प्रहरी प्रशिक्षण प्रतिष्ठान पनौतीको निर्माण प्रगतिबारे गृहमन्त्रीको चासो


मेचीकाली

पनौती– काभ्रेको पनौती नगरपालिका–६ दलिन्चोकमा निर्माणाधिन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण प्रगतिबारे गृहमन्त्री रमेश लेखकले चासो व्यक्त गरेका छन् । 

आज निर्माण कार्यको स्थलगत निरिक्षण गर्दै मन्त्री लेखकले  प्रतिष्ठानको काम गुणस्तरीय रुपमा समयमा नै सम्पन्न गर्नका लागि निर्माण व्यवसायी कम्पनीलाई निर्देशन पनि दिए । मन्त्री लेखक भारतीय राजदुत नविन श्रीवास्तव, प्रहरी महानिरीक्षक बसन्तकुमार कुँवरसहित निर्माणस्थल आइपुगेको थियो ।

मन्त्री लेखकले समयमा नै काम सम्पन्न गर्दा हाल विनियोजन गरिएको बजेटले पुग्ने र काममा ढिलाई भएको खण्डमा लागत समेत बढ्ने भएकोले सममा नै काम सम्पन्न गर्नका लागि आईपर्ने समस्या समाधानका लागि सरकारको तर्फबाट सहयोग हुने बताए । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले प्रहरी प्रतिष्ठान निर्माण आयोजना भारत सरकारको सबैभन्दा ठुलो अनुदानको आयोजना रहेको बताए । भारत सरकार पनि प्रतिष्ठान निर्माणको काम समयमा नै सम्पन्न हुनुपर्ने पक्षमा रहेकोले निर्माण व्यवसायीलाई समयमा नै काम गर्न निर्देशन दिए । राजदुत श्रीवास्तवले प्रतिष्ठान निर्माणको लागि मास्टर लिस्टमा रहेका केही सामाग्री ल्याउन कठिनाई रहेको बताउँदै त्यसका लागि भारत र नेपाल सरकारले सहजीकरण गर्ने बताए ।

 परामर्शदाता केन्द्रीय सार्वजनिक निर्माण विभाग (सिपिडब्लुडि) भारतका तर्फबाट इन्जिनियर राजेश कुमारले हालसम्म प्रतिष्ठानको ३१ प्रतिशत भौतिक र मोविलाइजेशन (पेश्की) सहित कुल वित्तीय प्रगति ३४ प्रतिशत रहेको जानकारी दिए । प्रतिष्ठानका लागि अन्र्तराष्ट्रिय स्तरका प्रशासकिय भवन, इनडोर तथा आउटडोर खेलकुद मैदान, स्विमिङ पुललगायतका आवश्यक संरचना निर्माणको लागि करिब दश अर्ब १५ करोड नेपाली रुपियाँ खर्च हुने उनको भनाई छ । पनौती नगरपालिका–६ मा निर्माण भईरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सन् १९९६ (२०५२) सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय सरकारको अनुदान सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने सहमति भएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु