)–काभ्रेको नमोबुद्ध नगरपालिका र कर्णाली अञ्चलको दैलेख जिल्लास्थित दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना भएको छ । 

धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहेका दुबै नगरपालिकाले आपसी सहकार्यमा सांस्कृतिक, सामाजिक एवं अन्य क्षेत्रमा सहकार्य गर्न तयार रहँदै भगिनी सम्वन्ध जोडेका हुन् । हालै दुल्लू नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुबै नगरपालिकाका प्रमुखले भगिनी सम्वनध कायम गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । नमोबुद्ध र दुल्लू नगरपालिकाको कार्यपालिका बैठकले आपसमा भगिनी सम्वन्ध कायम गर्ने निर्णय गरेका थिए । कार्यक्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी. शर्मा तिमल्सिना र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले निर्णयमा हस्ताक्षर गरेका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अन्तरस्थानीय तहबीच भगिनी सम्वन्ध कायम गर्नसक्ने व्यवस्था रहेको छ । 

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले अब दुबै नगरपालिकाबीच धार्मिक, सांस्कृतिक एवं सामाजिक क्षेत्रमा सहकार्य हुने बताए । नमोबुद्ध नगरपालिकाले यसअघि सिन्धुलीको कमलामाई नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै तिमल्सिनाले धार्मिक एवं भौगोलिक अवस्थामा नमोबुद्ध र दुल्लू उस्तै रहेको बताए । ‘हामी एकआपसमा विकास निर्माण कार्य लगायत सबै क्षेत्रमा अनुभव आदानप्रदान गर्दै नगरको समग्र विकासका लागि निरन्तर सहकार्य गर्नेछौं’ तिमल्सिनाले भने । यस्तै दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले काभ्रेको ऐतिहासिक नगरपालिका नमोबुद्ध नगरपालिकासँग सहकार्य गर्दै अघि बढ्न पाउनु खुशीको विषय भएको बताए । 

कार्यक्रममा दुल्लू नगरपालिकाकी उपप्रमुख विष्णु थापा, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल, नमोबुद्ध नगरपालिका वडा नं. २ का अध्यक्ष सञ्जीव ढकाल, दुल्लू नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । भगिनी सम्वन्ध स्थापनाअघि दुल्लू नगरपालिकाका प्रमुख भण्डारीको नेतृत्वको टोलीले नमोबुद्ध नगरपालिकाको भ्रमण गरेको थियो । 

भगिनी सम्वन्ध स्थापनासम्वन्धी कार्यक्रमका लागि दुल्लू पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा नेतृत्वको टोलीलाई दुल्लू नगरपालिकाका प्रमुख भण्डारी, नेकपा एमालेका पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेल लगायतले स्वागत गरेका थिए । 

दैलेख जिल्लाको ऐतिहासिक भूमि दुल्लु धार्मिक एवं सांस्कृतिकरुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ । नेपाली भाषाको पहिलो शिलालेख दुल्लूमै भेटिएको छ भने यो क्षेत्र ज्वाला सभ्यताको केन्द्र मानिन्छ, जहाँ अहिले पनि निरन्तर ज्वाला बलिरहने नाभीस्थान, शिरस्थान लगायतका महत्वपूर्ण ऐतिहासिक क्षेत्र रहेका छन् । दुल्लू तत्कालिन सिंजा राज्यको शितकालिन राजधानीसमेत रहेको थियो ।  


प्रतिक्रिया



थप समाचारहरु